लक्ष्मण श्रेष्ठ

हरेक बिहान यहाँ छटपटी बोकेर आउँछ । लाग्छ, हरेक पटक सूर्य अत्यास बोकेर उदाउँछ । टेबलमा पछारिएका अखबारका पानाभरी विभिन्न रंगका समाचार छन् । सिंगो संसारको कोलाहल चिच्याउँछ त्यसैमा । बिहानी चिया समेत तित्याइदिन्छन् ती । जतिबेला पनि जाम हुने काठमाडौंको सडक सधैं भरिन्छ कोलाहलले । भीडले दिक्दारीमात्र दिन्छ अचेल । उकुसमुकुस हुन्छ भीडभाडमा । चियापसलमा हुने अनेकन् बहसले पनि वैराग्य छुटाउँछ । चुपचाप बस्छु । केही बोलेजस्तो गर्छु । केही नबोलेजस्तो । केही पक्षधरता लिन्छु । केही तटस्थ जस्तो । मानौं हुनु र नुहुनको बीचमा आफैलाई उभ्याउने एउटा कमसल प्रयत्न गर्दैछु म । भारी दिमाग र रित्तो खल्तीको अजंग बोझ बोकेर म हिंडिरहन्छु अफिसदेखि रुम, रुमदेखि अफिस । लेख्नुपर्ने समाचार, सजाउनुपर्ने नयाँ पृष्ठ, हेर्नुपर्ने लेख, सोंच्नुपर्ने भोलीको भविष्य र सडकदेखि शहरसम्मका अनेकन् आवाज । सबै सबैले मस्तिष्कको क्यानभासमा रंगविरंग थपेर बनाएका छन् अमूर्त कोलाज । त्यही कोलाज कोतर्दै हिंडिरहन्छु म, चुपचाप । म मौन छु र हल्लाहरूले भरिएको छु । म हल्लाग्रस्त छु र मौन छु । यस्तोमा तपाईंलाई चाहिएको छ एउटा निबन्ध । जस्तोतस्तो होइन घच्चीको, ज्यानमारा । म के आफैभन्दा पर गएर लेख्न सक्छु ? के म आफैलाई पोख्न सक्छु यी अक्षरहरूमा ? प्रिन्टरबाट निस्कने काला मसीहरूमा ?
तपाईंलाई लागिरहेको होला म शंकर लामिछानेको स्टाइल पछ्याइरहेछु । हुनसक्छु म तपाईंकै स्टाइल चोरिरहेछु । यहाँ कसैले कसैकोपनि स्टाइल नचोरेको होला र ? जसलाई तपाईं शंकर लामिछानेको स्टाइल भनिरहनुभएको छ । के उनैको हो त्यो स्टाइल ? हुनसक्छ, उनैको हो । नहुन पनि त सक्छ । छोड्दिनुस यो स्टाइल र क्राफ्टको चर्चा, परिचर्चा । कपडा त मिल्न सक्छ नी । नमिल्न पनि सक्छ । हामी सकेसम्म चाहन्छौं, कसैसँग नमिलोस् । चाहन्छौं, मैलेजस्तो सर्ट कसैले नलाओस् । सोंच्छौं, हेयर स्टाइल युनिक होस् । हाम्रै हिंडाइ बेग्लै होस्, बोलाइ बेग्लै । रहनसहन फरक होस्, चिन्तन अलग । किन हामी सबैभन्दा फरक हुन चाहन्छौं ? किन ठान्छौं, भीडभाडमा पनि फरक देखिन जबकि हामी भिडका एक अंग भइसकेका हुन्छौं । किन जान्छौं मेलामा सकेसम्म पृथक देखिनेगरी ? जबकि हामी बिना