विनबहादुर कुँवर
फागुन १ नेपालका लागि कहिले पनि बिर्सनै नसकिने एउटा महान् ऐतिहासिक दिन हो । यही दिन अर्थात् २०५२ सालको फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले माओवादी जनयुद्धको पहिलो पटक थालनी गरेको थियो । सामन्य घरेलु हातहतियारको प्रयोगबाट देशका मात्र तीनवटा प्रहरी चौकीमाथि हमला गरी यसको सुरुवात भएको थियो । पछि यो एकपछि अर्काे रुपमा क्रमशः बढ्दै र हुर्कर्दैै देशव्यापी मात्रै होइन विश्वव्यापी नै बन्यो । हजारौं हजार जनसेना बने । देशको एउटा ठूलो भूभाग नै यसको आधार क्षेत्र बन्यो । एक प्रकारले देशको करिब ८० प्रतिशत भूभाग यसको कब्जामा रहयो । हजारौं सहिद भए भने हजारौं घाइते अनि सयौं बेपत्ता भए । यो देशमा लगातार १० वर्ष मात्र चलिरहयो । गाउँले शहर घेर्दै केन्द्र कब्जा गर्ने माओवादी जनयुद्धको आधारभूत नीति र सिद्धान्त माओवाद अनुरुप यसको थालनी गरिएको थियो ।
तर थालनी भएको १० वर्ष हुँदा नहुँदै अर्थात् २०६२ मंसिर ७ गते नेपालका ७ संसदीय राजनीतिक दल र नेकपा(माओवादी) बीच भएको १२ बुँदे दिल्ली समझदारी पत्रबाट यसको अन्त्य गराइयो । स्वयं यसको पार्टी नेतृत्व प्रचण्ड–बाबुराम र बादल मण्डलीद्वारा यो भयो । यो मण्डली आज यही सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राजनीतिक सत्तामा पुगी यसैको भजन–कृतन र सेवा गरिरहेको छ । के यतिको लागि मात्र यसको थालनी गरिएको थियो ? के यसैको लागि मात्र ती हजारौं सहिदहरुले बलिदान गरेका थिए ? के यसैको लागि मात्र हजारौं अपाङ्ग भएका थिए भने सयौं बेपत्ता भएका थिए ? अब अहिले पछि फक्रिएर त्यो १० वर्षे माओवादी जनयुद्धको सिद्धान्त, कार्यक्रम र लाइनलाई अध्यायन गर्दा त्यो पटक्कै होइन । त्यो त महान् गद्दारी र धोका थियो । यसैको स्मरण अर्थात् यो २५ औं वर्षे माओवादी जनयुद्धको ऐतिहासिक वर्ष गाँठको अवसरमा सर्वप्रथम यसका सम्पूर्ण वीर क्रान्तिकारी सहिदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली र लाल सलाम साथै तिनका परिवारप्रति समवेदना । त्यस्तै बेपत्ता र अंगभंग घाइते सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्न चाहन्छु ।
सर्वप्रथम यो १० वर्षे माओवादी जनयुद्ध किन र केका लागि र कुन उद्देश्यका लागि थालनी गरिएको थियो ? यसप्रति नै केही स्मरण गरौं । २०५१ सालमा सम्पन्न तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठक जुन माओवादी जनयुद्धको थालनीको लागि भएको थियो त्यसले केही राजनीतिक र सैद्धान्तिक प्रतिबद्धता जारी गरेको थियो । उक्त सात बुँदे बडो महत्वपूर्ण प्रतिबद्धताहरु मध्येको तेस्रो प्रतिबद्धता जुन यस प्रकारको थियो– ‘हाम्रो योजना सामन्तवाद र साम्राराज्यवाद ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने र त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जतिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म गर्ने उद्देश्यमा आधारित हुनेछ ।’ यो प्रतिबद्धतामा माओवादी जनयुद्धको उद्देश्य स्पष्ट छ । त्यो हो– सामन्तवाद र साम्रराज्यवाद ध्वंश र अन्त्य अनि नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवाद र साम्यवादमा पुग्ने लक्ष्य । तर अब के यो उद्देश्य पूरा भयो त अहिले ? यसको शीर्ष पंक्तिमा रहेका प्रचण्ड–बाबुराम र बादल मण्डलीमाथि यो प्रश्न तेर्याउँछौं । के हो सामन्तवाद र साम्रराज्यवाद अनि विस्तारवाद ? के हो नयाँ जनवाद र समाजवाद अनि साम्यवाद ? के एउटा एक्लो राजतन्त्रको अन्त्य हुँदा वित्तिकै सामन्तवादको अन्त्य भइहाल्छ त ? यो पटक्कै होइन । राजतन्त्र सामन्तवादको एउटा उपज हो । सामन्तवादको राजनीतिक एवं सामाजिक संरचना भन्दा आर्थिक उत्पादन सम्बन्ध र संरचना मुख्य हो । समग्र उत्पादन सम्बन्धहरु नै समाजको आर्थिक संरचनाको आधार हो । यो नै समाजको पहिलो जग हो । जसमाथि समाजको राजनीति, दार्शनिक, न्यायिक, नैतिक, कला स्वयं अरु धार्मिक एवं सांस्कृतिक चालचलन र दृष्टिकोण रहेको हुन्छ । जसलाई आद्येय पनि भनिन्छ । एकआध केही यस्ता आद्येय बदलिदैमा त्यो समग्र आधार नै बदलियो भन्नु रुपलाई मात्र हेरी सारलाई बिर्सनु हो । ठीक यहाँ अहिले त्यही भएको छ ।
राजतन्त्र हटी गणतन्त्र त आयो तर यसको आधार सामन्तवाद जस्ताको तस्तै छ । एउटा राजाका ठाउँमा सयौं भुरे टाकुरे राजदाहरु देखिदैछन् । शोषण, अन्याय, अत्याचार त्यही छ । यसरी अहिले पनि ठोकेरै के भन्न सकिन्छ भने यहाँ सामन्तवाद जमेरै बसिरहेको छ । हरेकको दिमागमा यही नै चलबलाइरहेको छ । रुपमा गणतन्त्र, जनतन्त्र अनि समाजवाद भनिए पनि सारमा सामन्तवाद नै यहाँ हावी छ । नेपालको आर्थिक र सामाजिक स्वरुप अहिले पनि अर्धसामन्ती नै छ । यो स्वरुपलाई पूर्व रुपले नबदलेसम्म न यहाँ जनवाद आउँछ न समाजवाद नै । त्यसैले माथि भनिएको सामन्तवादको अन्त्य अनि नयाँ जनवाद क्रान्ति पूरा गरी समाजवाद हुँदै साम्यवाद पुग्ने प्रतिबद्धताप्रति तत्कालीन माओवादी नेतृत्व प्रचण्ड–बाबुराम र बादलले जनताप्रति विश्वासघात गरेको प्रष्टै छ ।
त्यस्तै अर्काे प्रतिबद्धता त्यहाँ साम्रराज्यवाद र विस्तारवाद ध्वंशको पनि छ । त्यो खासगरी अमेरिकी साम्रराज्यवाद र भारतीय विस्तारवादको अन्त्य प्रति लक्षित छ । कम्युनिष्टहरु स्वतः अन्तर्राष्ट्रियवादी हुने हुनाले साम्रराज्यवाद र विस्तारवादको अन्त्य पनि विश्वव्यापी नै गरिने कुरा हो । त्यसका लागि अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्ने रअन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संचालन गर्नुपर्ने हुन्छ । तत्काल नेकपा (माओवादी) बाट त्यो सम्भव नभए पनि आफ्नै देशबाट भने त्यसको अन्त्य गरी नयाँ जनवादी राज्य सत्ता निर्माण गरी समाजवादतिर लम्कने उद्देश्य हो । त्यही भएर नै