पर्या–पर्यटन
यानेन्द्र जी.सी.

बुटवल । एउटा वरदान पाएको छ नेपालले– प्राकृतिक सौन्दर्य । यही प्रकृतिको अनुपम उपहारले नेपाललाई विश्वमाझ चिनाएको छ । प्रकृतिले दिएको मनोरम सौन्दर्य अवलोकन गर्न विश्वका कुनाकाप्चाबाट पर्यटक आउँछन् । नेपालमा आउने पर्यटकमध्ये अधिकांश प्रकृतिले दिएको सौन्दर्य अवलोकन गरेर रमाउँदछन् । र, यसमध्ये धेरैजसो राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा रमाउने गर्दछन् । नेपाल यस्तो देश हो जहाँ विश्वमा लोप हुँदै गएको पाटे बाघ समेत छ ।
जैविक विविधताको खानीको रूपमा परिचित हाम्रा संरक्षित क्षेत्रहरूमा गैंडा होस् या आफ्नै तालमा नाच्ने मयुर, पर्यटकलाई आकर्षित गराइरहेका छन् । संघीय सरकारले सन् २०२०लाई नेपाल भ्रमण वर्षका रूपमा र प्रदेश नं. ५ ले लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहँदा पर्यटकीय गन्तव्यहरूप्रति पर्यटकको चासो स्वाभाविक ढंगले बढेको छ । पर्यापर्यटन शब्दले सामान्य अर्थमा प्रकृतिको काखमा प्राकृतिक तवरले प्रकृतिका जैविक तथा अजैविक तत्वहरूसँग सन्निकट रहेर मौलिक हिसाबले गरिने घुमफिर तथा नवीन अनुभवहरूको समिश्रण भन्ने बुझिन्छ । जहाँ प्रकृतिको दिगो संरक्षण तथा सदुपयोग दुवैमा उत्तरदायी र सहयोगी रहने पर्यटन गतिविधिहरू समेटिएका हुन्छन् ।
पर्यापर्यटनका लागि मूलतः वनावटीभन्दा पनि मौलिक पर्यावरणसहितको खास प्राकृतिक क्षेत्र आवश्यक पर्दछ । नेपालमा प्रशस्त मात्रामा प्राकृतिक, सामाजिक, सांस्कृतिक, प्राचीन, पुरातात्विक, ऐतिहासिक तथा मौलिक धरोहरहरू प्रशस्त मात्रामा छन् । पर्यटन आफैमा वृहत् छ । यसका धेरै आयामहरू छन् । सेवामूलक उद्यमको रूपमा रहेको पर्यटन पर्यावरणलाई खलल नपर्ने गरी सञ्चालन गर्नुपर्दछ । यसमा धुुवाँधुलो, जैविक विविधता नष्ट, प्राकृतिक स्रोतको दोहन, वनजंगल फडानी आदिलाई निषेध गरिएको हुन्छ । सारमा विनासविहीन पर्यटन नै पर्यापर्यटन हो । नेपालमा पर्यटनको क्षेत्रमा सबैभन्दा बढी सम्भावना छ भने त्यो पर्यापर्यटन नै हो । नेपालमा असंख्य नदीनाला, सिमसार क्षेत्र, ताल तलैया, हिमाली, श्रृंखला, सांस्कृतिक धरोहरहरू, पहाड, लेकबेसी, मैदान, झरना, वनस्पति उद्यानहरू, चिडिया खाना, संरक्षित क्षेत्र, स्थानीय कला सीप इत्यादि पर्यापर्यटनका लागि सबैभन्दा उर्जावान क्षेत्र हुन् । र, यसमा पनि राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र विशेष पर्यापर्यटनका गन्तव्य हुन् ।
नेपालको पर्यटनको मूल आधार प्रकृति प्रदत्त अथाह सम्पदा र त्यसैको आधारमा निर्मित मौलिक कला, संस्कृतिक र सीपहरू नै हुन् । सरकारले पहिचान गरेका ४ सय १४ वटा हिमाल र त्यसमा आठ हजार मिटर अग्ला १४ वटा हिमाल नेपालमा पर्दछन् । नेपालको प्रदेश ५ विश्व सम्पदामा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित ऐतिहासिक क्षेत्र रहेको मिनी नेपालको स्वरूपमा रहेको छ । यहाँ समथर तराईदेखि हिमालसम्मको भू–भाग छ । यस प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका जंगली जनावरहरू समेत रहेका छन् ।
