अर्जुन ज्ञवाली
कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले मानव सभ्यतालाई नै चुनौती दिएको छ । विश्व महामारीको रूपमा फैलिएको यो प्रकोप अत्यन्त भयावह बनेको छ । यसको नियन्त्रणको लागि न औषधि बनेको छ, न खोप नै तयार भएको छ । संयम मात्र यसको उपचार रहेको छ ।
यस महामारीका कारण विश्वका ठूलाठूला अर्थतन्त्र कमजोर भइरहेका छन् । चीनबाट थाहा भएको यो प्रकोप युरोप–अमेरिका हुँदै भारत, नेपालमा फैलिएको छ । यसका कारण विश्व बन्दाबन्दीमा छ । एकान्तबास नै कोरोना नियन्त्रणको एक मात्र ब्रह्मास्त्र रहेछ । शारीरिक दुरी, एकान्तबास । यसलाई राम्ररी पालना गर्न सक्यौ भने मानव जातिकै यस शत्रुलाई परास्त गर्न सकिन्छ । यस महामारीसित जुध्न नेपालमा लकडाउन गरिएको छ । लकडाउन यहाँ सफल छ । यसमा यहाँ राष्ट्रियता बनेको छ । पक्ष विपक्षका दुवै राजनीतिक पार्टीहरू यस विपतिसित लड्न एकजुट छन् । कोरोना संक्रमितहरूलाई उपचारको लागि तथा काम गरिखाने मजदूरहरूलाई राहतका लागि सहायताकोष खडा गरिएका छन् । केन्द्रमा राहतकोष बनेका छन् । प्रदेशमा छन् र पालिकाहरूमा पनि छन् । उपचार तथा राहत कोषमा आफूसँग थोरै धेरै पैसा हुने सबैले दिल खोलेर दान गरेका छन् । सांसदहरूको मातहत खर्च हुने अरबैको बजेट महामारी नियन्त्रणमा खर्च गर्ने सहमति भएको छ । यो अत्यन्त राम्रो पक्ष हो ।
५ नंं प्रदेश सरकारले स्थानीय तहलाई १३ करोडको रकम कोरोना संक्रमितलाई उपचार गर्न र व्यवस्थित गर्न अनुदान दिएको छ । यसबाट स्थानीय स्तरमा स्थापित क्वारेन्टाइनहरूलाई व्यवस्थित गर्न सजिलो हुनेछ । काम गरिखाने मजदूरहरूलाई राहत दिन पनि सहयोग हुने भयो । स्थानीयस्तरमा पनि उपचार तथा राहत कोषहरू खडा गरिएका छन् ।
त्यस्ता कोषमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय तथा सहकारी संस्था, विभिन्न संघसंस्था, निजी विद्यालयहरूले सहृदयतापूर्वक सहयोग गरेका छन् । जनप्रतिनिधिहरू यसमा खटेका छन् । स्वास्थ्यकर्मीहरू जसको सेवा विषयगत हिसाबले यसै पनि अर्थपूर्ण छ, उहाँहरूको सेवा प्रशंसनीय छ । यस्तै सञ्चारकर्मीको सूचना प्रसारणको सेवा सराह्रनीय छ । सरकार, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, व्यापारी, उद्योगी सम्पूर्ण नागरिक यस कोरोना महामारीको विरुद्ध आ–आफ्नो क्षमताअनुसार कार्यक्षेत्रमा खटेका छन् । यसमा अनुशासनपूर्वक एकान्त बसेर पनि सघाउन सकिन्छ । सडकमा ननिस्केर पनि सघाउन सकिन्छ । दुग्ध व्यवसायीले, तरकारी व्यवसायीले, खाद्यान्न व्यापारीले तोकिएको समयमा वस्तुको आपूर्ति दिएर, बिक्री वितरण गरेर सहयोग गर्न सकिन्छ । आम नागरिकले शारीरिक दूरी कायम नगरे के हुन्छ र भनी लापरबाही नगरेर अनुशासनपूर्वक व्यवहार गरेर सहयोग गर्न सकिन्छ ।
नेपालमा कोरोना महामारी रोकथामको सवालमा मानवीय हिसाबले काम भएको छ । यसो भन्न पाउँदा खुसी लाग्छ । नेपालीहरूमा समवेदना छ । समवेदनालाई नेपालीहरू सहृदयतापूर्वक प्रकट गर्दछन् भन्ने कुरामा थुप्रै उदाहरण यसमा देखिएका छन् ।
