प्रदीप आचार्य

सन् १९५४ मा बर्मामा भएको तृतीय अन्तर्राष्ट्रिय विश्व बौद्ध भातृत्व संघको चौथो सम्मेलनभन्दा अगाडिसम्म लुम्बिनीको विकासमा राष्ट्रिय चासो खासै थिएन । बर्मामा सम्पन्न उक्त सम्मेलनमा तत्कालिन राजा स्व. त्रिभुवनको प्रस्तावमा विश्व भातृत्व संघको चौथो सम्मेलन नेपालमा गर्ने प्रस्ताव स्वीकृत भएपछि मात्र लुम्बिनीको विकासमा राज्यले चासो देखाउन थालेको थियो । राजा त्रिभुवनले २००८ सालमा लुम्बिनीको विकास गर्ने अभिप्रायले चार सदस्यीय लुम्बिनी प्रबन्धक समिति गठन गरेका थिए । पछि उक्त समितिमा दुई जना सदस्य थपेर छ सदस्यीय बनाएर लुम्बिनीको विकास र संरक्षण गर्ने अभियान सुरु गरेका थिए । २०१३ साल बैशाखमा विश्व भातृत्व संघको चौथो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने निश्चित भएपछि तत्कालिन राजा महेन्द्रले लुम्बिनीस्थित मायादेवी मन्दिर, पवित्र कुण्ड र अशोक स्तम्भको हेरचाह गर्ने जिम्मा लुम्बिनी धर्मोदय समितिलाई लगाएका थिए । त्यसका साथै मायादेवी मन्दिर, पुष्करणी पोखरी सरसफाई र जिर्णोद्धार, भैरहवादेखि लुम्बिनीसम्मको सडक र एउटा धर्मशाला समेत बनाउने कामको सुरुवात भएको थियो । सन् १९ सय ५६ नोभेम्बर १५ देखि २१ सम्म भएको चौथो विश्व बौद्ध भातृत्व संघको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमण गराएपछि लुम्बिनीप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो । अन्तर्राष्ट्रियस्तरका सहभागीहरुको भ्रमणका शिलशिलामा राष्ट्रसंघका तत्कालिन महासचिव उत्थान्तले सन् १९६७ अप्रिल २३ तारिकमा लुम्बिनीको भ्रमण गरेका थिए । उनको भ्रमण लुम्बिनीको विकासका लागि कोशेढुगाँ सावित भएको थियो । महासचिव थान्तको भ्रमणपछि लुम्बिनीको विकासका लागि थप अन्तर्राष्ट्रिय चासो बढ्न थालेको हो । आफ्नो भ्रमणका क्रममा थान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने प्रस्ताव तत्कालिन राजा महेन्द्र समक्ष राखेका थिए ।

सन् १९७० मा महासचिव उथान्तले नेपालका राजदुतको अध्यक्षतामा नेपाल लगायत भारत, थाईल्याण्ड, म्यानमार, श्रीलंका, पाकिस्तान, मलेसिया, अफगानिस्तान, ईण्डोनेशिया, सिंगापुर, लाओस र जापान गरी १३ वटा राष्ट्रबाट सदस्यको रुपमा १३ वटै देशका राजदुत सम्मिलीत एक संयुक्त राष्ट्र संघस्तरीय समिति संयुक्त राष्ट्रसंघको कार्यालयमा स्थाापना गरेका थिए । उक्त समितिका साथै लुम्बिनी बृहत् गुरुयोजना तयार पार्न एक उच्चस्तरीय सल्लाहकार समिति समेत गठन गरिएको थियो । १३ वटा देश सम्मिलित उक्त अन्तर्राष्ट्रिय समितिपछि भुटान र दक्षिण कोरियाका प्रतिनिधि समाबेश भएपछि १५ सदस्यीय बनेको थियो । लुम्बिनीको विकासका लागी अगाडि सारिएको गुरुयोजना निर्माणको तयारीका लागी तत्कालीन सरकारले मन्त्रिस्तरीय लुम्बिनी विकास समिति गठन गरी सम्पूर्ण जिम्मा उक्त समितिलाई सुम्पिएको थियो । गुरुयोजनाको वास्तविक संरचना तयार पार्न विश्वविख्यात जापानिज आर्किटेक्ट प्रोफेसर केन्जो टंगेलाई जिम्मा लगाईएको थियो । बृहत् गुरुयोजनाले लुम्बिनीलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्पराहरुलाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रुपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।

विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागी आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा (तीन बर्ग माईल) जमिनलाई उद्यान क्ष्ोत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन बर्ग माईल भू–भागलाई एक– एक वर्ग माईलमा विभाजन गरी उत्तरतपर्mको एक वर्ग माईल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड (जुन बीचमा छ) एक वर्ग माईलको भू–खण्ड जसलाई शैक्षिक, संस्कृतिक तथा अन्तर्राष्ट्रिय बिहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ । बाँकी एक वर्ग माईलको दक्षिणतपर्mको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तीमा पहिलो पाईला टेकेका थिए ।

कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्रस्थलको रुपमा विकास हुने दाबी गरेको छ । यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटी सक्नेगरि करिव ६ अर्वको ग्लोबल टेण्डर आव्हान गर्ने तयारी गरेको छ । कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार ग्लोवल टेण्डर आव्हान गर्नुपूर्व त्यस्ता संरचनाहरुको योजना, डिजाइन र स्टिमेट गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्न कोषले सूचना निकालिसकेको छ । केही दिनभित्रै परामर्शदाता छनोट गरेर ग्लोवल टेण्डरमार्फत ३ वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । सबै संरचनाहरुको सुपरिवेक्षण समेत परामर्शदाताले गर्नेछ । त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । त्यसको सट्टा गुरुयोजनाको सुन्दरीकरणमा जनशक्ति परिचालन गर्ने तयारी कोषले गरेको छ । ३ वर्षभित्र गुरुयोजना पूरा हुँदा सुन्दरीकरणका काम समेत सकेर लुम्बिनीलाई संसारकै पवित्र र नमूना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए ।

नयाँ लुम्बिनीग्राम
लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्ष्ोत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन् । योजनाबद्ध रुपमा विकास भइरहेको तीन वर्ग माईलमध्येको उत्तरतर्फको एक वर्ग माईल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बृहत् गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई आवश्यक भौतिक सुविधा पु¥याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर सञ्चालनमा आइसकेका छन् यद्यपी थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । गुरु योजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो । जसमध्ये एक सय बेडको सबै सुविधायुक्त बिलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्प्रिङ् निर्माण गर्ने योजना बनाएको थियो । जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् भने क्याम्प्रिङ् निर्माणको काम बाँकी छ । गत वर्षदेखि यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भएर सञ्चालनमा छन् । यहां डोम आकारका यस्ता कूल ८ वटा भवनहरु बन्ने छन् । लुम्बिनी विकास कोषले यी भवनहरुलाई लुम्बिनीको धरोहरका रुपमा लिएको छ । बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेण्ट र रेष्टुरेण्टका लागि यस्ता भवनहरु बन्नेछन् ।

गुरुयोजना क्षेत्रभित्र ९ वटा गेटमा आधुनिक सुरक्षा पोष्टहरुको निर्माण कार्य करिव सकिएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य पनि पूरा भएको छ । न्यू लुम्बिनी भिलेज क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपानी टंकी निर्माण भइसकेको छ । ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन र विद्युतीय विस्तार, ३५ करोडकै लागतमा ढल निकासको काम सुरु भएका छन् । यी बाहेक केही ठूला पोखरी र केन्द्रीय नहरको विस्तारका काम समेत बाँकी छन् । नयाँ लुम्बिनी ग्राम क्षेत्रमा १ हजार क्षमताकोे अस्थायी सभाहल समेत निर्माण भएको छ । स्थायी सभाहल निर्माण सम्पन्न नहुँदासम्मका लागि बनाइएको यो सभाहल बुद्ध जयन्तीका अवसरमा गरिने ठूला समारोहसहितका कार्यक्रमहरुका लागि उपयोगी बनेको छ । यसै क्षेत्रमा हाइ स्कूल तथा अस्पतालको परिकल्पना समेत गुरुयोजनाले गरेको छ । हाइ स्कूलको नाममा लुम्बिनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवनहरु २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि हाइस्कुल सञ्चालन गर्ने कोषको योजना छ ।

