अर्जुन ज्ञवाली
निहाओ, निहाओ
भन्दै गइयो !
से से से से
भन्दै फर्कियो !
चिनियाँ भाषामा हाम्रो नमस्तेलाई निहाओ र हाम्रा धन्यवादलाई से से भन्दा रहेछन् । गाइडले हामीलाई पहिल्यै यो सिकाएका थिए । हामी पनि निहाओ निहाओ भन्दै चिनियाँ मित्रहरुलाई नमस्ते गर्दै चीन गयौं । अनि फर्कने बेलामा से से भनेर धन्यवाद ज्ञापन गर्दै फक्र्यौ ।
पहिलो दिनः २०७६ सालको पुस ४ गते हामीहरु बालकृष्ण भट्टराई, म, ऋषि आजाद, भरत के.सी., प्रदीप आचार्य, अमृत गिरी र विष्णु घिमिरे काठमाण्डूबाट आकाशको बाटो उत्तरी छिमेकी मित्र राष्ट्र चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु सहर पुगेका थियौं । चिनियाँहरुको जुनसुकै नौलो मान्छेलाई देख्दा हाँसेर खातिर गर्ने बानी रहेछ । हामीलाई देख्ने जुनसुकैले हामीलाई निहाओ निआहो भन्दै खातिर गरे । हामीले पनि से से से से भन्दै धन्यवाद ज्ञापन ग¥यौं । हाम्रो यात्राको प्रबन्ध मिलाउने चिनियाँ मित्रमण्डलीको आतिथ्यतामा राति त्यहीं बास बस्यौं ।
दोस्रो दिनः बिहान, यस्तैै तीन बजेतिर कुखुराको भाले बासेको जस्तो आवाज आयो । हामी तीन जना बूढा बालकृष्ण दाइ, म र ऋषि भाइ त्यही आवाजमा एकै चोटि जाग्यौं । हामीकहाँ जस्तै बिहान कुखुराको भाले बासेको हो कि अरु कुनै चरो हो हामीलाई एकिन भएन । स्नान, ध्यान, सामान्य व्यायाम गरिवरि तयार भयौंं । अरु युवा साथीहरुलाई पनि उठाएर तयार पा¥यौं । तयार हुँदाहुँदै गाइड आइपुगे । यात्रा तालिकाअनुसार मंजुश्रीको मन्दिर अवलोकन गरी अरु अरु गन्तव्यतिर लाग्ने कार्यक्रम रहेछ । बिहानको नास्तापानी गरी मंजुश्रीको मन्दिरतिर लाग्यौं ।
छेन्दुमा मंजुश्रीको मन्दिर विशाल रहेछ । भव्य रहेछ । मंजुश्री मोनोस्ट्रीमा मंजुश्रीको भव्य मूर्तिको अवलोकन गरियो । हाँसिरहेको बुद्धमूर्तिको, ध्यानमग्न बुद्धका विभिन्न मूर्तिको सँगसँगै आनन्द र उनका वृद्ध शिष्यका मूर्तिहरुको दर्शन गरी श्रद्धाभाव प्रकट गरियो । मंजुश्रीको प्रतिमा÷मूर्ति र सँगसँगै हरित तारा र श्वेत ताराका मूर्ति देख्दा त्यहाँ निहित गरिमा भावले हामी नतमस्तक हुन पुगेका थियौैं ।
मंजुश्री मोनोस्ट्रीमा त्यहाँका एक जना जिम्मेवार व्यवस्थापक त्तष्लन भन्ने सिङ्लाई लुम्बिनी भ्रमण वर्षको गाइड बुक प्रदान ग¥यौं र लुम्बिनी भ्रमणका लागि निम्तो पनि दियौं । मन्दिर परिसरमा चोकै चोक छन् । मूर्तिमूर्ति छन् । पूजा छ । पाठ छ । ध्यान छ । धूपको सुगन्दै सुगन्ध छ । श्रद्धालुहरुको ठेलमठेल भीड छ । मोनोस्ट्रीको तस्वीर लिन भने निषेध रहेछ । छेउ“छाउ“तिरबाट चलाखीपूर्वक एक दुईटा फोटो क्लिक गर्ने काम साथीहरुले गरे ।