लकडाउनको समय आफ्नो घरको मायाले काठमाडौंबाट सिराहा, सप्तरी, विराटनगर, ओखलढुुंगा, पोखरा, परासी, बर्दिया, सुर्खेत, धनगढी हिडेका, भोकै परेका, खुट्टा सुन्निएका, वृद्धवृद्धा, स–साना नानीबाबु बोकेर हिंडेका यात्रुहरूलाई पानी दिने, खान दिने, गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइदिने व्यवस्था गरेर स्थानीयबासीले उदाहरणीय मानव सेवा गरे ।
सरकारले कोरोनाको आशंका भएकाको जाँच दु्रतगतिमा गर्ने कामलाई बढाएर लगेको छ । राजधानी बाहिर पनि ल्याब टेष्टको व्यवस्थालाई बढाएको छ । अहिलेसम्म करिव आठ हजार जनाको ल्याब टेष्ट भएको छ । जाँचको रिपोर्टमा ३० जना पोजेटिभ देखिएका छन् । बाहिरी देशको तुलनामा यो संख्या कम छ । ३० जना संक्रमितको उपचार भइरहेको छ । दुई जनालाई निको भइसकेको छ । अरू सबैको स्वास्थ्य अवस्था सामान्य बताइएको छ ।
आपत् विपत् पर्दा उद्धारका लागि भावना छ । अन्न पानी, पैसा, लत्ताकपडा सबै जुट्छ । समस्या छ – व्यवस्थापनको । जुटेको पैसा खर्च हुन सक्दैन । सरकारी खरिद प्रक्रिया एकदमै जटिल छ । यस्तो काइते व्यवस्था छ जसले गर्दा भ्रष्टाचार हुन्छ । पापी कुकर्मीहरू यही काइते व्यवस्थाको फाइदा लिएर बिरामीको औषधिमा, बिरामीको खाने खुराकमा ¥याल काट्छन् । कीरा परोस्, तिनीहरूलाई । त्यस्तालाई दण्डित गर्दै किनारा लगाउँदै जिम्मेवारीमा बसेकाहरूले, कर्तव्यबोध राख्नेहरूले, समाजसेवीहरूले, राज्यको नुन खाएकाहरूले इमान्दारीपूर्वक विपत्मा परेका, महामारीबाट संक्रमितहरूको सेवा गर्नुपर्छ । कर्तव्यबोध हुनेले यो गरेका छन्, तिनलाई साधुवाद छ । यस्तो अवस्थामा पनि बिरामी विरुद्ध पाप गर्ने अधर्मीहरूलाई धिक्कार छ । आन्तरिक बाह्य दुवै हवाई यातायात बन्द गरिएको छ । बन्द अघि परदेशबाट आफ्नो घर आएका युवायुवती, वयस्कमा कोरोना भाइरस बढी देखियो । तेस्रो मुलुकबाट आउनेको संख्या यसै पनि कमी छ । बन्द सीमाबाट हवाई मार्गबाट आउने हुँदा तिनीहरूको पत्तो लिन सजिलो छ । पत्ता लगाएर त्यहाँबाट आएका र तिनको सम्पर्कमा रहेकाको पत्ता लगाएर जाँच गर्न सकिएको छ । तर, खुला सीमाका कारण भारतबाट आउनेहरूको बारेमा राम्ररी थाहा हुन गाह्रो परेको छ ।
भारत र नेपालमा दुवैको समझदारीमा सीमा बन्द गरिएको छ । भारतमा पनि लकडाउन छ । हामीकहाँ पनि लकडाउन छ । भारतमा कामको सिलसिलामा गएका नेपाली बन्धुबान्धव कोरोनाको हल्ला चलेपछि नेपाल आउन थाले । लकडाउनपछि पनि सीमामा अलपत्र नेपाली बन्धुलाई नेपालले केही मात्रामा नेपाल भित्र्याइयो । पछि दुवैतिरका नागरिक जो जहाँ छन् त्यहीं रहने दुई देशबीच समझदारी भयो । अहिले त्यहीं व्यवस्थामा दुवैतर्फका नागरिक दुःखम् सुखम् छन् । तर पनि खुला सीमानाका कारण सम्पूर्ण सीमा बन्द गर्न सकिएको छैन । खुला सीमामा सशस्त्र प्रहरीको गस्ती बढाइएको छ र पनि पूर्ण नियन्त्रण हुन सकिरहेको छैन । समाधान दुवै देशको सफल सीमाबन्दीमा निर्भर छ ।
