ओम पंगेनी ।
बुटवल ।
लकडाउन लम्बिदै जाँदा सरकारले ४२ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरे पनि अत्यावश्यक सामान उत्पादन गर्ने उद्योगहरुलाई पनि ‘लय’ (साविकको अवस्था) मा फर्किन गाह्रो परेको छ । लकडाउनमा मजदूर जुटाउन समस्या हुनु र ढुवानी लगायतका समस्याका कारण कच्चा पदार्थ जुटाउन समस्या हुनु नै उद्योगीका मुख्य समस्या हुन् ।
सरकारले लकडाउन खुकुलो बनाउने प्रयास गरिरहँदा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बिस्तारै काममा फर्केर जीविकोपार्जन सहज बनाउन खोज्नेहरु पनि समस्यामा परेका छन् । रुपन्देहीका २७ सहित प्रदेश नं. ५ का कोरोना संक्रमित १ सय ९ पुगेपछि प्रदेश नं. ५ मा जनजीवन झनै कष्टकर बन्न पुगेको छ ।
कलकारखाना, सार्वजनिक यातायात, होटल रेष्टुरेन्ट, पर्यटन क्षेत्र, अत्यावश्यक बाहेकका व्यापार व्यवसाय लगायत त ठप्प नै छन्, केही दिनअघिदेखि खुलेका सरकारी कार्यालय, बैंकहरुमा पनि काममा सहज नभएको कर्मचारीहरु बताउँछन् । संक्रमण फैलिने डरले शैक्षिक संस्थाहरु खुल्ने टुंगो छैन । लकडाउन कसिलो बनाउँदै ठाउँठाउँमा शील गरेपछि बिहान–साँझ साइकल, मोटरसाइकल, अटो, ठेला लगायतका तरकारी बेच्नेहरु पनि समस्यामा परेका छन् ।
हिजोआज सबैले बढी उपयोग गर्ने सामान साबुन हो, विश्वभर नै साबुनपानीले हात धुने अभियान नै चलाइएको छ तर अत्यावश्यक सामान उत्पादक साबुन उद्योगलाई अहिले मजदूरको समस्या छ । रुपन्देहीका एक साबुन उद्योगी विगतमा २५÷३० जना कामदार रहेकोमा अहिले १० जनाले काम चलाइरहेको बताउँछन् । ‘४÷५ गाडी कच्चा पदार्थ भन्सारमै रोकिएको छ, त्यो त प्रक्रिया पु¥याएर आउँछ, तर मजदूरको भने समस्या छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘काममा लगाइएकालाई पनि फ्याक्ट्रीमा नै बस्ने व्यवस्था मिलाइएको छ ।’ रुपन्देहीमा दुई वटा साबुन उद्योग रहेकोमा एउटा उद्योगमा दोब्बर ज्याला दिएर पनि काम गराउनु परेको उनको भनाइ छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा उद्योगी व्यवसायीका समस्या राज्यले नबुझ्दा समस्या आएको बताउँछन् । ‘लकडाउनका बेला गृहप्रशासनको सक्रियता हुन्छ, गृहप्रशासनले उद्योगीका समस्या बुझ्दैन’ बोहराले भने ‘हामीकहाँ तरकारी, बिस्कुट लगायतका सामान समेत भारतबाट आउँछ तर यहाँको उत्पादनको बजारीकरणको समस्या छ, यो सबै सरोकारवालाहरुबीच संयोजन (कोअर्डिनेशन) नहुँदा र व्यवस्थापन चुस्त नहँुदा समस्या भएको हो ।’
‘रोगको नियन्त्रण जरुरी छ, भोलि विकराल अवस्था आयो भने समस्या सबैलाई हुन्छ, यो सबैको साझा समस्या हो’ बोहराले भने ‘तर अप्ठयारो परेको बेला हातमा हात मिलाउँदै आएका उद्योगीको समस्या पनि सुन्न जरुरी छ, व्यवस्थापन र संयोजन मिलाउन सकेमा केही राहत अवश्य मिल्छ ।’
रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेश अधिकारी ढुवानी र मजदुरहरुकै समस्या प्रमुख समस्या रहेको बताउँछन् । ‘सुख्खानगर बस्नेलाई औद्योगिक क्षेत्र जान समस्या छ, चरंगे क्षेत्रबाट समेत मजदूरहरु उद्योगसम्म आउन आउन सहज छैन’ अधिकारी भन्छन् ‘चाहेर पनि उद्योगहरु चलाउन सकिने अवस्था छैन ।’ केही औषधि उत्पादकहरुले सेनिटाइजर लगायतका सामान उत्पादन गरेका छन्, साबुन लगायतका केही उद्योग चलेका छन् तर अन्य उद्योगहरु चल्न सक्ने अवस्था नरहेको उनी बताउँछन् । ग्यासको आयात नरोकिएकाले ग्यास आपूर्ति भइरहे पनि ग्यासको बिक्री भने घटेको उनको भनाइ छ ।
विकास निर्माणलाई निरन्तरता दिने प्रयास
लकडाउनको बेला केही विकास निर्माण आयोजनाहरुलाई निरन्तरता दिने प्रयास गरिएको छ तर कामको गति भने सबैजसोमा अति नै सुस्त छ । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले निरन्तरता पाएको छ । बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम चलिरहेको छ, त्यहाँ पनि थोरै मजदूरहरुबाटै काम चलाइएको छ ।
बुटवलको मिलनचोक तीनकुने हुँदै देवीनगर जाने सडकको १६÷३६ कुलामा गत वर्षदेखि नै बन्न शुरु गरेको पुललाई लकडाउनमा पनि निरन्तरता दिने प्रयास गरिएको छ तर अहिलेसम्म पूरा हुन सकेको छैन । नेपाल निर्माण मजदूर संघ स्वतन्त्र, रुपन्देहीमा आबद्ध रहेका मोतीलाल चौधरीका अनुसार काम नरोकियोस् भनेर सीमित मजदूरहरुबाटै भए पनि काम चलाइएको हो । विकास निर्माण लगायतका काममा मजदूर व्यवस्थापनको काम समेत गर्दै आएका उनले भने ‘दाङ, बर्दिया लगायत पश्चिमतिरका कतिपय मजदूर घरमा गएका छन्, नजिकका स्थानीय मजदूरहरुबाट काम चलाइएको छ ।’
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) रुपन्देहीका अध्यक्ष सूर्यदेव दासका अनुसार निर्माण क्षेत्रमा अहिले १०÷१५ प्रतिशत मात्रै कामदारबाट काम चलाइएको छ । ‘रुपन्देहीभरिमा हाम्रो संस्थामार्फत झण्डै नौ हजार कामदार छन्, तर अहिले १५ सय÷दुई हजार मात्रै उपलब्ध छन्’ उनले भने ‘मजदूरहरु समस्यामा पर्दै गएपछि धेरै मजदूर गाउँमा गएका छन् ।’ स्थानीय निकायबाट राहतको थप व्यवस्था भएमा मात्रै मजदूरको समस्या समाधान हुने उनी बताउँछन् । ‘स्थानीय तहबाट ठेकेदारले नै मजदूरको समस्या समाधान गर्नुपर्छ भन्ने कुरा आयो, सबै व्यवस्थापन ठेकेदारले मात्रै गर्न सक्ने अवस्था हुन्न’ उनले भने ‘हाम्रो संस्थाबाट दुई पटक राहत बाँडियो तर लकडाउन थपिदै जाँदा समस्या बढेपछि धेरै मजदूरहरुलाई हामीले नै घर जाने व्यवस्था मिलाएका हौं । ’
रुपन्देहीकै विभिन्न ठाउँमा घर निर्माणको ठेक्का लिदै आएका ठेकेदार अमर सारु सरकारले लकडाउन खुकुलो गरेपछि आधा मजदूरबाट काम चलाउने प्रयास गरेको तर संभव नभएको बताउँछन् । लकडाउनअघि डेढ सयभन्दा बढी कामदार परिचालन गर्दै आएका उनी लकडाउनकै बेला ६० जना जति बर्दियातिरका कामदार घरमा गएपछि स्थानीय कामदार मात्रै परिचालन गरेको बताउँछन् । तर कोरोना संक्रमण बढ्दै गएको र टोलटोलमा कडाई हुन थालेपछि कामदार आउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।