मेला पुरा हुँदैन । तपाईं सायद आइडेन्टिटी भन्नुहुन्छ त्यसलाई । पहिचान – हामी पहिचानबिना बाँच्दैनौं । पहिचानबिना पूरा हुँदैनौं । त्यसैले त हाम्रो नाम हुन्छ । बेनामको मानिसको अस्तित्व धरापमा हुन्छ, होइन त ? तर, म भन्छु तपार्इं हाम्रो पहिचान भीडबिना पूरा हुँदैन । तपाईंको नाम सुनाम वा बदनाम हुन् समाज चाहिन्छ । तपार्इं पहिचान सोंच्नुहुन्छ सायद सामूहिकताका लागि । म समूह चर्चा गर्छु सायद आफ्नो पहिचान उभ्याउनका निम्ति । यसरी सायद तपाईं र म नमिल्दानमिल्दै मिलिरहेका छौं । र, सायद मिल्ने कोशीस गर्दागर्दै आफैले आफ्नै निम्ति ‘लक्ष्मणरेखा’ कोरिरहेछौं ।
ल हेर्नुस, मैले भर्खरै ‘लक्ष्मणरेखा’लाई कोट÷अनकोट गरें किनभने त्यसमाथी शंका र प्रश्नहरू छन् मेरा । रामायणमा वर्णित लक्ष्मणरेखा नाघेपछि सीताको हरण भएथ्यो । अर्थात् सीताहरू लक्ष्मणरेखाभित्र बस्नुपर्छ भन्छ रामायण । मलाई अविश्वास छ लक्ष्मणरेखाप्रति । ममा आक्रोश छ संसारका सारा सीमारेखाहरूप्रति । म चाहन्छु तपाईं र मबीच कुनै पनि रेखा नहोस् । तर म मनमनै भनिसकेको हुन्छु तपाईं भारतीय म नेपाली । तपाईं पन्जाबी बाउ र नेपाली आमाको छोरो । म नेवार बाउ र नेवार आमाको छोरो । सायद तपाईं चाहनुहुन्छ, मलाई अंगालो मारुँ । तर म तर्किन्छु किनभने तपाईं भारतीय हो । म चाहन्छु तपाईलाई चुम्बन गरुँ । सायद तपाईं तर्किनुहुन्छ किनभने म नेपाली हुँ । मनोज (बोगटी) सायद चाहन्छ, नेपालीभाषी भनेर चिनिउँ । तर भारतीय हुनुको पहिचान नमेटियोस् चाहन्छ ऊ । मलाई नेपाली हुनु छ तर नेवारको पहिचान नमेटियोस्, म चाहन्छु ।
किन यस्तो द्वन्द्व छ हामी आफैसँग ?
हामीलाई सम्पूर्णता भएर एकल हुनु पनि छ ।
हामीलाई एकल भएर पनि सम्पूर्णता चाहिएको छ ।
सायद यही कतै छ पहिचानको राजनीति । सायद यतैकतै छ सम्पूर्णताको खोजी ।
र, यी खोजको बीचमा सबैभन्दा जब्बर भइबस्छ बाँच्नुको बाध्यता ।
तपाईं बिहान उठेर कलेज कुद्नुहुन्छ । म बिहान उठेर अखबारको कार्यालय पुग्छु । तपाईं बेलुका थाकेर घर फर्किंदै गर्दा के कमाएर आउनुहुन्छ ? आज एक दिनको जिन्दगी वा भोली नजिकिने मृत्युको अर्को बिहान ? म बेलुका ढिलोगरी आउँदा के छोडेर आउँछु ? दिनभरको समाचार वा आफ्नै श्रद्धाञ्जलीको नकोरिएको शिलालेख ?
