प्रेम सुनार

गुल्मी, चैत्र ११ । शहर बजारमा कोरोना भाईरसको सक्रमण हुने डरले यति बेला शहर बजारबाट मानिसहरु गाउँ फर्किएका छन् । यहि क्रममा कतारमा बैदेशिक रोजगारीमा गएका बाग्लुङ्घका ढोरपाटन नगरपालिका वडा नम्वर ५ अधिकारी चौरका अजय बिक त्यहाँ सक्रमित भइने डरले चैत्र ४ गते घर फर्किए । कतार एअरवैजको फलाईटमा उनी आएका थिए ।

त्यसै फ्लाईटमा कोरोना सक्रमित १९ बर्षीया नेपाली युवती पनि आएकी रहिछन् । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलन गरेर उक्त कुरा सार्वजनिक गरेपछि उनले चाल पाए । अनि आशंकाको घेरामा तानिए ।

मंगलबाट बिकको अवस्था बुझ्न ढोरपाटनका मेयर देवकुमार नेपालीको टोली उनको घरमा पुग्यो र हालसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिएको निक्र्यौल गर्याे । तरपनि बिकलाई उनकै दुई वटा घर मध्ये एउटा घरमा सेल्फ क्वारेन्टाईन बनाई राखिएको छ । अर्को घरमा भने उनका श्रीमति र छोरा छोरीलाई राखेर फर्किएको मेयर नेपालीले जानकारी दिए ।

उनी संगै पुगेका वुर्तिबाङ् स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ल ठकुरीका अनुसार बिकको स्वास्थ्य अवस्था सामन्य रहेको छ । यसरी भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु बिश्वब्यापी संकट रहेको बेला आफ्नो भूमि सुरक्षित ठानेर स्वदेश फर्किएका छन् । सयौं नेपालीहरुले आईतबार देखिनै भारत नेपालको नाकामा आएर स्वदेश पस्न पाउनुपर्ने माग गरेका छन् । मुग्लाङमा सिकिस्त विरामी परेमा घरै मरुँला भनेर आउने चलन नेपालीहरुका लागि धेरै पुरानो हो ।

देश विदेशबाट मात्र होईन स्देशका शहर बजारबाट पनि मानिसहरु आफ्नो पुख्र्यौली गाउँ फर्किएका छन् । लामो समयदेखि बुटवलको सुख्खानगरमा बस्दै आएकी गुल्मी रेसुङ्घाकी कमला पन्थी यति बेला घर फर्केकी छन् । उनि भन्छीन्–‘शहर बजारमा कोरोना भाईरस सर्ने डरले बुटवलबाट झिटी झाम्टा बोकेर घर आएकी छु ।’ उनले सुख–सयलका लागि मात्र शहर बजार हुने, दुख कष्ट र केहि संकट आए गाउँ घर नै प्यारो हुने बताउछिन् ।

लामो समयदेखि भैरहवामा बस्दै आएकी ईस्माकी दिपा बिकको परिवार पनि त्यहाँबाट घरतिर आउन लागेको बताईन । भैरहवा मै पढ्न बसेका अजय सुनार पनि त्यहाँबाट घर आउँदै छन् । काठमाण्डौं लगायतका ठुला शहरबाट मात्र होईन यति बेला प्रदेश ५ का १२ जिल्लाका सदरमुकाममा समेत मानिसको चहल पहल घट्दो छ ।
गुल्मीको उर्लेनीमा चेक पोष्ट राखेको सशस्त्र प्रहरी गुल्मको पछिल्लो एक हप्ताको तत्थ्याङक अनुसार बुटवलबाट पाल्पा हुदैं यो सातामात्रै ५ हजार ३२ जना मानिसहरु सदरमुकाम तम्घास उत्रिएका छन् । त्यस गुल्मीका गुल्मपति डिएसपी विनोदराज खनालले चैत्र ४ गते देखि चैत्र १० गतेसम्म उक्त संख्यामा तम्घासमा मानिसहरु भित्रिएको बताउछन् ।

तम्घास आएका मानिसहरु जिल्लाका १२ वटा स्थानीय तह मध्ये जम्मा ५ स्थानीय तहका मात्रै हुन् । सशस्त्र प्रहरीको आँकडालाई अध्ययन गर्दा पछिल्लो एक हप्तामा झण्डै १५ हजार गुल्मेलीहरु गाउँ फर्किएका छन् । डिएसपी खनालका अनुसार सदरमुकाम तम्घासको यातायातका साधन चढेर पाल्पा बुटवल तर्फ जानेको संख्या पछिल्लो एक हप्तामा जम्मा २ हजार ८ सय ९२ जना रहेको छ ।
जुन विगतको तुलनामा निकै कम हो । गुल्मीको साविक २ नम्वर क्षेत्रका मानिसहरु रिडी हुँदै यात्रा गर्छन् । साविक क्षेत्र नम्वर २ को रिडी देखि रेसुङ्घा नगरपालिका वडा नम्वर ३ सम्म मात्रै यात्रा गर्दछन् ।
यसरी मानिसहरु बिशेष जरुरी काम बाहेक ठुला शहर बजारमा हिड्न छाडेका छन् भने ठुला शहर छाडेर धमाधम आ–आफ्नो घर–गाउँतिर फर्किरहेका छन् । गाउँ घरको कोदो मकैको घान, दुध मोही र गाउँकै तरकारी लगायतको उब्जेनी र त्यहाँको बातबरणले ‘एम्युनिटी पावर’ बढ्ने जनबिश्वास रहदैं आएको छ ।