सुरुदेखि नै त्यो माओवादी जनयुद्धलाई समाप्त पार्न अमेरिकी साम्रराज्यवाद र भारतीय विस्तारवाद लागि परिरहे । शाही सेना, प्रहरीलाई तालिम दिनेदेखि सब हातहतियार उपलब्ध पनि उनीहरुबाट भयो । अन्तिममा अमेरिकाको सहयोग र समर्थनमा भारतीय विस्तारवादको प्रत्यक्ष सहभागितामा १२ बुँदे दिल्ली समझदारीद्वारा उक्त १० वर्षे माओवादी जनयुद्धको समाप्त गर्ने नै काम भयो । आखिर १० वर्षे माओवादी जनयुद्धका मुख्य नायकहरु नै त्यही अमेरिकी साम्रराज्यवाद र भारतीय विस्तारवाद अगाडि घुंडा टेकी जनयुद्धको गला आफैले रेट्ने काम गरे । संयुक्त राष्ट्रसंघीय ‘अनमिन’ बोलाई जनयुद्धका हजारौं सेना र उनीहरुका सब हतियार यही प्रतिक्रियावादी राज्य सत्तालाई सुम्पने काम गरियो । हुँदाहुँदै अहिले यिनीहरुले नै एमसीसी मार्फत् अमेरिकीहरुलाई यहाँ आउन निमन्त्रणा गरिरहेका छन् । सहयोगको नाममा अमेरिकी साम्रराज्यवाद यहाँ आई आफ्नो साम्रराज्य फैलाउँदै चीनलाई घेराहाल्ने रणनीति यिनीहरुले बनाइ दिइरहेका छन् । हो, अहिले तत्काल बर्दिधारी अमेरिकी सेना यहाँ नआए पनि विनावर्दीधारी थुप्रै अमेरिकीहरु यसबाट आउँछन् नै । पछि आवश्यक परे बर्दिधारी पनि नआउने कुरै भएन । अमेरिकीहरु जहाँ जहाँ गएका छन् त्यहाँ यस्तै सशस्त्र उत्पात मञ्चाई त्यहाँका जनतालाई दुःख सास्ती दिइरहेका छन् ।
भारतीय विस्तारवादी सेना त वर्षौदेखि नेपाली भूमिमा अड्डा नै बनाई बसिरहेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी अन्तर्गतको थुप्रै नेपाली भूभाग आफ्नो नक्सामा राखी भारतले नेपालको राष्ट्रियता र स्वाभिमानप्रति प्रत्यक्ष अतिक्रमण गरिसकेको छ । त्यस्तै भारतले नेपाली भारतीय भूपू सैनिकहरुलाई सहयोग गर्ने नाममा देशका विभिन्न भागमा भारतीय सैनिक क्याम्प बनाउने काम गरिरहेको छ । यही बुटवलमा पूर्व प्र.म. पुष्पकमल (प्रचण्ड) को निर्णय मुताविक त्यो स्थापना गर्न भारत लागिपरिहेको छ । यसरी नेपाल छिट्टै भारत र अमेरिकी सैन्य अड्डाको रुपमा बदलिने निश्चित भइसकेको छ । त्यसप्रति यो कथित वाम सरकार त्यसमा पनि १० वर्षे माओवादी जनयुद्धका मुख्य नायक प्रचण्ड अध्यक्ष बनेको पार्टीको सरकारले रमिते भई बसिरहेको छ । यसरी हिजो १० वर्षे माओवादी जनयुद्धले उठाएका यी मूल उद्देश्यहरु अहिले पनि जस्ताको तस्तै अझ झन बढ्दो रुपमा देखा पर्दैछन् । जनयुद्धका यी नायकहरुबाट नै देशको राष्ट्रियता र स्वाभिमान गुम्ने खतरा बढेर गएको छ ।
यसरी एकपछि अर्काे रुप र रंगमा त्यो १० वर्षे माओवादी जनयुद्ध छिन्नभिन्न भइसकेको छ । न त्यस्तो क्रान्तिकारी माओवादी पार्टी छ, न त्यसको सेना छ, न त्यसको सत्ता नै छ । त्यसका प्रमुख नायक प्रचण्ड–बाबुराम र बादलहरु त यही प्रतिक्रियावादी राज्य सत्ता संचालनका हर्ताकर्ता नै भइरहेका छन् । राज्यको सम्पत्ति ब्रह्मलुट गरिरहेका छन् । आफू प्रधानमन्त्री भएका बखत यस्तो गरे