चिनियाँ यात्री ह्वेन साङ् र थाइयान नेपाल आएर बौद्ध दर्शन र संस्कृतिका प्रशस्त सामग्री संकलन गरेको हामी नेपालीलाई थाहा छ । भाषाको कठिनाइले तिनीहरुलाई आफ्ना संकलनलाई अथ्र्याउन बडो गाह्रो भयो । त्यस बखत नेपालबाट बुद्ध भद्र चीन गएर बुद्ध दर्शन र संस्कृतिको साहित्यिलाई पाल्हीबाट हिन्दी, अंग्रेजी गर्दै चिनियाँ भाषामा अनुवाद गर्ने गराउने गरेर डंकुमेन्टेशन गराएका हुन् । यो कुरा त्यहाँ गएर स्मरण गर्दा आनन्द आयो । आनन्दभित्र माया मिसिएर आयो । त्यसलाई हामीले साटासाट ग¥यौं । चिनियाँ राष्ट्रपति सि जिङ् पिङ्ले यही गएको असोज महिनामा नेपाल आउँदा एउटा प्रसङ्गमा बुद्ध भद्रको नाम लिएका छन् ।
हाम्रा गाइडमा एक जना मिस्टर शा थिए । अर्का मिस्टर थु । अझ एक जना पनि थिए । मिस्टर शा अमेरिकाको मिजौरी बसेर मास्टर डिग्री गरेका युवक रहेछन् । तिनी अंग्रेजीका जानकार अलि अलि नेपाली पनि । मिस्टर थु चिनियाँ जनमुक्ति सेनाका रिटायर्ड अफिसर रहेछन् । तिनले नेपाली अंग्रेजी कत्ति नजान्ने । कमाण्डरको व्यक्तित्व राम्रो रहेछ । जुनसुकै गाह्रो साँगुरोको दृढतापूर्वक समाधान निकाल्ने । तिनीसत निकै प्रभावित भइयो । मिस्टर शाले हामीलाई आज मंजुश्रीको मोनेस्ट्री हेर्न जाने भनेर भन्दा हामीले तिनको उच्चारण बुझ्न सकेनौं । अनि तिनले काठमाण्डु काट्ने मान्छे भनेर भने । एक छिन त बुझिएन । एक छिन पछि बुझियो अनि त हामी सबैको मुखबाट एकैचोटि हाँसोको फोहरा निस्क्यो ।
त्यसपछि छेन्दुकैः
काठमाण्डूका वसन्तपुर, इन्द्रचोक, असन, ठमेल, बनारसको ठठेरीबजार, अमेरिकाका कतिपय डाउनटाउन जस्ता ठाउँहरुको अवलोकन गरियो ।
त्यसपछि,
छेन्दुकै सिटी सेन्टर गएर म्युजियम हेरियो । अनि म्युजियम नजिकै स्थापित माओत्से तुङ्को विशालकाय प्रतिमा अवलोकन गरी साथमा तस्वीर खिच्ने काम गरियो ।
तेस्रो दिनः पाण्डाभिलेज गएर संसारमै दुर्लभ प्राणीको पाण्डाको रिसर्च सेन्टर हेरियो । सुन्दर फरेष्ट सिटीमा स्थापित पाण्डा भिलेज रमणीय गन्तव्य रहेछ ।
त्यसपछि,
जुड् याङ् याङ् गइयो । त्यहाँ हजार वर्ष अघि याङ्सी नदीको कम्मरलाई मरक्क मर्काएर बनाएको नहर हेरियो । याङ्सी नदी भनेको चीनभरि घुमिफिरी बग्ने नदी हो । चीनको सभ्यता भनेको याङ्सीको किनारबाट विकसित भएको सभ्यता हो ।
नहरको आधुनिक प्रविधि विकसित नभइसकेको समयमा पनि त्यतिखेरका एउटा साहसी राजाको अगुवाइमा त्यो नहर बनेको रहेछ । जुड्याङ्मा त्यस दिन साह्र्रै जाडो थियो । त्यसका जल तरंगका रापले मात्र टिकियो । जुड्याङ् नहर सम्पूर्ण छेन्दु सहरको सिचाई गर्ने र पानी खाने घाँटी रहेछ । त्यहाँ श्रमशिल्पीहरुको शालिक सम्मानका साथ राखिएको रहेछ । शालिक हेर्दा नतमस्तक भयौं । साँझपख गगनचुम्बी घरहरु, विशाल विशाल व्यापार केन्द्रहरु, सुन्दर पनि शान्त पनि सफा पनि चाक्ला पनि ध्वनिरहित वनकुञ्ज जस्ता पुष्पकुञ्ज जस्ता सडक उद्यानबाट थापु सिटीलाई आँखाले भ्याएसम्म स्पर्श गर्दै त्यहीं बास बस्यौं ।
चौथो दिनः थापु सिटीबाट हामी चोङ्छिङ् भन्ने सिटीतर्फ लाग्यौं । त्यो सिटी बेइजिङ, सांघाइ जस्ता पाँटवटा केन्द्र शासित प्रदेश मध्ये एउटा प्रदेशमा पर्ने अत्यन्त विकसित आर्थिक केन्द्र रहेछ । प्रतिघण्टा पाँच सयदेखि छ सय किलोमिटरको उच्च गतिमा चल्ने अत्याधुनिक बिजुली रेलबाट याङ्दी रिभरको वरिपरिका कृषि गाउँहरु तथा उद्योग गाउँहरु हेर्दै हामी त्यहाँ पुगेका थियौं । चेङछिङ् पुगेपछि हामी सिटीको मध्यभागमा अवस्थित थोङ्सी पुग्यौं ।
थोङ्सी याङ्सी र अर्काे एउटा नदीको दोभान रहेछ । झमक्क साँझ पर्न लागेको थियो । बिजुलीको झिलीमिलीमा झलमल्ल मन्द मन्द गतिमा चलायमान त्यो जलसंगम कवि –हृदयका कुनै प्रकृति –पुरुषको चित्रमा तथा कवितामा, चित्रशब्द तथा शब्द चित्र बन्न सके बन्ला । हामी जस्ता काम चलाउ मनुवाले आफ्नो कलममा उतार्ने भन्ने कुरा त सम्भवै छैन । साथीहरुले खूब फोटो खिचे । त्यहाँ फोटो खिच्दा र खिचाउँदा थकाइ पनि लाग्यो । फोटा त खिचियो, के गर्नु सबै निर्जीव । एउटा पनि सजीव फोटो खिच्न सकिएन । दोभान मा…….थि आकाशमा एउटा पुल रहेछ । त्यसलाई अड्याउने कतै कुनै पिलर छैन । कुुनै बेलुनको पुल पनि होइन, धातुकै पुल हो । हेरिरहेका छौं । लामो रेल गुडेर गयो । त्यो पुल कसरी बन्यो, त्यहाँबाट उच्च गतिको बिजुलीबाट चल्ने रेल कसरी चल्यो । उत्तर दिने कोही थिएन । उत्तर पाए पनि बुझ्न सकिने भएन । वाल्ल परेर हेरेको हे¥यै भइयो । त्यस ब्रिजलाई लण्डन वृज भन्दा रहेछन् । थकाइ लागिसकेको थियो । बजारको केन्द्र भागमा माओत्से तुङ्का साथीहरुले चीनमा जनक्रान्ति सम्पन्न भएपछि गणतन्त्र चीन घोषणा गरेको ऐतिहासिक स्थल रहेछ । त्यहाँ एउटा स्मारक पनि बनाइएको रहेछ । त्यसलाई हेरी त्यहीं एउटा फोटो क्लिक गरेर राति त्यही शहरमा बास बस्यौं ।
पाँचौं दिनः अलिकति मोनोरेल चढेर सिटीको भव्यता, सुन्दरता र सभ्यताको मिहिन अवलोकन ग¥यौं । अलि कति मेट्रो बस चढेर पनि हे¥यौंं । सिटी चीनकै औंलामा गनिने आर्थिक केन्द्र । विशाल विशाल व्यापार केन्द्र छन् । उत्पादक, क्रेता, बिक्रेता, व्यवस्थापकहरुको पर्याप्त गतिविधि छ । पर्यटकहरुका लागि पर्याप्त गन्तव्य छन् । पर्याप्त सुविधा सम्पन्न होटलहरु छन् । बजारमा मान्छे कीरा झैं छन् । तर हल्ला खल्ला कहीं छैन । बजारमा कहीं कतै, बिजुली तथा टेलिफोनमा तार देखिदैनन् । पानी तथा ग्यासका पाइप पनि यत्र तत्र छरपष्ट छैनन् । अचम्मै छ । सहरमा कलकारखानाको धुँवा, ध्वनि कही छैन । कलकारखानाहरु कुनै पनि प्रदूषण फैलाउन नपाउने गरी अछट्टै, प्रदूषणलाई आफै ट्टिमेन्ट गर्ने गरी दूरदराजमा व्यवस्थित गरिएका छन् ।