गाउँ अर्थात् प्रतिरक्षा शक्तिको भण्डार

ग्रामिण भेगका बुढा पाकाहरुलाई हेर्ने हो भने पनि पहाडी खानामा साँच्ची नै ‘ईम्युनिटी पावर’ हुँदो रहेछ कि भन्ने लाग्छ । ८५ देखि ९० बर्ष सम्मका बृद्धहरुले समेत अझै घरको हलो थामेका छन् । त्यही उमेरका बृद्धा महिलाहरुले समेत घरको चुलो–चौकस चलाएका छन् ।

अझ रोचक उदाहरण के छ भने मुसिकोट चुँदरीगाउँकी ८८ बर्षीया पुर्णकुमारी सुनार अझै घाँस काट्न जान्छिन् । युवाहरुले झै टन्न खान्छीन् । उनकी नातिनी शुसिला सुनार भन्छिनु, ‘हजुर आमाको त्यो उमेर सम्मको निरोगी शरिर देख्दा हामी दङ्ग पर्छौं, खान पनि राम्रै खानु हुन्छ, भित्र बाहिरको काम पनि गर्नु हुन्छ ।’ उनि भन्छीन् ।

पहाडी खानपीन र वातावरणमा दम छ भन्ने कुरा धुर्कोट वस्तुकी १ सय ३ बर्षीया बृद्धा अम्विका सुनारलाई हेरे पनि पुग्छ । त्यो उमेरमा करिव २० मिनेटको उकालो हिडेर धुर्कोट गाउँपालिकाले स्थापना गरेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर तल झर्न सक्छिन् उनि । उनका साथ लागेर ६५ बर्षीय छोरा बलबहादुर सुनार पनि जेष्ठ नागरिकको हैसियतले त्यस केन्द्रमा आउँछन । छोरा बलबहादुर गर्वका साथ त्यो कुरा सुनाउँछन् ।

बृद्धा अम्विकाले दिवा सेवा केन्द्रमा आई फलफुल अन्य नास्ता खान्छिन र भजनमा झमेर मनोरञ्जन लिन्छिन् । उनी संगै सय बर्ष उमेर पुगेकी कालि सुनार पनि हिडेर त्यहाँ सम्म पुग्छिन् । गाउँ घरको खान पिन र हावा पानी समेत पौष्टिक भएका कारण त्यो उमेर सम्म पनि बृद्ध बृद्धाहरु निरोगी भई बाँचिरहेको ठम्याई छ त्यस दिवा सेवा केन्द्रका अध्यक्ष युवाराज भण्डारीको हो ।

त्यस केन्द्रमा ६५ देखि १ सय ३ सम्मका जेष्ठ नागरिकहरु दैनिक २५ जना भन्दा बढि आउने भएकोले कोरोनाको संक्रमण पछि बन्द गरिएको अध्यक्ष भण्डारीले बताए । त्यो उमेर सम्मका सबै जेष्ठ नागरिकहरु हृष्ठपुष्ट रहेको अध्यक्ष भण्डारी बताउँछन् ।

जिल्ला अस्पताल गुल्मीका मेसु डा. उत्तम पाच्याले पनि सामाजिक रुपमा हेर्दा पहाडको खानपिन र हावापानीले मानिसको प्रतिरक्षा शक्ति बढाएको दावी गर्छन् । चिकित्सकिय दृष्टीले त्यस्तो भन्न नमिल्ने भएपनि सामाजिकरुपमा अध्ययन गर्दा पहाडमा रहेका सय बर्ष सम्मका बृद्ध֪–बृद्धाहरु समेत हृष्टपुष्ट हुनुले पहाडको खानपिन र बातवरणमा प्रतिरक्षा शक्ति रहेको कुरा सान्दर्भिक लाग्ने उनि बताउँछन् ।

अहिले कोरोनाको महामारीको जोखिमा छ नेपाल । त्यसको अर्थ यहाँका पहाडे वस्तीमा पनि यसको जोखिम उत्तीकै छ । डाक्टर पाच्यले गुल्मीमा अहिले सम्म कतै पनि कोरोनाको लक्ष्यण भएका मानिस गुल्मीमा देखा नपरेको, सचेतनाका लागि स्वास्थ्य संस्था, प्रशासन तथा सामाजिक संघ संस्था सक्रिय रहेको बताए ।

यहाँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सदरमुकाम तम्घास लगायतका मुख्य मुख्य ब्यापारिक केन्द्रका बजारहरु बन्द गर्न लगाएको जानकारी दिए । उनले जमघट हुनबाट रोकेपनि सर्वसाधारणलाई आबश्यक औषधी, माक्स लगायतका स्वास्थ्य सामाग्री जुटाईएको बताए । जिल्लाका १२ वटै स्थानीयतहको बैठक राखेर कोरोना संक्रमण हुन नदिन त्यस्ता कदम चालिएको बताए ।