उज्यालो लुम्बिनी
केही महिनाअघि लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विद्युतीय व्यवस्था निकै कमजोर थियो । कोषले अहिले लुम्बिनी क्षेत्रलाई उज्यालो पवित्र क्षेत्रको रुपमा विकास गरेको छ । केही थोरै काम मात्र बाँकी छन् । लुम्बिनीका सबै संरचनाहरुलाई रातिमा समेत प्रष्ट देख्न र क्यामेरामा कैद गर्न मिल्नेगरि उज्यालो बत्तीको व्यवस्था गरिएको छ । केन्द्रीय नहरको दुवैतिर फलामे पोलहरु हटाएर आकर्षक इटालिएन पोलमा विद्युत्को व्यवस्था गरिएको छ । एउटै लहरमा दुवैतिर रंगिन बत्तीहरुको व्यवस्था गर्दा केन्द्रीय नहरको पानीभित्र यी बत्तीहरुको प्रतिविम्ब सांच्चिकै मनमोहक देखिन्छ । सबै मूल सडक र सहायक सडकहरुमा बत्ती राखिदैंछ । परिक्रमा पोखरीमा रंगीन बत्तीसहितका पानीका फोहोराहरु बनाइनेछ । मायादेवी मन्दिरलाई पनि विशेष बत्तीहरुले सजाइनेछ । प्रत्येक रात अबेरसम्म र चाहानेहरुका लागि रातभर ध्यान बस्न मिल्ने गरी उज्यालोको व्यवस्था गरिने कोषले बताएको छ । यसका लागि कोषले बैकल्पिक उर्जाको रुपमा ३ सय ५० किलोवाटको सोलार प्लान्ट समेत जडान गर्दैछ ।

हरियो लुम्बिनी
बौद्ध दस्तावेजहरुमा लुम्बिनीलाई सुन्दर र मनमोहक बगैंचाको रुपमा ब्याख्या गरिएको छ । तत्कालिन महाराजा तथा महारानीहरुले समेत यो उद्यानमा पटक–पटक घुम्न आउने गरेको इतिहास लेखिएका छन् । त्यति बेलैदेखिको यो सुन्दर उद्यानमा बुद्धकालीन रुख रोप्ने अभियान लुम्बिनी विकास कोषले पटक–पटक चलाए पनि प्रभावकारी हुन सकेको छैन । जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण क्षेत्र भएकाले र गुरुयोजनाले समेत लुम्बिनी विकास कोषको ६० प्रतिसत भू–भाग हरियाली हुनुपर्ने उल्लेख गरेकाले यसलाई व्यवस्थित गर्न लुम्बिनी विकास कोषले यस वर्षदेखि बल्ल काम थालेको छ । रोपिएका रुखहरु हुर्काउन चिस्यानको आवश्यकता पर्ने भन्दै कोषले विभिन्न १० स्थानमा ठूला – ठूला पोखरीहरु निर्माण गर्न थालेको छ । पोखरीमा पानी टन्न भरेर राख्दा वरिपरिको जमिनमा रुख, बिरुवाहरु सजिलै हुर्किने र कपिलवस्तुको जगदिशपुरतालमा जस्तै पाहुना चराहरुको संख्या बढ्ने विश्वास कोषले लिएको छ । यहाँको जंगलमा फलफूलका बिरुवा रोप्ने अभियान चलाउने र त्यसरी बिरुवा रोप्न चाहाने संघसंस्थाहरुले हुर्काउनु पर्ने सर्तसहित वृक्षरोपण गर्न दिने प्रावधान बनाएर कार्यान्वयन गर्न खोजिएको छ । त्यसका लागि पहिले पोखरी निर्माणका कामलाई प्राथमिकता दिइने छ । पोखरी निर्माणसंगै यस वर्ष रोपिएका २६ सय ४२ वटा फलफूलका बिरुवा हुर्काउन विशेष जनशक्ति परिचालन गरिएको छ । जसका कारण ती बिरुवाहरु हुर्किदै गएका छन् । लोपोन्मुख पंक्षीको रुपमा रहेको सारसलगायतका २ सय ५० प्रजातिका चराहरु यहाँ पाइन्छन् । पचास प्रजातिका चराहरु विभिन्न मुलुकबाट यहाँ पाहुना बनेर आउँछन् । सयौं प्रजातिका वनस्पति, रुख तथा जडीबुटीहरु यहाँ छन् । जैविक विविधताको संरक्षण र सम्बद्र्धनका लागि प्रशस्त पानीको आवश्यकता पर्ने भएकाले तेलार र बनरहवा नदी डाइभर्सन गर्ने कार्यक्रम गुरुयोजनामा छ । तर यो काम भने बाँकी छ । यहाँ निलगाई, मृग, चितुवा, बंदेल, बांदर, ढेंडु बांदर, खरायो, लोखर्केलगायतका जीवजन्तु छन् ।

बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकीय सम्भावना
अहिले सबैतिर बृहत्तर लुम्बिनीको चर्चा छ । सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण गरेर लुम्बिनीलाई ब्यापक बनाउने अभियान थालेको छ । बुद्ध र लुम्बिनीसंग जोडिएका तिलौराकोट, रामग्राम, देवदहलगायतका क्षेत्रको अलग—अलग गुरुयोजना निर्माण गर्न ति क्षेत्रमा जग्गा अधिग्रहणको काम भइरहेको छ । अब लुम्बिनी पर्खाल भित्र रहेको लुम्बिनी गुरुयोजनामा मात्रै सिमीत रहने छैन । रुपन्देही, कपिलवस्तु र नवलपरासीका गन्तव्यहरुलाई समेटेर एकीकृत बृहत्तर लुम्बिनी निर्माण गर्न यहाँका सबै स्थानीय तहहरु समेत अग्रसर हुन जरुरी छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुनेछ । सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको संख्या १० लाख पुग्नेछ । करिव ३० लाख आन्तरिक पर्यटकले लुम्बिनी घुम्नेछन् ।

त्यसरी आउने मध्ये विदेशी ६० प्रतिशत र नेपाली ४० प्रतिशत आध्यात्मिक पर्यटक हुनेछन् । ति आध्यात्मिक पर्यटकहरुले कपिलवस्तु, देवदह र तिलौराकोट घुम्नेछन् । ती पर्यटकहरुलाई बुटवल, भैरहवा, पाल्पालगायतका क्षेत्रसंग खास चासो हुनेछैन । तर धार्मिक बाहेकका विदेशी ४ लाख र स्वदेशी १२ लाख पर्यटकहरुलाई लुम्बिनी बाहेकका अरु क्षेत्रसंग पनि चासो हुनेछ ।
त्यसैले सरकारको सन् २०२५ सम्मको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनालाई पछ्याउंदै आन्तरिक पर्यटन योजना निर्माण गर्न सक्ने हो भने बुटवल, भैरहवा, तिलोत्तमा, सैनामैना, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुका प्राकृतिक गन्तव्यहरुमा समेत पर्यटनले फड्को मार्नेछ । तत्कालका लागि पर्यटकीय नगरीको रुपमा विकास गर्न नसकिएपनि बुटवल, तिलोत्तमा र सैनामैनालाई एउटै महानगरको रुपमा विकास गरेर आगामी ५ वर्ष पर्यटन विश्राम स्थल र त्यसपछि आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रशस्त सम्भावना छन् ।
अहिले वार्षिक ४० हजारभन्दा बढी भारतीय पर्यटकले अहिले बुटवलको फुलबारी र सिद्धबाबा भ्रमण गर्न थालेका छन् । वार्षिक करिव ८ लाख आन्तरिक पर्यटकले फुलबारी घुमेका छन् । अर्को महत्वपूर्ण तथ्यांक छ की वार्षिक ५ लाख भारतीय पर्यटकहरु बेलहिया नाका हुंदै घुम्नका लागि नेपाल प्रवेश गर्छन् । ति मध्ये करिव ३ लाख पर्यटकहरु बुटवल हुंदै पोखरा घुम्न निस्किन्छन् । यो तथ्यांक वार्षिक २० प्रतिसतका दरले बढिरहेको छ ।

