प्रेम सुनार

गुल्मी । करिव २ फिट चौडाई र ३ फिट लम्वाईको थोत्रा जस्तापाताले बारेको बोरा र थाङना–थुङनीले ढोका बनाईएको सानो छाप्रो छ । पहिलो पटक पुग्ने मानिसले त्यसलाई बाँदर धपाउने टहरो होला भनेर अनुमान गर्छन् । तर त्यस टहरो तीन जना सदस्यरहेको एक परिवारलाई धान्ने चुलो हो । पानी आएको बेला टहरो चुहिन्छ । बाछिटोले हान्यो भने त भाँडाकुँडा नै बोकेर कसैका घरहरुको ओत खोज्दै हिड्नु पर्छ ।

७० बर्षीय बृद्ध विरामी परे पछि काम गर्न जान नसक्ने भएको तीन बर्ष भई सक्यो । हुर्केर पालन पोषण गर्ला भन्ने आशा गरेको एक छोरा मानसिक सन्तुलन खासै ठिक नभएका कारण सडकतिर भौतारिएर दिन काट्छन् । अन्ततः एउटी ६० बर्षीया बृद्धको मजदुरीमा त्यो परिवारको चुलो चल्दै आएको छ ।

उनले विभिन्न मानिसहरुको घरको कपडा धुदै र पोछा लगाउँदै श्रीमान र एक छोरा सहितको परिवारको चुलो चलाएकी हुन् । उनी हुन सदरमुकाम तम्घासको चिदीचौरको पँधेराको कोखैमा रहेको सार्वाजानिक जमिन मागेर बसेकी ६० बर्षीय सुमित्रा पाण्डे ।

चैत्र महिना लागे पनि विहान र साँझ तम्घासमा जाडो उत्तिकै छ । फाटेका पातलो कपडामा शनिवार विहानै देखि चिनेका मानिसहरुको घर चाहर्दै दाल चामल माग्दै हिडेकी थिईन । करिव ११ बजेतिर खै कसले दिएको काउली र आगो बाल्ने झिजा दाउराहरु बोकेर त्यही टहर तर्फ आउँदै थिईन ।

७० बर्षीय उनका श्रीमान ज्ञानेश्वर पाण्डे र उनका २६ बर्षीय छोरा रामचन्द्र आमाले चामल मागेर कति बेला ल्याउँछिन र पकाएर खाउँला भनेर कुरेर बसेका थिए । के गर्ने छोराको हाल त्यस्तो छ , मेरो हात बसेको ३ बर्ष भयो , अन्नको गेडो नभए पछि बुढीमाउ ईस्टमित्रकहाँ माग्न गएकी हो , खै कति बेला आउँछे भन्दै थिए बृद्ध पाण्डे ।

३५ बर्ष देखि सुकुम्वासी , मागेर ओत खोज्दै
उनको पुर्खेर्यौली घर रेसुङ्खा नगरपालिका वडा नम्वर ३ भाडगाउँ हो । उनी गत ३५ बर्ष अघि देखि सुकुम्वासी छन् । २०४१ साल देखि सुकुम्वासी भई तम्घासका सार्वाजानिक जमिन माग्दै ओता लाग्दै बस्दै आएका छौं पाण्डेले भने म सानै छँदा बाबु आमाको मृत्यु भएको हो । दाजु भाईले ऋण देखाएर सबै जग्गा खाई दिए त्यस पछि म तम्घास तिर आएर मजदुर गर्न थालेको हुँ ।

उनले कहिले मन्दिरमा कुरे कहिले रेसुङ्खामा रहेको नेपाल टेलिकमको टावरको हेरालो गरे । ५८ बर्ष उमेर पुगे पछि त्यो जागिर पनि गयो । तीन बर्ष अघि सम्म निमेक मजदुरी गर्ने पाण्डेको अहिले काम गरेर खाने उपाय छैन् । उनको परिवारको कोठा भाडा तिर्ने उपाय केहि नभए पछि अहिले रेसुङ्खा नगरपालिकाले चिदिचौर खेल मैदानको मञ्च तल सानो एउटा कोठा निशुल्क दिएर राखेको छ ।

यस अघि ३५ बर्ष सम्म तम्घास सेरोफेरोमा राजनीति गरेका र जनप्रतिनिधी भएकाहरुले पाण्डे जस्ता सुकुम्वासीको उद्धार गर्न के हेरेर बसे होला ? भन्ने सवाल पनि उठ्नु स्वभाविकै हो । छाक अड्केको समस्या सुनाउँदै पाण्डे परिवारले भने तत्काललाई चामल , दाल नुन तेल कसैले दिए पनि धन्य हुने थियो भन्ने आग्रह गरे ।

त्यही वरिपरी फुटपाथमा पसल गरेर बस्ने धुर्कोटकी कमला बिकको अवस्था पनि उस्तै छ । श्रीमानले मजदुरी गर्नुहुन्थ्यो , मैले सडकमा सुन्तला बेच्थे र विहान बेलुकाको गुजरा गरेका थियौं, बिकले भनिन अहिले त छाक अड्केको छ , पसलमा उधारो पनि पाईन्न, मुस्कीले परेको छ ।

