राधिका भुसाल
प्यूठान ।
झिमरुक र माडी नदीको संगम स्थल ऐरावती धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
सरुमारानी गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकासंग जोडिएको गाउँपालिकाको नामाकरण समेत ऐरावती नै राखिएको छ । जुन गाउँपालिका मुख्य धार्मिक पर्यटकीय स्थल हो । किवदन्ती अनुसार स्वर्गबाट अप्सराहरु ऐरावती हात्तीमा सवार गरी पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि सोही हात्तीमा प्यूठानको स्वर्गद्वारीको बाटो हुँदै स्वर्ग प्रस्थान गर्ने स्थान भनेर चिनाइएको जानकारहरु बताउँछन् । सोहीअनुसार स्वर्गद्वारी र ऐरावतीको नजिकको सम्बन्ध रहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए ।
किवदन्तीअनुसार अध्यक्ष शाह भन्छ्न्–‘देवगणहरु ऐरावत हात्तीमा सवार गरी स्नान गर्न आउने र केही दिनको बसाईको क्रममा उक्त हात्ती बिरामी परि सोही स्थानमा अवसान भएपछि स्वर्ग फर्कने क्रममा स्वर्गद्वारीको बाटो हुँदै देवगणहरु स्वर्ग पुग्र्थे ।’ उक्त ठाउँ अर्घाखाँचीबाट एक व्यक्ति मोक्ष प्राप्तिका लागि आफ्ना सम्पूर्ण परिवार त्यागेर ऐरावती स्थलमा कुटी निर्माण गरी बसेको इतिहास बुढापाकाहरुबाट सुनेको उनी बताउँछन् । दुई नदीको संगमस्थल ऐरावती राप्ती नदीमा पणिरत भएको छ । उक्त स्थानमा मृत्युवरण भएको खण्ड सिद्धी प्राप्ती हुने विश्वासका साथ ति व्यक्ति नदीको किनारमा एक्लै बसेरे नदी उर्लिएर आएको बेला ‘नदी आउ मलाई बगाउ’ भन्दा समेत उर्लीएको नदीले उनलाई नछोएको किवदन्ती छ । धार्मिक पर्यटकीय स्थल ऐरावतीमा माघीको दिन मेला लाग्ने गरेको बताउँदै पुष मसान्तमा मेला भर्न आएका भक्तजनहरुले नुहाएर फर्किने गरेको अध्यक्ष शाहले बताए । सोरठी नाच, भैलो, लोकगीत, भजनक्रितन गाउने गरेको उनको भनाइ छ । सोही दिन ऐरावती नदीमा स्नान गरेमा पाप कट्टी हुने जनविश्वास रही आएको छ ।
भ्यू टावर निर्माण हुँदै
ऐरावती गाउँपलिका भित्र रहेका सुन्दर तथा मनोरम पर्यटकीय स्थलहरुमा पर्यटकको नजर पुग्न नसक्दा ओझेलमा परेका छन् । ऐरावती गाउँपालिका ३ कमिरे लेखको सुपाडाँडामा भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष शाहले बताए । ‘प्रचारले पर्यटन भिœयाउने रहेछ,’ अध्यक्ष नविलले भने–‘हिमाल, पहाडका चुचुरा, सुन्दरबस्तीहरु, प्यूठानका भूभाग अवलोकन गर्ने सकिने ठाउँमा छन् ।’ सेत्याम्य फुलेका हिमश्रृंखला, विभिन्न आकृतिमा सजिएका टापु, पहाडका चुचुरासंगै बिजुलीकोट, बरौलाकोट, लिपिकोट जस्ता पालिकै महत्वपूर्ण ठाउँहरु भ्यू टावरबाट देख्न सकिने उनले बताए । कमिरे लेकमा भ्यू टावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए । यि विभिन्न कोटहरुसंगै प्राकृतिक सौन्दर्ताले भरिपूर्ण जावुने दह कुटी लेक जस्ता ठाउँहरु अझै प्रचारमा नआएको गुनासो समेत गरे । पालिका भित्र रहेका पर्यटकीय ठाउँहरु एक पटक पुगेको पर्यटक त्यसपछि स्वत ति ठाउँले तानेर लैजाने गरेको समेत उनले बताए ।
जडीबुटी निर्यातमा अगाडि
प्यूठान जिल्लाका नौ स्थानीय तह मध्ये ऐरावती गाउँपलिका जडीबुटी निर्यातमा अगाडि रहेको अध्यक्ष शाहले जानकारी दिए । पालिका भित्र उत्पादन गरेका अम्रिसो, दालचिनी, टिमुर जस्ता बस्तुहरु निर्यात गर्दै आएकामा खुसी व्यक्त गरे । ‘पालिकाले आफ्नै नर्सरी बनाएर बिरुवा उत्पादनतर्फ लागेका छौं,’ अध्यक्ष शाहले भने–‘सुरुको वर्ष २० हजार बिरुवा उत्पादन गरी वितरण समेत गरेका छौं, यस वर्ष ४० हजार बिरुवा उत्पादन गदैछौं ।’ जडीबुटी उत्पादनमा प्रचुर सम्भावन आएको ऐरावतीमा स्थानीयहरुले चासो नदिएको समेत गुनासो पोखे । जिल्ला वनसंग समन्वय गरी वृक्षारोपण गरेको बताउँदै जलचर तथा जलीय बस्तुहरुको संरक्षणमा विशेष ध्यान दिएको बताए । मगरभाषा संरक्षणकोलागि पालिकाले तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धनसंगै ऐरावतीमा घुम्न जाने पर्यटकहरुलाई खाली हात नफर्काउने हेतुले कोशेली घर कार्यक्रमको अवधारणा अगाडि सारेको उनले सुनाए । कोशेली घरमा स्थानीयस्तरमा उत्पादित बस्तुहरु, उद्योग सामग्री राखिने छ । पालिका भित्र रहेका पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रवद्र्धन र विकासकालागि हालसम्म पालिकाले करिब २ करोड बजेट खर्चिएको छ ।