कोरोना नियन्त्रण हुनासाथ भ्रमण वर्षको निरन्तरता
लुम्बिनी संवाददाता
बुटवल
विश्वका धेरै मुलुकमा कोरोना भइरस संक्रमण फैलिएपछि नेपालको पर्यटनमा ठूलो धक्का लागेको छ । नेपाल भ्रमणको खास सिजनमै फैलिएको संक्रमणले पर्यटकीय क्षेत्रहरु सुनसान बनेका छन् ।
प्रदेशको प्रमुख गन्तव्य लुम्बिनीमा बाह्य पर्यटकको संख्या घटेको छ । अघिल्लो वर्षको तुलनामा ४ हजारले कमी आएको विकास कोषको तथ्यांक छ । हवाई रुटमा आउनेपर्यटकहरु आउन सकेका छैनन् । स्थलमार्गबाट समेत पर्यटक कम भएका छन् । भारतीय पर्यटक समेत नभित्रिएपछि पर्यटन व्यवसायमा मन्दी देखिएको छ ।
लुम्बिनीसहित आसपासका क्षेत्रमा बुकिङ गरिएका होटलसमेत धमाधम रद्ध भइरहेका छन् । पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठले होटल बुकिङ रद्ध भएको बताए । बाह्य पर्यटकको आवागमन घटेपनि भारतीय पर्यटकले केही भार थेग्ने विश्वासमा पर्यटन व्यवसायी थिए । तर भारतमै कोरोनाका बिरामी भेटिएपछि भारतीय पर्यटक समेत घट्दै गएका छन् ।
होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले वैकल्पिक उपायबाट पर्यटक भित्र्याउनुपर्ने बताउँछन् । पर्यटकीय स्थलमा आन्तरिक पर्यटक बढाउन सके पर्यटन व्यवसाय निराशामा जाने छैन । तर सरकारले नै भेला भीडभाडमा नजान निर्देशन जारी गरेपछि आन्तरिक पर्यटक समेत घुम्न निस्किन डराएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक रुपमा घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्यसहितको बैठक लुम्बिनीमा बिहीबार बसेको छ ।
बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए ।
भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए ।
भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि संक्षिप्त कुरा गर्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति सामान्य हुनासाथ निरन्तरता दिइने बताए । उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताए ।
नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराएका थिए । अध्यक्ष नेपालले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत गरेका थिए ।