मुख्यमन्त्री शंकर पोखरेल भन्छन्
लुम्बिनी संवाददाता
बुटवल ।
प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाका कारण निजी अस्पताल भयभित र जिम्मेवारीबाट टाढिन खोजे ती अस्पताललाई प्रदेश सरकारले जिम्मा लिएर सञ्चालन गरिने बताएका छन् ।
नेपालमा कोरोना संक्रमणको सुरुका दिनमा उपचारमा आनाकानी गरेका निजी अस्पतालले प्रदेश सरकारको निर्देशनपछि चेकजाँच सुरु गरेका छन् ।
आइतबार बुटवलबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा मुख्यमन्त्री पोखरेलले भने–‘निर्देशनपछि निजी अस्पतालले ‘फेभर क्लिनिक’ तयार गरेर जाँच्ने काम सुरु गरेका छन् र पोजेटिभ केस आए कोरोना विशेष अस्पतालमा पठाउन भनिएको छ । त्यहाँ पनि थेग्न नसके निजी अस्पताल जिम्मा लिने तहसम्मको कुरा भएको छ ।’
यही हप्तामा नेपालगञ्ज, दाङ र भैरहवाबाट पीसीआर मेसिनमार्फत् स्वास्थ्य जाँच गरिने उल्लेख गर्दै उनले ¥यापिड टेष्ट बाह्रै जिल्लामा सुरु भएको बताए । स्वास्थ्यकर्मीहरूलाई पीपीईका कारण उपचार हुन सक्दैन भन्ने अवस्था नरहेको जनाउँदैै मुख्यमन्त्री पोखरेलले कोरोनासँगको लडाइँ जित्न नागरिक नै लड्नु पर्ने उल्लेख गरे । ‘त्यो भनेको सामाजिक दुरी नै हो । नागरिकको अनुशासनद्वारा लडिने लडाइँ नै हो । चीन र कोरियामा नागरिकमा अनुशासन भयो, विजय प्राप्त भयो । अमेरिकालगायतका देशमा अनुशासन भएन, पीडा धेरै व्यहोर्न परेको छ ।’–उनले भने ।
कोरोनाको जोखिम कम गर्न सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताउँदै उनले आउने दिनमा सञ्चारमाध्यमको अझ बढी भूमिका हुने उल्लेख गरे ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संख्या पहिलेको भन्दा दोब्बर पारिएको जनाउँदै मुख्यमन्त्री पोखरेलले भारतबाट सहजै नेपाल प्रवेश गर्ने अवस्था नरहेको बताए ।
नेपालमा कोरोनाको ‘क्यारेक्टर’ परिवर्तन भयो कि भन्ने आशंका उब्जिएको बताउँदै उनले अब २१ दिनसम्म क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने उल्लेख गरे । सो अवसरमा सञ्चारमाध्यमका सम्पादकहरूले विभिन्न सुझाव र जिज्ञासा राख्दै महासंकटको यस घडीमा आफूहरूको महत्वपूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।