लुम्बिनी संवाददाता
बुटवल
पूर्वाधार विकासका लागि प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले १४ करोड रकम बाँढ्दैछ । सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका लागि अनुदान वापत ६० क्याम्पसलाई सो रकम उपलब्ध गराउन लागिएको हो । शैक्षिक गुणस्तर विकासका लागि सो रकम खर्च हुनेछ ।
अनुदानका वितरणको प्रक्रिया अन्तिम चरणमा पुराइएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आफ्नो प्रदेशभित्र रहेका ६० वटा सामुदायिक क्याम्पसको स्तरोन्नतीकालागि रकमको व्यवस्थापन गरेको जनाएको छ । ५ प्रदेश सरकारले दाङसहित विभिन्न जिल्लाका क्याम्पसको स्तरोन्नतीका लागि १३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका विभिन्न जिल्लामा रहेका क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार सहयोग कार्यक्रमअन्र्तगत क्याम्पसलाई उक्त रकम उपलब्ध गराउने भएको हो । जसमध्ये दाङमा रहेका विभिन्न क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्लामा रहेका विभिन्न सामुदायिक क्याम्पसको शैक्षिक स्तरोन्नतीका लागि प्रदेश पाँच सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा तथा सामाजिक विकास निर्देशनालयले क्याम्पसको पूर्वाधार निर्माण र स्तरोन्नतीका लागि उक्त रकम विनियोजन गरेको हो ।
सामाजिक विकास डिभिजन कार्यालय दाङले क्याम्पसको स्तरउन्नतीका लागि दाङमा पनि रकम आएको बताएको छ । कार्यालय प्रमुख माधव बञ्जाडेले दाङका विभिन्न शीर्षकमा गरेर पाँच सामुदायिक क्याम्पसका लागि रकम आएको बताए । प्रदेश ५ सरकारले जिल्लामा रहेका सामुदायिक क्याम्पसको शैक्षिक अवस्था सुधारका लागि १ करोड ४३ लाख बजेट विनियोजन गरेको छ ।
जसअन्तर्गत तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा चमेना गृह निर्माणका लागि ३० लाख बजेट विनियोजन गरेको छ । भने घोराहीमा रहेको पद्मोदय क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ । यस्तै लमही नगरपालिकामा रहेको देउखुरी बहुमुखी क्याम्पसमा ट्रष्ट निर्माणका लागि ३० लाख बजेट छुट्याएको छ ।
त्यसैगरी राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसको शौचालय मर्मतका लागि १३ लाख बजेट विनियोजन गरेको छ भने गढवा गाउँपालिकाको गढवा बुहमुखी क्याम्पसमा सूचना प्रविधि जडानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै रुपन्देही जिल्लाका १२ वटा क्याम्पसका लागि २ करोड १० लाख, कपिलवस्तु जिल्लाका ७ वटा क्याम्पसका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । नवलपरासी जिल्लामा रहेका विभिन्न ६ सामुदायिक क्याम्पसको स्तरोन्नतीका लागि १ करोड १५ लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी पाल्पाका ७ क्याम्पसकालागि १ करोड ३० लाख, गुल्मीका ६ वटा क्याम्पसका लागि १ करोड ३९ लाख, अर्घाखाँची जिल्लाका ३ क्याम्पसका लागि ९१ लाख बजेट विनियोजन गरिएको छ । यस्तै बर्दियाका ८ वटा क्याम्पसका लागि १ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ भने बाँकेका २ क्याम्पसका लागि ८० लाख बजेट विनियोज गरिएको छ ।
पूर्वी रुकुमको सिस्ने शिक्षा क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ भने प्यूठानका ४ सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड बजेट बिनियोजन गरिएको हो । सरकारले उपलब्ध गराएको अनुदान रकम तोकिएको पूर्वाधारमा मात्र खर्च गर्न पाउने गरी प्रदेशका ११ वटा जिल्लामा रहेका सामुदायिक क्याम्पसको लागि रकम व्यवस्थापन गरेको छ ।