दिलिपकुमार यादव ।
कपिलवस्तु ।
लकडाउनका कारण घुमन्ते फिरन्ते जीवनशैलीमा रहने कपिलवस्तुका लोपोन्मुख नटुवा जाति समस्यामा परेका छन ।
सर्प नचाउने, भिक्षा माग्ने, मह काढ्ने र ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मायादेवी गाउँपालिका, महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा रहेका नटुवाहरु लकडाउनले समस्यामा परेका हुन ।
सात दिनयताको लकडाउनले आफूहरुले काम नपाउनुका साथै भिक्षा माग्न जाँदा समेत संक्रमण भित्रिने डरले दुव्र्यवहार हुने गरेको नटुवाहरुको गुनासो छ । ‘भिख मगाय गए रहेन कोरोना लैके आए ओई बईलावओ एका (भिक्षा माग्ना गएको थिए कोरोनाको संक्रमण लिएर आए होला यहाँबाट भगाउ) भन्ने गर्छन् गाउँलेहरु’ मायादेवी गाउँपालिका वडा नं. २ अभिरावकी सिर्जना नटुवाले बताइन् ।
‘कति घरकाले त टाढैदेखि गाली समेत गर्छन्’ उनले थपिन् ‘हाम्रो मागेर खाने पेशा भएकोले अब यस्तो घडीमा के खाने भन्ने चिन्ता बढेको छ ।’ ‘घरमा खाने केही छैन । साँझ के खाने भन्ने चिन्ताले हैरान भएको छु’ सिर्जानाले समस्या सुनाइन् ।
जग्गा जमिन र स्थाई आयस्रोत नभएका नटुवा जाति लकडाउनका कारण भोकै बस्नु पर्ने अवस्था समाधान गर्नका लागि उनीहरुलाई तत्काल राहत सहयोग उपलब्ध गराउने समाजसेवी वलिउद्दिन मुसलमानले बताए । उनले भने ‘नटुवा समुदाय मागेर खाने जात भएकोले लकडाउनले धेरै मर्कामा परेको बेला मैले तत्काल राहत उपल्ब्ध गराउँछु र गाउँपालिकालाई पनि राहत उपलब्ध गराउनको लागि ध्यानाकर्षण गराउँछु ।’
लकडाउनका कारण समस्यामा परेका नटुवा समुदायसँगै अन्य गरिबहरुको तथ्याङ्क संकलनको क्रम अन्तिम चरणमा पुगेको जनाउँदै उनीहरुलाई एक दुई दिनभित्रै राहत सामग्री उपलब्ध गराइने मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिए ।
नेपालभरमै करिब ३ हजार रहेका नटुवा जाति कपिलवस्तुमा करिब ७० घरधुरीमा ४ सयको संख्यामा रहेका छन ।