यसरी घुम्ने भारतीय पर्यटकहरुले पोखरामा ३ दिनसम्म बिताउने गरेका छन् । मुक्तिनाथसम्म पुग्ने पर्यटकहरुले ५ दिनसम्म पोखरामा बिताउने गरेको तथ्यांक छ । तर लुम्बिनी आउने २० प्रतिशत भारतीय पर्यटकहरुले मात्रै १ रात बिताउने गरेका छन् । बाँकी सबै उसैदिन फर्किन्छन् ।
बुटवल घुम्ने अधिकांश भारतीयहरु पनि यहां रात बिताउंदैनन् । तर नेपाल घुम्ने र रात बिताउने भारतीय पर्यटकहरुको संख्या अपत्यारिलो ढंगले बढिरहेको छ । बुटवल हुंदै पाल्पा, पोखरा जाने, बुटवलको फुलबारी र सिद्धबाबा घुम्ने तथा लुम्बिनी आउने पर्यटकहरुलाई बुटवल, तिलोत्तमा र सैनामैनाका साथै माछाको हवको रुपमा विकास हुंदै गरेको छपियासम्म घुमाउने र कम्तिमा एक रात मात्रै बास बसाउन सक्ने हो भने यहांको पर्यटनले राम्रै गती लिनसक्छ ।
त्यसो भएकाले तत्काल तेस्रो मुलुकका पर्यटहरुको अपेक्षा गर्नुभन्दा पहिला आन्तरिक र भारतीय पर्यटकहरुका लागि आवश्यक पर्यटकीय विकास गर्न जरुरी छ । त्यसपछि क्रमशः विदेशी पर्यटकले पनि बुटवल, तिलोत्तमा र सैनामैना घुम्नेछन् । सैनामैनालाई लुम्बिनीसंग जोडेर जल पर्यटनको विकास छिटो गर्न सकिन्छ । तिलोत्तमाको टाइगर रिसोर्टमा आउने भारतीय पर्यटकलाई विस्तारै शंकरनगर बनबाटिकालगायतका स्थानहरुमा घुम्ने वातावरण बनाउन रिसोर्टका सञ्चालहरुसंग मिलेर नगरपालिकाले पहल गर्नुपर्ने देखिन्छ ।

सरकारको योजनाअनुसार भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भए सन् २०२५ सम्म लुम्बिनी घुम्ने विदेशी र भारतीय पर्यटक तथा स्वदेशी पर्यटकहरुलाई बुटवल र आसपासका पर्यटकीय क्षेत्र घुमाउन यहांका नगरपालिकाहरुले तत्काल आवश्यक योजनाहरु निर्माण गर्न जरुरी छ । त्यसका लागि बुटवल, तिलोत्तमा, सैनामैना र आसपासका गाउंपालिकाले संयुक्त पर्यटन योजना निर्माण गर्न सके अझ राम्रो हुनेछ । बुटवल र यहांको पर्यटकीय सम्भावनालाई हेरेर लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास योजनाले विभिन्न खालका योजनाहरु अघि सारिसकेको छ । भइरहेका सम्पदाहरुलाई प्रचार गर्दै निर्माण गर्नुपर्ने आवश्यक पर्यटकीय पूर्वाधारहरुको विकासमा लाग्नुपर्ने सुझाव पर्यटन योजनाले दिएको छ । त्यसका लागि चारवटै नगरपालिकाहरुमा सुविधासम्पन्न होटल र सांस्कृतिक गतिविधिहरु बढाउनुपर्ने सुझाव समेत दिइएको छ ।