लकडाउनकै बेला पनि घर निर्माणलाई निरन्तरता दिने प्रयास गरे पनि सम्भव नभएको देवीनगरमा घर निर्माण गर्दैै गरेका घरधनी मधु घिमिरे बताउँछन् । ‘सिमेन्टमा प्रतिबोरा पहिलाभन्दा ६०÷७० रुपैया बढी लिन थालेका छन्, छडमा प्रतिकिलो १० रुपैयासम्म बढी लिन थालेका छन्, कामदार, मिस्त्री काममा आउनै डराउँछन्’ घिमिरे भन्छन् ‘वर्षा नलाग्दै घर निर्माण गर्ने सपना अधुरै रहने भो ।’
देवीनगरमै घर निर्माण गर्दै गरेका अर्का घरधनी अर्जुन जिसी पनि थोरै कामदारबाट काम भइरहे पनि घर निर्माण कहिले सकिने हो टुंगो नरहेको बताउँछन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी केन्द्र, प्रदेश र स्थानीय तहको संयोजनबाट काम गर्दा कोरोना रोकथाम गर्न सकिने भएकाले केन्द्रको निर्देशन बमोजिम नयाँ रणनीति बनाउने बताउँछन् । ‘कोरोना विशेष अस्पताललाई दुई सय बेडको बनाउने निर्णय त भइसक्यो, त्यसबाहेक पनि दुई सय बेडको आइसोलेशन सेन्टर बनाउन हामी जुटेका छौं, अरु अप्ठ्यारा विस्तारै सुल्झाउँदै जान्छौं’ उनले भने ।
डिजिटल प्रविधिमा जोड
लकडाउनको बेला कामलाई सहज बनाउन बैंक तथा अन्य कार्यालयहरुले डिजिटल प्रविधिलाई जोड दिन थालेका छन् ।
एनआइसी एसिया बैंकका ५ नं. प्रदेश प्रमुख तिलक कार्कीले रुपन्देहीको बुटवल, तिलोत्तमा लगायतका शाखाबाट आइतबार, मंगलबार र बिहीबार दिनको चार घण्टा सेवा दिदै आएको बताए । सीमित कर्मचारीबाटै सेवा दिदै आए पनि कहिलेकाही चेकजाँचको क्रममा कर्मचारीहरुले समेत सास्ती बेहोर्नुपरेको उनले बताए । डिजिटल प्रविधिबाट काममा केही सहज भएको भन्दै उनले रुपन्देहीमा २४ वटा एटीएममार्फत सेवा दिदै आएको बताए ।
नेपाल टेलिकम बुटवल शाखाका सहायक प्रशासकीय अधिकृत दिनेश पाण्डेले अति आवश्यक संख्याका कर्मचारीबाट सेवा दिदै आएको बताए । ‘नयाँ काम शुरु गर्ने अवस्था छैन, सञ्चार प्रविधि क्षेत्रको जरुरी कामलाई निरन्तरता दिने काम भइरहेको छ’ पाण्डेले भने ।
अदालतमा अत्यावश्यक काम मात्रै
सर्वोच्च अदालतले मुद्दा हेर्ने क्रम बढाउँदै लगे पनि मातहतका उच्च र जिल्ला अदालतहरु कसरी अगाडि बढ्ने टुंगो लागेको छैन । अदालतमा बन्दीप्रत्यक्षीकरण, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ नं. बमोजिम र दफा १५५ नं. बमोजिमका निवेदन, पक्राउ अनुमति, अभियोग दर्ता, वयान, थुनछेक आदेश लगायतका काम हुँदै आए पनि नियमित पेशी र तारेखका काम हुन सकेका छैनन् ।
केही दिन अघि सर्वोच्च अदालतले कानून व्यवसायी समेतको सुझाव लिई राय पठाउन निर्देशन गरे पनि कसरी जाने भन्ने कुनै पत्र नआएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी सुवर्ण प्रसाद खनालले जानकारी दिए ।
त्यसैगरी अदालत पूर्ण रुपमा सञ्चालन हुने अवस्था तत्काल नरहेको र सर्वोच्चबाट केही निर्देशन नआएको रुपन्देही जिल्ला अदालतका अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए ।