शोभा जिसी

नवलपुर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गर्न खरिद गरेको राहतमा कुहिएको चामल विक्री गर्ने परासीको राजेश राइस मिलका सञ्चालक पटवारी बानियालाई कारागार पठाइएको छ ।

दुई साता अघि रामग्राम नगरपालिकामा कोरोना प्रभावित विपन्नलाई वितरण गर्ने राहत सामग्रीमा न्यून गुणस्तरको चामल विक्री गरेका परासी स्थित राजेश राइस मिलका संचालक पटवारी बानियालाई अदालतको आदेशले पुर्वक्षका लागि थुनामा कारागार पठाएको छ ।

जिल्ला अदालत पश्चिम नवलपरासीका सूचना अधिकृत अमृत मरासिनीले खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको अनुसन्धानमा उनले न्यून गुणस्तरको चामल बिक्रि गरेको प्रमाणित भएपछि बानिया बिरुद्ध जिल्ला अदालतमा सोमवार मुद्दा दायर गरेको हो ।

सोमबार अदालतको आदेशले मुद्दाको अन्तिम टुंगो नलागुन्जेल वानीयालाई थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । रामग्राम नगलपालिकाले कोभिड १९ वाट प्रभावित नगरपालिकाका २३ सय परिवारलाई २ सय ५० क्विण्टल खाद्यान्न वानीयाको मिलवाट खरिद गरेर वितरण गरेको थियो । वानीयाले ४० रुपैया किलोमा बिक्रि गरेको चामल निम्न गुणस्तरको भएको जानकारी पाएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान थालेको थियो ।

उनि बिरुद्धको अभियोग प्रमाणित भएमा ५ वर्ष कैद , ५० हजार सम्म जरीवाना वा दुबै सजाय हुन सक्ने कानूनमा ब्यबस्था रहेको छ ।

गुुणस्तरहिन खाद्यान्न बितरण गरेको सम्बन्धमा बुटवलमा रहेको गुणस्तर तथा नापतौल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छुट्टाछुटै अनुसन्धान गरिरहेको छ ।