बुटवल । सत्तारुढ दल नेकपामा पछिल्लो साता राजनीतिक खिचातानी बढ्यो । नेताहरुबीच एकाएक देखिएको टकारावले पार्टी फुट नै हुने सम्भावना देखिएका थिए । नेताहरुको खिचातानीले कार्यकर्ता निराश थिए । शुक्रबार र शनिबार नेकपा महासचिव विष्णु पौडेलले गरेको समन्वयले पार्टीका सबै तिक्तता सकिएका छन् । कार्यकर्ता उत्साहित भएका छन् ।


पार्टी एक बनाउन समन्वयकारी भूमिका खेलेको भन्दै महासचिव पौडेलेको देशव्यापी नै प्रशंसा भएको छ । उनको गृह प्रदेश र जिल्लामा प्रशंसा गरिएको छ । बौद्धिक व्यक्तित्वहरुले सामाजिक सञ्जालमा पौडेलको प्रशंसा गर्दै पार्टी एकताबद्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।


पार्टी कार्यकर्ता, शुभेच्छुक लगायतले उनको भूमिकाले पार्टीको संकट तत्कालका लागि टरेको भन्दै संकटका बेला महासचिव पौडेलले आफ्नो क्षमता प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।


प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, मेघराज शर्मा र लेखक क्रृषि आजादले सामाजिक सञ्जाल फेसबुकमा संयुक्त टिप्पणी लेख्दै नेकपा सचिवालयको निर्णय राष्ट्र र जनताको पक्षमा रहेको र यसमा सार्थक समन्वयको भूमिका महासचिव पौडेलले निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् । “अनेक संसयका बीच कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र आम मतदाताको चाहाना अनुसार अत्यन्त सुझबुझपूर्ण निर्णय नेकपाले गरेको छ”–उनीहरुले भनेका छन् ।


कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का केन्द्रीय अध्यक्ष नवराज कुँवरले पौडेलको विवेकपूर्ण निर्णायक भूमिका र क्षमता प्रशंसा गर्न योग्य रहेको बताएका छन् । नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले सामाजिक सञ्जालमा टिप्पणी लेख्दै विवादका बीच सहमतिको संभावना खोज्ने र त्यसलाई कार्यान्वयन गर्ने विशिष्ट क्षमता महासचिव पौडेलमा रहेको बताएका छन् ।


पार्टी कार्यकर्ता सुरेन्द्र बर्माले महासचिव पौडेलले समन्वयकारी भूमिका खेलेको बताए । “समन्वयकारी भूमिकाको कारण पार्टीभित्र देखा परेको कठिन परिस्थितिलाई एकतावद्ध बनाउने दिशातर्फ उहाँकौ भूमिका अग्रसर देखियो”–उनले भनेका छन् ।

“नेतृत्वले आफ्नो क्षमता र भूमिका संकटका बेला देखाउने हो”–उनले भनेका छन् ।
नेपाल पत्रकार महासंघका प्रदेश ५ उपाध्यक्ष भरत केसीले महासचिव पौडेल जहिले पनि आन्दोलनको रक्षा र जनताका अधिकार स्थापित गर्न पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखेर समन्वयकारी भूमिका खेल्ने नेता भएको बताएका छन् ।


नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले नेतृत्वले आफ्नो क्षमता र भूमिका संकटको बेला देखाउने नेता भन्दै पौडेलको प्रशंसा गरेका छन् । पार्टी नेता बलबहादुर आचार्यले पार्टीभित्र देखिएको समस्याको अस्थायी समाधानका लागि भएपनि समन्वयकारी भूमिका निर्वाह गरेकोमा महासचिव पौडेललाई धन्यवाद दिएका छन् । पौडेल रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचित सांसद हुन् ।