टिका खरेल
सैनामैना
रूपन्देहीको सैनामैना नगरपालिकाले नगरमा रहेका सञ्चारकर्मीहरूको कोरोना बीमा गर्ने भएको छ । नगर कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठकले नगरमा रहेर काम गर्ने सञ्चारकर्मीहरूका लागि एक÷एक लाखको बीमा गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड –१९) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन, प्रसारण र प्रकाशित गरिरहेका सञ्चारकर्मीहरूका लागि एक–एक लाखको बीमा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । कार्कीले भने– ‘विपत्तिको समयमा खटिरहेका सञ्चारकर्मीहरूको मनोबल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले यो निर्णय गरेका हौँ ।’
नगरपालिकामा सञ्चार क्षेत्रमा कार्यरत सूचना विभागबाट जारी भएको प्रेस पासका आधारमा कोरोना विशेष बीमा गरिने नगरप्रमुख कार्कीको भनाइ छ । बीमाको लागी लाग्ने शुल्क नगरपालिकाले तिर्नेछ ।
त्यस्तै विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्रभित्र फोहोरमैला व्यवस्थापन अन्तर्गत फोहोरमैला उठाउने कार्यमा संलग्न सवारी चालक तथा श्रमिक, एम्बुलेन्स चालक, नगरपालिका अन्तर्गत दमकल चालक र सहयोगीसहितका सवारी चालकहरूको पनि एक–एक लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय गरेको छ ।
विदेशबाट फर्किनेको तथ्याङ्क संकलन
नगरपालिकाले रोजगारीको शिलशिलामा भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरूको तथ्याङ्क संकलन गर्दै घर आउन इच्छुकहरू नागरिकहरूको समेत तथ्याङ्क संकलन गरेको छ । बैठकले पून ः कोही छुटेको अवस्थामा दुई दिन भित्र अद्यावधिक गरी नगरपालिकामा पेश गर्न वडा कार्यालयहरूलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
क्वारेन्टिन थप गर्ने योजना
नगरपालिकाले तिन ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाएको छ । सैनामैना नगरपालिकाले भारत तथा तेस्रो मुलकमा गएका नेपालीहरूको फर्कने क्रम बढ्दै गएकोले हाल संचालनमा रहेको सैनामैना १ वनकट्टा स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा स्थान अभाव हुने भन्दै थप तीन ठाउँमा क्वारेन्टिन अस्पताल थप गर्ने योजना बनाइएको हो । जसअनुसार क्वारेन्टिनको व्यवस्थापनका लागि वडा नं.१ देखि ४ सम्म वडा नं ३ का वडाध्यक्ष एवम् नगर प्रबक्ता रत्नबहादुर पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै वडा नं ५ देखी ८ नं. सम्मका लागि वडा नं. ६ का वडाध्यक्ष बसन्त पाण्डे र वडा नं ९ देखि ११ सम्मका लागि वडा नं. ११ का सुनिलप्रसाद मरासिनीलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । क्वारेन्टिन व्यवस्थापन गरी जेठ ८ गतेसम्म सञ्चालनमा ल्याउन विपद् व्यवस्थापन समितिले निर्देशन समेत दिएको छ ।
साथै पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा आइसोलेसन सेन्टर सञ्चालन गर्न जिल्ला तथा प्रदेशस्तरबाट माग भई आएमा नगर प्रमुखले अर्थात् नगरले स्वीकृत गर्ने निर्णय समेत गरिएको हो ।
यसैगरी नगरपालिकाले लकडाउनलाई थप कडाइ गर्दै प्रभावकारी बनाउने भएको छ । पालिकाले जेठ २० गतेसम्म एक्सकुलसिभ मोडल लागु गर्ने र सो अवधिभर स्वास्थ्य सुरक्षा अपनाई सामाजिक दुरी कायम हुने गरी कृषि कार्य, सार्वजनिक विकास निर्माण, खाद्य सामग्रीको व्यवस्थापन तथा तरकारी तथा दूधजन्यलगायतका अत्यावश्यक सेवा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । यसैगरी निर्माण व्यवसायीहरूले सार्वजनिक निर्माणमा आवसीय श्रमिकहरूको व्यवस्थापन गरी योजना कार्यान्वयन गर्ने, मजदुरहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने र साविकमा गठित वडास्तरीय र टोलस्तरीय लकडाउन अनुगमन तथा गस्ति टोलीबाट नियमित अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले बैंक तथा वित्तीय संस्था, बीमा र लघुवीत्त वित्तीय संस्थाहरू साविक बमोजिमको तालिका अनुसार सञ्चालन गर्ने र नगरपालिका अन्तर्गतका सहकारीहरूले तालिका मिलाई नियमित सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
पाठ्य पुस्तक बिक्री वितरण सम्बन्धमा जेठ ६ देखि तयारी गर्ने र पुस्तक व्यवसायीहरूले परीक्षणको रूपमा जेष्ठ ७, ८ र ९ गते सामाजिक दुरी कायम गरी बिक्री वितरण गर्न दिने निर्णय समेत भएको छ । विपद् व्यवस्थापन बैठकले यस वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयहरूलाई निर्देशन दिने र बाध्यताबस् पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा नगर शिक्षा शाखाको अनुमति लिनुपर्ने छ । पुस्तक बिक्री वितरणका सम्बन्धमा अवस्था हेरिकन पूनः निर्णय गर्ने भएको छ ।