लुम्बिनी संवाददाता
बुटवल ।
मध्य असार सकिँदासम्म प्रदेश ५ का किसानहरू धान रोपाईको चटारोमा छन् । प्रदेश ५ मा मध्य असार सकिँदा ४७ प्रतिशत रोपाई सकिएको छ । निर्देशनालयले दिएको सोमबारसम्मको तथ्याङ्कको आधारमा करिब आधा रोपाई सकिएको हो ।
गतवर्षभन्दा यो वर्ष मौसम तथा वर्षाले साथ दिएकोहुँदा छिटो रोपाई सुरु भएको प्रदेश ५ कृषि विकास निर्देशनलायका सूचना अधिकृत हेमनाथ शर्माले बताए ।
उनकाअनुसार तराईका जिल्लामा ६० प्रतिशत र पहाडी जिल्लामा १५÷२० प्रतिशत रोपाई सकिएको हो । पहाडी जिल्लाका अधिकांश ठाउँहरूमा सिँचाईको अभावमा वर्षे झरीको भेलमा रोपाई गर्नु पर्ने बाध्यता रहेको छ । तराईका अधिकांश ठाउँमा सिँचाई सूविधा उपलब्ध भएको हुँदा पहाडमाभन्दा बढी रोपाई भएको हो ।
कृषि निर्देशनालयले दिएको जानकारीअनुसार यो वर्ष तराईका जिल्लाहरू रूपन्देहीमा ५६ प्रतिशत, नवलपरासीमा ८४ प्रतिशत, कपिवस्तुमा ४० प्रतिशत, दाङमा २६ प्रतिशत, बाँकेमा २७ प्रतिशत तथा बर्दियामा ५४ प्रतिशत रोपाई सकिएको छ । यसैगरी पहाडका जिल्लाहरू पाल्पामा २१ प्रतिशत, अर्घाखाँचीमा २७ प्रतिशत, गुल्मीमा १९ प्रतिशत, प्यूठानमा ९६ प्रतिशत, रूकुम पूर्वमा ७३ प्रतिशत तथा रोल्पामा ५८ प्रतिशत रोपाई सकिएको छ । प्रदेश ५ मा गत वर्ष ३ लाख ३० हजार आठ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान गरिएको छ ।
मनाइयो धान दिवस
मानो खाएर मुरी उब्जाउने महिना हो, असार । मध्य असार अर्थात् १५ गते पर्ने धान महोत्सव यस वर्ष पनि किसानले सधैं जस्तै हिलो खेतमा नै मनाए । तिलोत्तमा नगरपालिका वडा नं. १० मा धान महोत्सवका दिन त्यहाँका किसानहरूमा छुट्टै उल्लास छाएको थियो । कान्छीबजारको दक्षीणमा खेतै खेतको बीचमा एउटा मञ्च बनाइएको थियो । कृषि विकास निर्देशनालयले यो पटक धान महोत्सवको कार्यक्रम त्यहीँ आयोजना गरेको थियो ।
कार्यक्रम चलिरहँदा वरिपरि रहेका खेतमा खन जोत चलिरहेको थियो । कोही आली मिलाउँदै थिए । कोही भने पानी मिलाउँदै थिए । अलिक पर केही भने छाता ओडेर ब्याडमा बीउ काढिरहेका थिए । केही बेरमा नै रोपाईं सुरु हुनेवाला थियो । तर, बीच बीचमा भने खेतमा गर्न लागेको काम छाडेर मञ्चमा भइरहेको गतिविधि नियाल्न आइरहेका थिए ।
मञ्चमा प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री आरती पौडेल उपस्थित थिइन् । चाख मानेर भाषण सुनिरहेका किसानहरूका अगाडि मन्त्री पौडेलले कृषिमा किसानले गरेको योगदानको उचित मूल्याङ्कन हुने दाबी गरिन् । मन्त्री पौडेलले सरकारले किसानमुखी कार्यक्रमहरू ल्याएको दाबी गर्दै कार्यक्रमको कार्यान्वयनपश्चात किसानले आफ्नो श्रमको वास्तवीिक मूल्य पाउने बताइन् ।
उनले प्रदेश सरकार गठन भएदेखि नै कृषिको बजार प्रणालीमा बिचौलीयाको हालीमुहाली रोक्न सहकारीमार्फत् बजारीकारणलाई प्रोत्साहन गरिएको बताइन् । महामारीमा कृषिको महत्व झनै बढेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताइन । उनले प्रदेश ५ मा धानको उत्पादन राम्रो भएकाले उत्पादक्तव वृद्धि गरेर आयात प्रतिस्थापन गर्नतर्फ सबै अग्रसर हुनुपर्ने बताइन् ।
‘यान्त्रीकरण्लाई बढावा दिँदै उत्पादन बढाउने र त्यसमा लागेको किसानको श्रमले उचित मूल्य पाउने गरी नीति निर्माण गर्न प्रदेश सरकार अगाडि बढेको छ ।’ –उनले भनिन् ।
कार्यक्रममा अघिल्ला वर्षहरूमा तामझामका साथ धान दिवस मनाइने भए पनि यो पटक भने सामान्य कार्यक्रम गरी मनाइएको कृषि विकास निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले बताए ।
त्यस्तै कार्यक्रममा कृषि विज्ञ डा. दामोदर भुषालले कृषिमा व्यापक परिवर्तन हुन नसकेको बताउँदै यान्त्रीकरणमा सरकारको ध्यान जानुपर्ने बताए । उनले त्यसका लागि किसान र सरकारबीच निरन्तर संवादको खाँचो रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषिमा यान्त्रीकरणका लगि उपकरण व्यवस्थापनका लागि प्रदेशमा केन्द्रहरू निर्माण गर्न लागिएको जानकारी दिए । उनले किसानले चाहेको खण्डमा उपकरण खरिद गर्न तथा भाडामा दिन मिल्ने गरी कस्टम हायरीङ सेन्टरको स्थापना गर्न लागिएको बताएका हुन् । कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष व्यासमूनी चौधरीले स्थानीय सरकारले किसानहरूसँग नजिक रहेका उनीहरूको समस्याको बारेमा बुझीरहेको बताए ।
कार्यक्रममा असार १५ को अवसरमा आयोजना गरिएको कार्यक्रममा यान्त्रीकरणमा सहयोग गरेपवापत दुई स्थानीय किसानहरूलाई सम्मान गरिएको थियो । समसेर राना र नेत्रबहादुर पुनलाई थोरै ज्यालामा समेत कृषिको यान्त्रीकरणमा उत्कृष्ट योगदान पु¥याएको भन्दै मन्त्रालयले प्रमाणपत्रसहित सम्मान गरेको हो ।
सरकारी बाँझो खेतमा रोपाईं
तिलोत्तमा नगरपालिकाले सोमबार १७ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ । वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो । दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाई गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।
रोपाई महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो । रोपाईको लागि वडागत रूपमा प्लट विभाजन गरिएकोमा जनप्रतिनिधिहरू बिहानै खेतमा जुटेर उत्साहित रूपमा धान रोपाईमा सहभागी भएका थिए । नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाई गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता हुनुपर्नेमा जोड दिए ।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाई भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाई भएको हो ।
कुल खेतीयोग्य जमिन आठ हजार चार सय ४९ हेक्टरमध्ये आठ सय ४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाई भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो साताबाटै तिलोत्तमामा रोपाई सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाई सकिएको छ ।