थला परेको परिवारमा लक डाउनले झन थला
रेसुङ्खा नगरपालिका वडा नम्वर २, धागीथुमका दिपक बिकको घरमा झन विजोग छ । गत बर्ष गौडाकोटमा एक जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनामा परि मेरुदण्ड गुमाएका बिक थातै दिशा पिसाव भएर लडेका छन् । दैनिक मजदुरी गरेर चार पाँच जनाको परिवार पाल्दै आएका उनको घरमा अहिले अन्नको गेडो छैन् ।

त्यहाँका वडाध्यक्ष उदयबहादुर थापा, त्यहाँका अन्य जनप्रतिनिधी र धागीथुम कै अगुवा महिला अमृता देवि कुँवरले गाउँमा मानो चामल र नगद उठाउँदै त्यो परिवारको सामन्य गुजरा चलाई दिएका छन् । उनको उपचारका रकम भई दिए हिड्डुल गर्न समेत सकिने वडाध्यक्ष थापाको भनाई छ ।

बाग्लुङ्ख घर भई लामो समय देखि तम्घासमा बस्दै आएका गोविन्द बिकको परिवार पनि भुकमरीको सामना गर्नु पर्ने अवस्थामा पुगेको मजदुर नेता ओमबहादुर राना बताउँ छन् । जिल्ला प्रहरी कार्यालय अगाडी डेरा गरेर बस्ने सिता खत्रीका श्रीमान गमबहादुर खत्री अपाङ्ख छन् ।
उनीहरु सात जनाको परिवार हिजो देखि नै छिमेकीको घरमा चामल माग्दै हिडेका थिए । खत्री परिवारले कतैबाट चामल दाल पाईए धन्य हुने बताए । बाग्लुङ्ख घर भई २०४५साल देखि तम्घासमा गिटी कुटेर ३ जना परिवारको गुजरा चलाउँदै आएकी एकल महिला विमा गुरुङ्ख हाम्रो कार्यालय मै आई खाद्यन्न सहयोगको हात फैलाईन् ।

हिजो देखि चामलको गेडो छैन उनले भनिन कतैबाट सहयोग जुटाई दिनुस्न । उनी सहित तम्घास चिदीचौर सेरोफोरामा फुटपाथमा पसल राख्नेहरुको अवस्था उस्तै छ् । सदरमुकाम तम्घासमा प्युठानका मात्रै झण्डै २ सय जना मजदुर रहेको प्युठान घर भई गुल्मीमा बसेर नेकपा निकट मजदुर संगठनको नेतृत्वमा रहेका ओमबहादुर रानाका अनुसार तम्घासमा मात्रै झण्डै ३ हजार मजदुर छन् ।

त्यस मध्ये कोही घर गए पनि अधिकांस अलपत्र छन् । कसै संग घर जाने बाटो खर्च समेत छैन् । ती मध्ये भुजलेखर्कमा झण्डै ८० प्रतिशत दलित समुदायहरु दिनभरी काम गरेर साँझ विहानको गुजरा चलाउने दलित समुदायहरु रहेको नेकपाका जिल्ला कमिटी सदस्य धर्म बिश्वकर्मा बताउँछन् । नेता बिश्वकर्मा भन्छन् उनीहरुको काम ठप्प भए पछि माम पनि ठप्प जस्तै भएको छ ।

त्यस्तै रेसुङ्खा नगरपालिकाको बुढिचौर , यता थुम्का , टुनीखोला , पारी बाख्रछेडा र त्यो भन्दा माथीको दलित वस्ती पनि दिनभरी काम गरेर जिविका चलाउँउने दलित समुदायहरु हुन् । अन्य समुदायका विपन्न वर्गको अवस्था पनि उस्तै छ । यसै नगरपालिकाको उर्लेनीका झण्डै सतप्रतिशत दलित समुदायहरु त्यहाँको ढुङ्खाखानीमा ढुङ्खा फोदै जिविका चलाउने गर्दछन् ।

लक डाउन भए पछि उनीहरु पनि भोकमरी कै समस्यामा पर्न आँटेका छन् । यस सम्वन्धमा जिल्ला विप्द ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको ध्यानकृष्ट गराउँदा उनले सम्वन्धित पालिकाहरु संग आग्रह गरिएको बताए । रेसुङ्खा नगरपालिकाका मेयर डिल्लीराज भुसालले वडाध्यक्षहरुलाई त्यस्तो समस्यामा परेका मजदुरहरुको विवरण तयार गरि नगरपालिकालाई सिफारिस पठाउन लगाईएको बताए ।

उनले भने कसैलाई भोकै मर्न दिईने छैन् , वडा मार्फत सिफारिस आउनु पर्दछ । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले पनि त्यस्ता अति समस्यामा परेका मजदुरहरु भए दाल चामल बाणिज्य संघले पनि उपलध्ध गराउने प्रतिबद्धता जनाए ।