राधिका भुसाल
प्यूठान । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ रोकथामको लागि देशैभर गरिएको लकडाउनका कारण प्यूठानका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ । मुलुक नै लकडाउन भएकाले दैनिक रुपमा तरकारी बजारमा लैजान नपाएपछि समस्या भएको हो ।
प्यूठान नगरपालिका ८ खप्रेङखोलामा करिब ४ वर्षयता व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएकी विपना भण्डारीले तरकारी बजारमा लैजानै समस्या भएको बताइन् । ‘जग्गा भाडा लिएर तरकारी खेती गरेका थियौ’– भण्डारीले भनिन्– ‘उब्जाउ भएको तरकारीले बजार नपाएपछि खेत÷बारीमै सड्न थालेको छ ।’
उपभोक्ताहरुले तरकारी खान नपाएको अवस्थामा आफ्नो खेतबारीमा लटरम्म फलेको तरकारी कुहिन थालेको देख्दा दुःख लागेको उनले बताइन् । यो समयमा उनको बारीमा बन्दा गोवी, काँक्रा, सेमी, लौका, घिरौला, फर्सी लगायतका तरकारी उत्पादन भएका छन् । उत्पादित तरकारी बेच्न उपयुक्त अवस्थाका छन् तर बेच्न नपाएको गुनासो गरिन् । वार्षिक ३० हजार जग्गाको भाडा तिर्नु पर्ने बताउदैं विउ, विषादी, मलको लागत समेत तरकारीबाट कमाउन नसकेको उनको भनाइ छ ।
सोही ठाउँ निवासी अर्का किसान विष्णु घर्तीको पनि समस्या उस्तै छ । बिक्रीका लागि तयार भएको करिब १० क्वीन्टल तरकारी खेतमै कुहिन थालेको उनले बताइन् । ‘आर्थिक आम्दानीको स्रोत भनेकै यही तरकारी थियो’ विष्णुले भनिन्– ‘बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ ।’ अबको एक हप्ता सम्म तरकारी बिक्री गर्न नसके पछि यो सिजनको लगानी सबै डुब्ने उनको गुनासो छ । आफूले ऋण धन गरेर विउ मल खरिद गरेको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने उनको भनाइ छ ।
त्यस्तै अर्का तरकारी व्यवसायी रेखा सार्कीले पनि जग्गा भाडा लिएर तरकारी खेती गरेको बताउदै लकडाउनका कारण उब्जाउ भएको सबै तरकारी सड्न थालेको बताइन् । त्यही बस्तीमा करिब ३ लाख बराबरको तरकारी नष्ट हुन थालेको उनीहरु बताउँछन् ।
प्यूठान नगरपालिका ८ खप्रङखोला, गेजवाङ, सुर्य नगरका करिब ६० घर परिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यसरी लम्बिदै गएको लकडाउनको कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्न समेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । आफुहरुले उब्जाएको तरकारी दैनिक प्युठान नगरपालिका वडा नं ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा लगी बेचे पनि लकडाउनका कारण संकलन केन्द्र संगै बजार सबै बन्द भएपछि बेच्न नपाएको उनीहरुको भनाई छ ।
किसानहरुले उब्जाएको तरकारीहरु स्थानीय सरकारले बजारसम्म लैजानु पर्ने उनीहरुको माग छ । तरकारी विक्रि गर्नका लागि तयार भएसंगै वडा अध्यक्ष लिलाप सिंह केसीलाई जानकारी गराए पनि खासै वास्ताा नगरेको किसानहरु बताउछन् ।
यता प्यूठान नगरपालिका ८ का वडा अध्यक्ष लिलाप सिंह केसीले भने ‘मैले पहल गर्ने ठाउँमा गरिरहेको छु । अहिले विश्व नै लकडाउनमा परेको बेला यहाँका किसानहरुलाई पनि तरकारी बिक्री गर्न समस्या भएको हो ।’ उनले भने– ‘किसानलाई निराश हुन दिदैनौं कुनै माध्यमबाट उनीहरुको लगानीसम्म भएपनि उपलब्ध गराउने छौं ।’
प्यूठान जिल्लाका अन्य स्थानिय तहका किसानहरु पनि उब्जाएको तरकारीले बजार नपाउदा मारमा परेका छन् ।