तपाईं चिच्याई चिच्याई कविता पढ्नुहुन्छ र घर फर्केपछि पल्टाउनुहुन्छ ऋण र खर्चको हिसाबकिताब ।
म घोटिइ–घोटिइ समाचार÷लेख लेख्छु र महिनादिन पर्खिबस्छु एटिएम बुथ ।
यो जन्मिनु र मर्नुको बीचमा हाम्रो दौडधुपको पहिचान हुन्छ कि हुँदैन ? तपाईंले घोट्ने मार्कर पेनमा तपाईंको पहिचान के हुन्छ ? मैले ठोक्ने कम्युटर किबोर्डमा मेरो सम्पूर्णता के हुन्छ ? तपाईंको विद्यार्थी पास भयो भने कलेजले नाक हाल्छ । फेल भए तपाईंको विषयमा औंला ठड्याउँछ । के त्यहीं हो तपाईंको पहिचान ? मैले लेखेको गल्ती भए सम्पादक रिसाउँछ । त्यही समाचार बिके पत्रिका साहु मोटाउँछ । के यही हो सम्पूर्णता ?
दाजु, हाम्रो जीवनको अर्थ कुन डिक्सनरीमा छ ?
के थरले मात्रै, भाषालेमात्रै, नागरिकताले मात्रै हामीलाई अभिव्यक्त गर्नसक्छ ?
अचेल म अन्टसन्ट सोंचिरहन्छु । ससाना घटनाले पनि उद्धेलित बनाउँछन् । सायद ती ससाना नहुन पनि सक्छन् । मेरो दिमागमा एकैपटक ट्रम्प र ट्याम्पो आउँछ । म ट्याम्पोलाई तिर्नुपर्ने भाडा हिसाब गरिरहँदा अर्को मनले ट्रम्पको भाषण कोतरिरहेको हुन्छु ।
म एकैपटक हिसाब गरिरहेको संसार र आफ्नै सत्वलाई । मलाई एकैपटक चिन्ता लाग्छ, संसारको र मेरी प्रेमिकाको ।
– के ट्रम्पले गैर गोराहरूलाई वा प्रवासीहरूलाई अमेरिकाबाट खेद्ला ?
– के मेरी प्रेमिकाका बाआमाले हाम्रो सम्बन्ध स्वीकार्लान् ?
– के बुद्धिजीविले भनेजस्तो श्वेत–राष्ट्रवादको हुण्डरी मच्चिएला ?
– के मैले गतिलो जागिर पाउँला ?
– अरब संसारमा फेरी अमेरिका पस्ला कि नपस्ला ?
– सरकारी जागिरमै छिरुँ कि अखबारमै ठिक होला ?
– हिलारी क्लिन्टनले संसारभर छरेका अमेरिकी सेना फर्केलान् कि थप युद्ध होला ?
– भोली बिहान पत्रिका हेरेर पाठकहरूले सकारात्मक प्रतिक्रिया देलान् कि नदेलान् ?
– तेलको भाउ बढ्ला कि घट्ला ?
– यसपाली त तलब बढ्ला कि ?
– ……
– ……
– बाँच्नुको सार के हो ?
– भरे तरकारी के खाने ?
यस्तै केही जान्नु र नजान्नुबीच, केही बुझ्नु र नबुझ्नुबीच, केही सीमातित र सिमित बिच जिन्दगीको पैयाँ घुमिरहन्छ । हामी दर्शनका ठेलीहरूमा आफैलाई खोजिरहन्छौं । हामी आफैलाई खोज्दाखोज्दै ठेली लेखिभ्याउँछौं । बजार हामीलाई माल ठान्छ । हामी आफैलाई मान्छे ।
अनि यहीं कतै बस्छ हाम्रो पहिचान । हाम्रो स्वत्व । हाम्रो अभिमान । हाम्रो अहं ।
हेल्लो, के हो यो पहिचान ? के हो यो सम्पूर्णता ? केले निर्धारण गर्छ यो ? कसले तोक्छ सीमा र साँध ?