बौद्ध जन्मस्थल लुम्बिनी रूपन्देहीमा रहेको ऐतिहासिक पर्यटकीय गन्तव्य हो । लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको पावन र तपोभूमि समेत हो । लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरू रहेका छन् । बुद्ध हुर्केको तिलौराकोट, मावली देवदह, अस्तधातु रहेको रामग्राम पर्यटनका महत्वपूर्ण गन्तव्य हुुन् । यस्तै क्रकुच्छन्द बुद्धको नगरी गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अध्ययन र अनुसन्धान गरेर पर्यटकलाई आकर्षण गर्न सक्ने थप ठाउँहरू हुन् ।
यस्तै मानव पूर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जितगढी पर्यटकका आकर्षक गन्तव्यमा पर्दछन् ।
पर्यटकका लागि लोभलाग्दो अर्काे गन्तव्य पाल्पाको रानी महल हो । लोभलाग्दो पाखा पखेरा तथा छहराहरूको बीचमा रहेको रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा निर्माण भएको छ । यसलाई ताजमहलको रूपमा समेत चिनिन्छ । जंगली जनावरको अवलोेकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि बर्दियाको ठाकुरद्वार महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा यो पर्यटकीय गन्तव्य बनेको छ । ठाकुरद्वारमा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावरहरू समेत पाइने गर्दछन् । स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि घुमफिर गर्न यस ठाउँ महत्वपूर्ण गन्तव्य मानिन्छ ।
यस्तै कपिलवस्तुको जगदीशपुर ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एशियाकै मानव निर्मित ताल मध्येको ठूलो ताल हो । निग्हिवामा रहेको तालमा १२८ भन्दा बढी प्रजातिका चराचुरूङ्गी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरहरूको बसोबास रहेको छ । हरेक जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने चरा गर्मी महिना सुरु भएसँगै फर्कने गर्दछन् । विश्व सम्पदामा सूचीकृत तालमा हिउँदमा साइबेरिया, रूस, चीन, मंगोलिया तथा मध्य एशियाबाट समेत चराहरू आउने गर्दछन् ।
गुल्मीको रेसुङ्गा पर्यटकको लागि अर्को आर्कषक गन्तव्य हो । सदरमुकाम तम्घासदेखि छ किलो मिटर उकालो दुरी पार गरेपछि रेसुङ्गा क्षेत्रमा पुग्न सकिन्छ । त्यहाँबाट विभिन्न हिमश्रृंखला, ताल तलैयाका अतिरिक्त तराईको समथरभूमिको समेत दृश्यावलोकन गर्न सकिन्छ । रेसुङ्गा आफैमा सुन्दर र अनुपम छ ।
