प्रदेशसभामा सत्तारुढ सांसदको गुनासो–
लुम्बिनी संवाददाता
बुटवल
प्रदेश ५ को प्रदेशसभा बैठकमा बोल्दै सत्तारुढ दल नेकपाका सांसदले भ्रष्टचार र अनियमितता नरोकिएको भन्दै यसमा सुधार गर्न मन्त्रीलाई आग्रह गरेका छन् । मन्त्री भयौ भन्दै मख्ख भएर नबसी जनताको सहजताको विषयमा ध्यान दिन आग्रह गरे ।
प्रदेशसभाका विशेष समयमा बोल्दै नेकपा बाँकेका सांसद इन्द्रप्रसाद खरेलले कर्मचारीतन्त्र कमिसन र भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । ‘कर्मचारीतन्त्र कमिसन घुस र भ्रष्टचारमा केन्द्रित छ । हाम्रै पार्टीका नेता मन्त्री छन् । तर खै सुधार भएन ।’–उनले भने । कतिपय कर्मचारीहरु निकै भ्रष्ट छन् भएको भन्दै उनले तीनै बेइमानहरुले नै मन्त्रीहरुलाई चलाएको दाबी गरे ।
‘जनताको काममा ढिलासुस्ती भएका छन् । एउटा कामका लागि महिनौ झुलाउँछन् । कम्युनिष्टको सरकार र कांग्रेसको सरकारमा भिन्नता भएन । हाम्रो सरकार फरक हो भन्न अनुभूति गराउनुप¥र्याे । बेइमान कर्मचारीलाई कारबाही र राम्रो काम गर्नेलाई सम्मान गरौं ।’– उनले भने ।
सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा कृषि उत्पादनमा जोड दिने भने पनि मल न बीउ, सिँचाई बिनानै किसानले खेती गर्नुुपरेको उनले बताए । पुराना विकृतिहरु हटाउन र जनतालाई कम्युनिष्ट सरकारको अनुभूति दिलाउन कठोरतापूर्ण तरिकारले मन्त्रीहरु अघि बढ्नुपर्ने बताए ।
प्रदेश ५ प्रदेशसभाको सोमबारको बैठकमा प्रदेशसभा सदस्यहरुले किसानले समयमा बीउ मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभामा विशेष समय लिएर सांसदहरुले बाढी पहिरोको क्षतिबाट पहाडी जिल्लामा दर्जनौ परिवार विस्थापित भएको भन्दै चासो बढाउन प्रदेश सरकारलाई आग्रह गरे ।
प्रदेशसभामा विशेष समयमा बोल्दै सांसद अष्ठभुजा पाठकले सरकारले कृषिलाई पहिलो प्राथमिकता भनेपनि बाली लगाउने बेलामा बीउ नपाएको र रोपिसकेपछि मल नपाएको उल्लेख गरे । अर्की सांसद तारा जिसीले समयमा मल बीउ पाउन नसके खाद्यमा आत्मनिर्भर भन्ने सपना सपनामै सिमित हुने बताइन् ।
सांसद बैजनाथ कलवारले पछिल्लो समय भ्रष्टाचारका कारण कृषि क्षेत्र असफल क्षेत्रको रुपमा देखिएको भन्दै सरकारले किसानलाई बीउ मल र यान्त्रिक औजार उपलब्ध गराउन नसकेको आरोप लगाए । सांसद् ईन्द्रप्रसाद खरेलले कागजमा लेखेर मात्र कृषि क्षेत्रमा सुधार नआउने उल्लेख गरे ।
त्यसैगरि हालै पहाडी जिल्लामा बाढी पहिरोमा परेकाहरु प्रति सरकारले ध्यान दिन नसकेको सांसदहरुले गुनासो गरेका थिए । सांसद दिनेश पन्थीले गुल्मीमा असार १८ गते आएको पहिरोले धनजनको क्षति अझै थुपै्र परिवार विस्थापित भएकाले प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
अर्का सदस्य खड्कबहादुर खत्रीले गुल्मीमा भएको बाढी पहिरोले कुलो र बाटोघाटो समेत बगाएकाले थप समस्या आएको उल्लेख गरे । सांसद तुलाराम घर्तीमगरले पाल्पामा रैनादेवी छहरा र तिनाउ गाउँपालिकामा पनि पहिरोले केही परिवार विस्थापित भएको, कतिपयको खेतबारी बगाएको भन्दै सरकारको ध्यान दिनुपर्ने बताए ।
सांसद भोजप्रसाद श्रेष्ठले आफ्नो क्षेत्रका पर्यटकीय र पुरातात्विक क्षेत्रमा बजेट कटौती गरिएको भन्दै गुनासो गरे । सांसद सन्तोष पाण्डेले सरकारले सांसदले बोलेका कुरामा सरकारले ध्यान नै नदिएको उल्लेख गरे । सांसद फकरुद्धिन खाँनले पेट्रोलियम मूल्य वृद्धिले कोरोनाका कारण समस्यमा परेका नागरिकलाई थप आहात भएको बताए ।
यसैबीच प्रदेशसभा बैठकले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी विधेयक संशोधन गरेको छ । संसद नियमावली निलम्बन गर्दै प्रदेश सभाले द्रुत गतिमा विधेयक पारित गरेको हो । विधेयक पारित भएसंगै वडाध्यक्षहरुको तलब सुविधा घटेको छ । प्रदेशसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।