२० दिन कुर्दा पनि आएन परीक्षणको पालो
लुम्बिनी संवाददाता
बुटवल ।
देशमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश ५ मा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या पनि दिनदिनै बढ्दै गएको छ । मंगलबार साँझसम्म प्रदेशका १२ जिल्लामा ३७ हजार तीन सय ८० जना क्वारेन्टाइनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । क्वारेन्टाइनमा रहेका करिब ३२ हजारको स्वास्थ्य परीक्षण गर्न बाँकी छ ।
क्वारेन्टाइनमा सबैभन्दा धेरै दाङमा ५ हजार ४ सय ४६ र प्यूठानमा ५ हजार ८५ जना छन् । बर्दियामा ४ हजार ९ सय ५५, अर्घाखाँचीमा ४ हजार ३ सय ८ र गुल्मीमा ४ हजार २ सय २७ छन् । यस्तै रोल्पामा २ हजार १ सय ४४, पाल्पामा २ हजार १६, कपिलवस्तुमा २ हजार ७४, रूपन्देहीमा २ हजार १, नवलपरासी पश्चिममा ९ सय २२ र रूकुम पूर्वमा २ सय ५८ जना क्वारेन्टाइनमा बसेका छन् ।
सामान्यतया क्वारेन्टाइनमा बसेको १४ दिनभित्र स्वास्थ्य परीक्षण गर्नुपर्छ । तर यहाँका क्वारेन्टाइमा २० दिनदेखि पालो कुरेका व्यक्तिको समेत स्वास्थ्य परीक्षण हुन सकेको छैन । परीक्षण किट सीमित मात्रामा रहेकाले छिटोछरितो रूपमा स्वास्थ्य परीक्षण गर्न नसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । ‘एकातिर मागअनुसारका परीक्षण किट र उपकरण छैनन्, अर्कोतिर प्रयोगशालाको क्षमता पनि कम छ,’ उनले भने–‘यही कारण चाहे जसरी संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य परीक्षण हुन नसकेको हो ।’
प्रदेशमा मंगलबार साँझसम्म एक हजार २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार नयाँ २६ जना थपिएका हुन् । प्रदेशका विभिन्न कोरोना विशेष अस्पताल र आइसोलेसनमा गरी १ हजार १३ जनाको उपचार भइरहेको छ । एक सय ८३ जना भने निको भएर घर फर्केका छन् प्रदेश ५ मा कोरोना भाइरसको संक्रमण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा बाँके, अर्घाखाँची, पाल्पा र गुल्मीमा एक–एक जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा मृत्यु भएका दाङका ५९ वर्षीय पुरूषमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।
एउटै क्वारेन्टाइनमा १२ जनामा संक्रमण
पाल्पामा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । बुधबार माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरको क्वारेन्टाइनमा रहेका ११ जना पुरूष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । केही दिन पहिले सोही क्वारेनटाइनमा रहेका १९ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्रयाक टे«सिङ्गको आधारमा २२ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए । उनीहरूको प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गरिएको थियो । संक्रमित १२ जनालाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । पाल्पामा यस अघि १० जनामा कोरोना संक्रमण भएकोमा १ जनाको मृत्यु भएको र ७ जना तानसेन र २ जना रामपुरको आइसोलेसनमा उपचाररत रहेका छन् ।
पाल्पामा पछिल्लो समयमा २ हजार २ सयभन्दा बढी नागरिक भारतबाट पाल्पा भित्रिएका छन् । पाल्पामा हालसम्म ३ सय ५० भन्दा बढिको पीसीआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडीटी परिक्षण गरिरहेका छन् । क्वारेन्टाइमा बसेका १४ दिन अवधी पुगेका व्यक्तिहरूले कित आफुहरूको पीसीआर परीक्षण गर्नुपर्ने वा घर पठाउन सम्बन्धित गाउँपालिकालाई आग्रह गरेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