यसरी गर्न सकिन्छ पर्यटन प्रवद्र्धन
पर्यटन प्रवद्र्धनका लागि सम्बन्धित पर्यटकीय स्थलले ७ वटा महत्वपूर्ण काममा ध्यान दिनुपर्छ । उत्पादन, पहुंच(बाटोघाटो),खानेबस्ने व्यवस्था, मार्केटिङ्, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकास तथा सम्पदा र वातावरणको संरक्षण । यसको अर्थ पर्यटकहरुले चिनोको रुपमा किनमेल गर्ने स्थानीय आकर्षक सामग्रीहरुको उत्पादन, पर्यटकीय क्षेत्रसम्म सहजै पुग्न सक्ने सडक, हेर्ने घुम्ने र फोटो खिच्ने आकर्षक प्राकृतिक दृश्य, सम्पदा, खाने—बस्ने, किनमेल गर्ने, मनोरञ्जन गर्ने र आफै सहभागी भएर सिक्ने खालका कार्यक्रमहरु र पर्यटकहरुलाई गाइड गर्ने, पर्यटनमैत्री व्यवहार गर्ने, पर्यटकीय स्थल तथा आफ्नो ठाउंको बारेमा सूचना राख्न सक्ने पर्यटनकर्मी वा व्यवसायीहरुको उपलब्धता हो । यी विषयहरुको उपलब्धता भएका ठाउंमा पर्यटन प्रवद्र्धन गर्न सजिलो हुने विश्वास छ ।

पूर्वाधार विकासका दृष्टिले मुलुककै नमूना शहरको रुपमा परिचित हुंदै गइरहेको बुटवलले आसपासका नगरपालिकाहरुलाई समेत समेटेर यहांको पर्यटकीय विकास गर्न सकिने सम्भावना छन् । त्यसका लागि कम्तिमा पाल्पाको तिनाउ गाउंपालिका र रुपन्देहीका तिलोत्तमा र सैनामैनासंग सहकार्य गर्नुपर्ने देखिन्छ । यस क्षेत्रका पर्यटकीय स्थल र यहांको पर्यटन सम्भावनालाई ५ भागमा विभाजन गर्न सकिन्छ ।

१. आध्यात्मिक तथा शान्ति पर्यटन
आध्यात्मिक गतिविधिका लागि मात्रै पनि बुटवल र आसपासका क्षेत्रहरु सम्भावनायुक्त छन् । सैनामैनाको बोलबम धाम, बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाम, शंकरनगरको आनन्द विहार, नुवाकोटको भैरवनाथ मन्दिर, नयांगाउंको मुक्तिनाथ धामलगायतका स्थानहरुलाई आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यी क्षेत्रमा विभिन्न अवसरहरु पारेर पूजा अर्चनाका कार्यक्रमहरु बढाउन सके ठूलो संख्यामा स्वदेशी तथा भारतीय पर्यटकहरु भित्राउन सकिन्छ ।

२. साँस्कृतिक तथा सम्पदामा आधारित पर्यटन
बुद्धको मावली देवदह, मणिमुकुन्द सेन दरबार, जितगढी किल्ला, नुवाकोटगढी किल्ला, नुवाकोटको भैरव मन्दिर, सैनामैनाका प्राचीन सम्पदाहरु, रामग्राम देवदह र कपिलवस्तुका पुरातात्विक सम्पदाहरु, पहाडी जिल्लाबाट ५० वर्ष अघिसम्म नुन वोक्न आउने गोरेटोे सडक, ढाँक्रेहरुले भारी बिसाउने छहारी, चौपारी आदि ।

तिलोत्तमा र सैनामैना नगरपालिकाले शुरु गरेका होम स्टे, पाल्पाको सुकेताल होमस्टे, मगर,गुरुङ्,थारु,यादव,ब्राम्हण क्षेत्रीका संस्कृतिहरु विभिन्न शैलीबाट देखाउन सकिन्छ ।