गराएका थुप्रै पोलहरु एक पछि अर्काे रुपमा खुल्दैछन् । डा. बाबुराम भट्टराई बालुवाटार स्थित प्रधानमन्त्री निवास अन्तर्गत रहेको ललिता निवासको जग्गा जमिन बेची खाएको आरोप बाहिर आइसकेको छ । त्यस्तै अब प्रचण्ड–बादल लगायतका यी सबै पुुराना माओवादी नेताहरुको पोल यसरी नै खुल्दै जानेछ । १० वर्षे माओवादी जनयुद्धमा भएको १७ हजार भन्दा बढी नागरिकको हत्या अन्तर्गत ५ हजारको जिम्मा प्रचण्ड आफैले लिइसकेका छन् । यसको बारेमा सदनमा समेत आवाज उठिसकेको छ । कागले आफ्नो नाम आफै बोल्छ भने जस्तै प्रचण्डले आफ्नो यो अपराधको पोल स्वयं आफैले खोलेका छन् । साम्रराज्यवादी र विस्तारवादीहरुको जतिसुकै दलाली र चाकडी गरे पनि यस्ता अपराधबाट उनीहरु कसैले पनि माफी पाउनेवाला छैनन् । उल्टो यस्तै प्रमाणका आधारमा यिनीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा समेत खडा गराइने सम्भावना बढेर गएको छ । यस्तै यिनीहरुका अपराधका कारण साम्रराज्यवादी र विस्तारवादीहरुले यहाँ आफ्नो अखडा बनाउन सफल भइरहेका छन् । उनीहरुले जे जे भन्छन् त्यही त्यही गर्नै पर्ने बाध्यतामा यिनीहरु परिरहेका छन् ।
अन्त्यमा फागुन १,१० वर्षे माओवादी जनयुद्धको पहिलो थालनीको यो ऐतिहासिक दिनको अवसरमा त्यही दिन अर्थात फागुन १ मा तत्कालीन माओवादी पार्टीले प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं भन्दै वितरण गरिएको त्यो पर्चामा उल्लेखित केही हरपमा भनिएको छ– ‘आज सामन्तवाद र साम्रराज्यवादको दलाली गरेर त्यही संशोधनवादीहरुले नै जनतालाई सबैभन्दा बढी विश्वासघात गरेका छन् । आमूल परिवर्तन र कम्युनिष्ट पार्टीप्रति जनताको आस्थामाथि गरिएको विश्वासघात र हजारौं सहिदहरुको रगतमा टेकेर प्रतिक्रियावादी कुर्सीमा जाने ती गद्दारहरुलाई नेपाली जनता र नेपालको इतिहासले कहिल्यै माफ दिने छैन ।
अहिले पनि यदि कसैले यही प्रतिक्रियावादी सत्ताभित्र सुधारवादी संघर्षमा नै सीमित रहने कुरा गर्दछ भने त्यो अर्काे गद्दारीको प्रक्रिया मात्र हुनेछ ।’ हो, यो अहिले पनि सोह्रै आना सही र सत्य छ । तर यस्तो क्रान्तिकारी विचार सहित यस्ता वाक्य र शब्द लेखन गरी वितरण गर्ने त्यही नेतृत्व मण्डलीहरु नै अहिले यस्तै बाटो लिइसकेको छ । हुनतः यो तत्कालीन पार्टी एमालेलाई भनिएको थियो । तर दुःखको कुरा आज यिनै नेता प्रचण्ड–बाबुराम र बादलहरु यही तत्कालीन एमाले पार्टीकै ओत लाग्न आइपुगेका छन् । यी उल्लेखित उनीहरुकै आफ्ना वाक्य र शब्दहरुबाट नै यिनीहरु साम्रराज्यवादी र विस्तारवादका दलाल भएका छन् । प्रतिक्रियावादी सत्ताको जुठोपुरो चाट्न पुगेका छन् । जनताको सबैभन्दा विश्वासघात गरेका छन् । हजारौं सहिदहरुको रगतमा टेकेर प्रतिक्रियाबाट कुर्सीमा पुगी गद्दार भएका छन् । अब यी गद्दारहरुलाई नेपाली जनता र नेपालको इतिहासले माफी देलानकी न देलान् ? भविष्यले बताउनेछ ।