पूर्वी रूकुमको पुथा हिमालदेखि बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कृष्णसार संरक्षित क्षेत्र र विभिन्न तालतलैया एवं जंगली जनावरहरू पर्यटकका लागि बसाइँ लम्ब्याउने गन्तव्यहरू हुन् । यसका अतिरिक्त प्यूठानको स्वर्गद्वारी पाँच नम्बर प्रदेशकै प्रसिद्ध धार्मिकस्थल हो । यस्तै अर्घाखाँचीको पाणिनी तपोभूमि, सुपादेराउली, दाङको महत्वपूूर्ण स्थल रिहार, पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालय, नारायणी नदीकोे त्रिवेणीधाम, दाउन्नेदेवी, रोल्पामा जलजला, दाङमा बाह्र कुने दह आदि पर्यटक लोभ्याउने ठाउँका रूपमा रहेका छन् । गुल्मीमा प्राकृतिक सौन्दर्यले महत्व बोकेको मदाने लेक, टिमुरे लेक, कङ्के देउराली, परासी (नवलपरासी सुस्ता पूर्व) रामग्राम, रूपन्देहीको लुम्बिनीमा पाइने निलगाई, सारसलगायतका चराचुरूङ्गी, रूकुम पूर्वमा सिस्ने हिमाल, सुनपोखरी, कमलदह जस्ता पर्यटकीय एवं रमणीय स्थल प्रदेश ५ मा पर्दछन् ।
रोल्पामा जलजला वरपर फुल्ने अनेकन थरिका सुन्दर फूलहरू, नजिकै देखिने हिमश्रृंखला, प्यूठानको झिम्रुक नदीको मुहान गौमुखी, विभिन्न कोटहरू पर्यटकीय गन्तव्य हुन् । दाङमा पुरन्धाराको छहरा, बाह्र कुने दह, चमेरे गुफा समेत पर्यटकका लागि आकर्षण गर्न सक्ने ठाउँ रहेका छन् । र, खासगरी जनयुद्ध प्रारम्भ भएका रोल्पा, रूकुमका गाउँहरू युद्ध पर्यटनका महत्वपूर्ण ठाउँ बन्न सक्छन् । यसका लागि राज्यले स्थानीय जनतासँग मिलेर ती ठाउँहरूको प्रवद्र्धनमा टेवा पु¥याउन आवश्यक छ ।
वास्तवमा हिमाल, पहाड, तराई र भित्री मधेस मिश्रित प्रदेश ५ मिनी नेपालको रूपमा प्रमुख पर्यटकीय स्थलहरू रहेको प्रदेश हो । यस प्रदेशमा जातीय विविधता छ । सम्पदा पनि यहाँ पर्याप्त छ । महाभारत क्षेत्रमा खनिज पर्याप्त छ । पहाडी भू–वनोट र पहाडभित्रको खानी यस प्रदेशको सम्पत्ति हो । बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक अवस्थिति पर्यटन विकासको अर्काे आधार हो । आधुनिक दुनियाँमा कल्चरल हेरिटेजलाई पर्यटनको आधारको रूपमा लिने गरिन्छ । लुम्बिनी, कपिलवस्तु र बुद्धको एक मात्र अस्तधातु रहेको स्तुपा रामग्राममा छ । दुई राष्ट्रिय निकुञ्ज बर्दिया, बाँके यो पर्यटनको अर्काे महत्वपूर्ण आधार हो । नेपालकै चर्चित ढोरपाटन शिकार आरक्षणको ठूलो भाग पनि यस प्रदेशमा अवस्थित छ ।
संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने क्रममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटक भित्रिनु भनेको मानिस आउने जाने संख्या मात्र बढ्नु होइन, आयस्तरमा समेत वृद्धि हुनु हो, रोजगारीमा विस्तार हुनु हो । यद्यपि पर्यटकको संख्याभन्दा पनि गुणस्तरीय पर्यटन महत्वपूर्ण कुरा हो । हामीसंग अथाह पर्यटकीय गन्तव्यहरू छन् । पर्यटकीय क्षेत्रहरू छन् भनेर पर्यटक यसै आउँदैनन्, जसका लागि गन्तव्य सुधार गर्नुपर्छ । नयाँ–नयाँ गन्तव्यको पहिचान गरेर प्रचारमा लैजानु पर्छ । घुम्न आउने पर्यटकका लागि हवाई उडान सहज बनाइनुपर्छ । पर्यटकको सुरक्षा र होटल सुविधा हुनुपर्छ । सँगसँगै दक्ष गाइडको व्यवस्था गरिनुपर्छ । नेपाल विश्वभरका पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हुने कुरामा दुईमत छैन, तर हामीले पर्यटकको स्वागत र सम्मानमा भने मनफुकाएर अंगालो मार्नै पर्छ ।