नेपाल भारतमा जो जहाँ छन् त्यहीं क्वारेन्टाइनमा बस्ने आपसी समझदारी भए पनि खुला सीमानाका कारण अटेर भइहाल्ने कारणले गर्दा नेपालमा कोरोना संक्रमणको अवस्था जटिल बन्न गएको छ । मातृभूमिको माया थामि नसक्नुको हुन्छ । यही कारण हो भारतमा हुने नेपालीहरू मर्न छँदैछ, मातृभूमिमै गएर मर्ने भनेर पैदल हिडी भोक होस् कि तिर्खा, जन्मेको ठाउँमा पुग्न आतुर भए । भारतको जुन शहरबाट बोर्डरमा कसरी आए, त्यो आफ्नो ठाउँमा छ, सुनौलीबाट हिंडेर गुल्मीको अर्जे र नेपालगञ्जको रूपौडियाबाट हिंडेर बझाङ, कृष्णनगरको बढनीबाट अर्घाखाँची, प्यूठान पुग्नेहरूको संख्या मनग्गे भइसक्यो । त्यहाँ पुगेर पनि सुखै छैन । सेल्फ तथा व्यवस्थित क्वारेन्टाइनमा बस्नु पर्छ । एकातिर यस्तो भावपूर्ण माया छ । अर्काेतिर यिनै बन्धुहरू आफ्नै कुटुम्ब, बन्धुबान्धव, साथीभाई, गाउँ नगर समाजका लागि भयका पात्र हुन गएका छन् । माया त छ, त्यसै मायाभित्र कोरोनाको कहर छ । वेदना भित्रको अर्काे वेदना छ । त्यसमा कोरोनाका विषाणुको आशंकामा रहेकाले बाँकी जीवनका लागि त्याग गर्नै पर्छ । कोरोना फैलिएका जुनसुकै देशबाट स्वदेश आउने नेपालीले यसमा त्याग गर्नै पर्छ । तेस्रो मुलुकबाट अब आउने सम्भावना छैन । हवाइ यातायात अवरुद्ध छ । भारतबाट आउने सीमा पनि बन्द छ । तर, खुला सीमाका कारण लुकीछिपी आउनेहरूको भय रहिरहेको छ । यसमा सख्त कडाइ जरूरी छ । पहिल्यै भित्रिसकेकाहरूको खोजी खोजी परीक्षण आवश्यक छ । सो भइरहेको छ । जहाँसम्म कोरोना संरक्षणको जाँचको कुरा छ, यसलाई अझै छिटो र व्यापक बनाउनु प¥यो । छिटो गर्न थालिएको छ, अझ छिटो र यसको दायरा बढाइएको छ, यति पर्याप्त छैन, अझ ठूलो दायरा बढाउनु प¥यो ।
कोरोनाका विषाणु जाँच्ने औषधि छिटो प्रक्रियाबाट खरिद गर्ने, यसको व्यवस्थापन चुस्त दुरूस्त बनाउने, यसमा राम्ररी खट्नेलाई दिल खोलेर पुरस्कृत गर्ने गर्नुपर्दछ । यस्तो अवस्थामा पनि भ्रष्टाचार गर्नेलाई माखो निचोरे झैं निचोरेर फाल्नु पर्छ । ९० सालमा काठमाडांैमा भूइँचालो जाँदा जंगबहादुरले भनेका थिए रे– भुइँचालोको पीडामा परेकाहरूलाई उद्धारका नाउँमा कसैले भ्रष्टाचार ग¥यो भने पाँच जना बसेर सल्लाह गर्नु, कसैले गल्ती गरेको ठहरिए सोझै गोली ठोक्नु, मलाई सोध्नु पर्दैन ।
जहाँसम्म लकडाउनको कुरा छ– यो ठीक छ । यसलाई कडाइका साथ पालना गर्नुपर्छ । नेपाल–भारत सीमामा जबर्जस्त कडाइमा राख्ने । एकान्तबासलाई अनिवार्य रूपमा पालना गरिकन बढी प्रभावित क्षेत्रमा लकडाउनलाई अझ कडाइका साथ लागू गरिकन पनि ठाउँ हेरेर पालिका क्षेत्रमा हुन्छ कि, जिल्लाको क्षेत्रमा हुन्छ कि, त्यसपछि प्रदेश क्षेत्रमा हुन्छ कि लकडाउनलाई थोरै थोरै खुकुलो पार्न पर्ने हुन सक्छ । खेतीबारीलाई सहज गराइदिने कुरा छ, दूध, माछा, मासु सुलभ गर्ने कुरा छ, निर्माणको काम पनि केही चालु गर्ने कुरा छ । यसलाई सहज बनाउन थोरै खुकुलोपन आवश्यक पर्छ । आवश्यक दुरी बनाएरै काम गर्नु पर्ला । कामदार खेतबारीमा पुग्नु प¥यो, निर्माणका कामदारहरू निर्माण स्थलमा पुग्नु प¥यो–तिनलाई सानो गाडीमा पु¥याउनु प¥यो, आदि इत्यादि कुरालाई अलिकति खुकुलो चाहिन्छ । यो खुला, खुलाभित्रको खुला होइन, बन्द भित्रको सामान्य खुला हुनुपर्दछ । सामान्य दैनिकी कामको हिसाबले यस्तो खुलापनको बारेमा सोंच्न जरूरी भएको छ ।