३. प्राकृतिक र साहसिक पर्यटन
बुटवल—बेलबास—नुवाकोट हुंदै दोभान झर्ने टे«किङ् रुट, फुलबारीबाट नुवाकोट जाने ऐतिहासिक सडकको टे«किङ् रुट मात्रै होइन बुटवलबाट दोभान हुंदै वसन्तपुर सम्मको ट्रेकिङ् रुट झन् रमाइलो हुन सक्छ । नुवाकोटदेखि बल्डेङ्गढी सम्म टे«किङ्का लागि प्रदेश सरकारले गोरेटो सडक समेत बनाउंदै छ । तिनाउमा बन्जि जम्प, दोभान क्षेत्रमा साइकल राइडिङ्,चरचरेको भीरमा रक क्लाइम्विङ्, पाल्पाको बैकुण्ठे छहरामा क्यानोइङ् (पानीको छहरामा रसि छोपेर झर्नेे), नुवाकोट र वसन्तपुरबाट प्याराग्लाइडिङ्, बुटवल — नुवाकोट, बुटवल —बसन्तपुरमा केवलकार सञ्चालन, तिनाउ र रोहिणी नदीमा जलासय निर्माण गरेर जलपर्यटन गराउन सकिन्छ । गैंडहवा,गजेडी र जगदिशपुर तालमा समेत पर्यटकहरु आकर्षित हुन सक्छन् ।

४. खेलकुद तथा बजार पर्यटन
पाल्पा, भैरहवा र बुटवलका विभिन्न स्थानमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका भलिबल, फुटबल तथा क्रिकेट मैदानहरु निर्माण गर्ने, बुटवल भैरहवाका सडकमा व्यवस्थित २४ सैं घण्टा खुल्ने बजार विस्तार गर्ने । स्थानीय तथा बाह्य उत्पादनहरु बिक्री गर्ने । त्यसो हुंदा लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकहरुलाई किनमेल गर्ने महत्वपूर्ण क्षेत्रको रुपमा यसलाई विकास गर्न सकिन्छ ।

५. कृषि पर्यटन
कृषि सम्बन्धी अध्ययन र अनुसन्धानका नाममा अहिले देशैभरि कृषक समूह र सहकारीहरुको भ्रमण हुन थालेका छन् । बुटवल र आसपासका क्षेत्रमा रहेका कृषि फारम तथा कृषि क्षेत्रको अवलोकन भ्रमण गराउन र बुटवलमा बास बसाउन सकिन्छ । सूर्यपुराको व्यवसायिक कृषि, छपियाको माछा पालन, टिकुलीगढमा रहेको नमूना गाइ फारम, मधवलियास्थित अष्ट्रिच फाराम, मुर्गियास्थित बट्टाइ चरा पालन फाराम, देवदहको सरनटांडीस्थित अर्गानिक कृषि उत्पादन, दोभान र झुम्साका विभिन्न कृषि उत्पादनहरु देखाउन सकिन्छ ।

६. जलपर्यटन
रुपन्देही क्षेत्र गर्मी क्षेत्र हो । बैशाख जेष्ठमा यहांको तापक्रम ४२ डिग्री सेन्टीग्रेडसम्म पुग्छ । गर्मीका समयमा लुम्बिनी घुम्न आउने पर्यटकहरु दिनभर कोठामा सुतेर समय बिताउंछन् । त्यो समयमा उनीहरुलाई जलविहार गराउन सक्ने होटल तथा रिसोर्टहरु लुम्बिनीमा निकै थोरै छन् । अहिले सडकको सुगमताले लुम्बिनी—सैनामैनाको दूरी १५ मिनेटमै पार गर्न सकिन्छ ।
यस्तो अवस्थामा सैनामैना र बुटवल क्षेत्रमा जलासयहरुको निर्माण गरेर पर्यटकहरुलाई जलविहार गराउन सकिन्छ । जल उद्यानहरुको निर्माण गर्ने, स्वीमिङ् पुलहरु बनाउने, बोटिङ् गराउने जस्ता गतिविधि गर्मी क्षेत्रका लागि उपयुक्त हुनसक्छ ।