साँझ अफिसबाट फर्कंदा देख्छु, केही युवतीलाई सडकपेटीमा । आफ्नो जोवनको हाट थापिबसेका । कम्पन छुट्छ मलाई । आफैप्रति घृणा जाग्छ । मजस्तै कुनै पुरुष मोलमोलाई गर्नेछ उनीहरूसँग । मेरो साथीले भने यसलाई सामान्य ठान्छ । आफूलाई इन्भोल्भ नगरे त भइहाल्यो नी, तर्क छ उसको । तर मेरो लागि किन असामान्य बनिदिन्छ ?
किन उनीहरू आफैलाई बेच्न अभिसप्त छन् ?
अनि के हामी आफैलाई बेचिरहेछैनौं ?
तपाईं बुद्धिलाई चकमा घोटेर विद्यार्थीको डेस्कमा फालिदिनुहुन्छ । केका लागि ? पैसाका लागि होइन ?
म मेरो सीपलाई रगडेर अखबारको पानामा टाँसिदिन्छु । केका लागि ? त्यही पैसाका लागि होइन ?
तपाईं आफैलाई बेचेर नमस्कार खानुहुन्छ । म आफैलाई सौदाबजारमा राखेर नमस्कार खान्छु । भन्नुहुन्छ मेरो पहिचान यही हो । मास्टर हुँ । म भन्छु मेरो पहिचान यही हो । पत्रकार हुँ । उनीहरूले पनि आफैलाई बेचेका हुन् । किन उनीहरूको कुनै पहिचान हुँदैन ?
आखिर के हो पहिचान ? के हो सम्पूर्णता ? के हो हुनु भनेको ? के हो नहुनु भनेको ?
रेने डेकार्त भन्छ – म सोंच्छु, त्यसैले म छु ।
सात्र्र भन्छ – म छु, यहीं नै सबथोक हो र मैले थाहा पाएँ, यो सब वाक्कलाग्दो छ ।
माक्र्स भन्छ – सामाजिक अस्तित्व छ र तिमी छौ ।
यी सबै चिन्तनमा चिन्ता गर्ने समय छैन मसँग । मलाई त खोज्नु छ नयाँ समाचार । तपाईंलाई सायद पढाउनु छ नयाँ पाठ । वा लेख्नु छ नयाँ कविता । हेर्नुस न यहींनेर कति ठूलो द्वन्द्व छ । तपाईंको पहिचान के हो कवि कि मास्टर ? मलाई लेख्न मन छ कुनै गम्भिर वैचारिक लेख । तर लेखिरहन्छु समाचार । म के हुँ ? लेखक कि पत्रकार ?
तपाईं–हामी कन्फ्युजनमा छौं । विडम्बना, यो कन्फ्युजनलाई नै हामी सत्य ठान्छौं । यस्तो हुन्न तपाईं तपाईंसँगै झुन नबोल्नुस ? म मसँगै झुट नबोलुँ ? सायद यो झुठको पर्दामा नै हाम्रो हुनु र नहुनुको द्वन्द्व छ ।
फुटनोट ः
तपाईं सायद केही अर्थ खोजिरहनुभएको छ यी पंक्तिहरूमा । सायद तपाईं चाहनुहुन्छ, म हस्तक्षेप गरुँ चलिरहेको चलनमाथी, भइरहेको डिस्कोर्समाथी । माफ गर्नुहोला, मसँग त्यस्तो कुनै अर्थ र उद्धेश्य छैन । तपाईं मलाई यिनै पंक्तिहरूको बीच (बिटविन द लाइन्स) भेट्न सक्नुहुन्छ वा नभेट्न पनि । त्यसैले तपाईं मलाई नछाप्न पनि सक्नुहुन्छ वा छाप्न पनि । वास्तवमा म केही लेखिरहेको छैन । बस् ढुङ्गा हानिरहेको छु । के यो ढुङ्गा तपाईंको चिन्तन पोखरीमा पनि लाग्छ ? के त्यहाँ पनि तरंग उठ्छन् विचारका ? के विचारको फोका पनि पानीको फोकाजस्तै फुट्छ ?
(लेखन मितिः २०७३ असोज २६)