स्वदेशको माया विदेशमा हुँदा छताछुल्ल भएर आउँछ । यो पंक्तिकारलाई थाहा छ– बनारस पढ्न बस्दा घरको माया असाध्यै लाएर आउँथ्यो । बाआमा, भाइ–बहिनी, माले गोरू, माली गाईं, गोठ, पधेंरा, चिसापानी…. माया लाएर आउँथ्यो । अहिले अरब हुने, कोरिया हुने, दिल्ली, बम्बई हुने सबै नेपाली दाजुभाइलाई नेपालकै माया लाएर आएको छ । त्यहाँ पनि कम्पनी बन्द भए । रोजगारीमा प्रश्न चिन्ह लाग्यो । आउँ बन्दी छ । मर्न परे पनि घरै गएर परिवारसँगै भएर मर्न पाए हुन्थ्यो भन्ने भएको छ । यस्ता श्रव्यदृश्य हामीले सुनिरहेका र देखिरहेका छौं । स्वदेशका लागि विदेशको दुःख, परिवारको भविष्यको लागि विदेशको दुःख भनेर उनीहरूले सहेका थिए । अब त्यहीं पनि जीवन नहुने भएपछि तिनको अन्तिम इच्छा नेपालमा आउने भएको छ । यहाँ बारी जोत्न, खेत रोप्न धौ मानेर विदेश÷मुग्लान पसेका बन्धुहरू अहिले यहा भन्दा बढी कष्ट भोग्दा पनि यो अवस्था भएको कुराले पश्चातापमा छन् । कोरोना मत्थर होस्, तिनीहरू यहाँ आउन पाऊन् । यहाँ आइसकेकाहरूको मन बदलियोस् यहीं बस्ने अठोट बनोस्, अपेक्षा छ । अठोट मात्र बनोस् । यहाँ बाँझिएका खेत बाउबाजेले चर्चेका पाखा पखेंरा उहाँहरूकै प्रतीक्षामा छन् ।
संयुक्त अरब इमिरेट युएइमा श्रमरत १० हजार नेपाली युवाले नेपाल जान पाउँ भनेर नेपाली राजदूतबासमा निवेदन हालेका छन् । यो निवेदन आफ्ना बाउ बाजेका पसिना परेका खेतीबारी, घरगोठ, पधेंरो, देउरालीमा पलाएको मायाको निवेदन हो । नेपाल सरकारले त्यस भावपूर्र्ण निवेदन मान्न संवेदनशील हुनुपर्छ । संक्रमणको महामारीमा या त त्यहीं उहाँहरूको उद्धार गरी जीवन रक्षा गर्नुपर्छ, अन्यथा विशेष व्यवस्था गरी उपचारको निर्धारित विधि भित्रबाट ढीलो चाडो नेपाल ल्याउने प्रयास गर्नुपर्दछ । यो निवेदन एउटा प्रतिनिधि निवेदन हो । बाहिर श्रमबजारमा गएका प्रत्येक नेपालीको अवस्था हो । गुल्मी धुर्काेट गाउँपालिकाले बाँझा खेतबारी जोेतेर जीविकोपार्जन गर्न चाहनेलाई अनुदान दिने घोषणा गरेको छ । रोजगारीको लागि विदेश जानुभएका युवाहरू फर्कनु होस् । सबै पालिकाले यो व्यवस्था गर्ने छन् । आफ्नो भनेको आफ्नो हो । पराइ भनेको पराइ हो । प्राकृतिक हिसाबले हामी धनी छौं । यही हामी सुन फलाउन सक्छौं ।
मानव जातिले प्रकृतिलाई बढी छेडछाड ग¥यो । प्रकृतिलाई तिरस्कार गरेर विकृतिलाई अंगाल्दा यो स्थिति आएको हो । प्रकृतिले सन्तुलन खोजेको छ । अब महामारी ओरालो लाग्छ । संक्रमितहरू उपचारपछि बढी निको भएका छन् । थोरैले मात्र मृत्युवरण गर्नु परेको छ । यसबाट पनि स्पष्ट हुन्छ– महामारीले हार्छ, मानवजातिले जित्छ । नियमित शारीरिक दूरीभित्र रहौं । यसमा रहेर श्रमको काम गरौं । उत्पादन जारी राखौं । साबुनपानीले हात धौऔं । यस सामान्य अनुशासनलाई मात्र पालना ग¥यौं र प्रकृतिलाई सम्मान गर्न थाल्यौं भने जित हाम्रै पक्षमा छ ।