भन्दा भयो– रेलबाट हेर्दै आएका, मोनो रेल र मेट्रो बसबाट पनि देखिएका आधुनिक कृषि गाउँ, कृषि फारम, उद्योग भवन, सडक, कलाकृति, मान्छेको अनुहार लगायत सम्पूर्ण संरचनालाई आंकलन गर्दा चेङ्छिङ् सिटी साँच्चिकै चीनको एउटा महत्वपूर्ण आर्थिक सभ्यताको केन्द्र रहेछ ।
तेस्रो प्रहरमा हिजो जस्तै उद्योग गाउँ, कृषि गाउँ हेर्दै ठूलो रेलबाटै थापु आइयो । त्यसपछि मेट्रो बसबाट झिली मिली थापु सिटीलाई हेर्दै रमाउँदै हिजोकै ठाउँमा बास बस्न आइयो ।
छैठौं दिनः थापुबाट छेन्दुको सबभन्दा पुरानो गाउँ वाङ्लोङ् गइयो । पुरानो बुटवल जस्तोे त्यो गाउँ पाँच छ सय वर्ष पुरानो गाउँ रहेछ । जुड्याङबाट ल्याइएको ससानो नहरको किनारमा विकसित सभ्यताको द्योतक त्यो गाउँ पर्यटकीय स्थलको रुपमा विकास गरिएको रमणीय पर्यटक गन्तव्य रहेछ । पुरानो रुपलाई सकेसम्म जोगाई जोगाई विकास गरिएको त्यो ठाउँ अत्यन्त रमणीय छ । सुदूर अतीतलाई झल्काउने त्यस ठाउँलाई हेर्न आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो नै लाग्ने रहेछ । केही चिनियाँहरुले हाम्रो रुप रंग देखेर हामीलाई हिमालयको देशका मान्छे, बुद्धको देशका मान्छे भनेर चिने । हामीसित रमाई रमाई फोटो खिंचे । उनीहरु नेपाललाई नेपोल भन्दा रहेछन् । लुम्बिनीलाई लुम्बानी लुम्बेनी यस्तै यस्तै भन्दा रहेछन् । हिमालयको देश भनेर बढी चिन्दा रहेछन् । मुकुट लगाएर पुराना पोशाक लगाएर, जोईपोइ भएर विहामा लगाउने लुगा लगाएर फोटा खिचाउने र अरुहरुसित पनि फोटा खिचाउने चलन रहेछ । सबैका आआफ्ना काम छन्् । कुटीर उद्योग छन् । कोही चक्लेट बनाइरहेछन् । कोही चाउचाउका ताना बनाइरहेकाछन् । कोही तरकारी केलाइरहेका छन् । कोही कन्दमूल फोकिरहेका छन् । कोही गग“टा, भ्यागुता, विच्छी, कछुवा, छिलेर काटकुट गरी धोइपखाली तयार गरिरहेका छन् । पुराना बाजागाजा छन् । नाचगान छ । चमेना गृहमा खाने र बेच्नेको लाम छ । भ्याइ नभ्याइ छ ।
कन्कर्नाे लिएर कान सफा गर्ने चलन त्यहाँको परिचय नै रहेछ । त्यहाँ मैले मेरो बल्कोको पौवा देखें । साथीहरु कसैले रानीघाटको रानी महल देखें । कसैले सुपा देउराली देखे । यस्तै यस्तै कसैले भैरहवाको पुरानो भैैरहवा गाउँ देखे । हाम्रा साथीहरुले आआफ्ना दशैं घर देखें । कुडुले घर देखे । त्यसपछि अलि वर विशाल ग्लोबल मल तथा वाटर पार्क हेरेर बासमा फर्कियौं । त्यो ग्लोबल सेन्टर एशियामा सबभन्दा ठूलो व्यापारिक केन्द्र रहेछ । अन्तर्राष्ट्रिय ब्राण्डका माल सामान बिक्री गर्ने त्यो सेन्टर भीमकाय, सुन्दर र अत्याधुनिक प्रविधिले बनेको गगनचुम्बी छ ।
सातौैं दिनः आज छेन्दुको व्यस्त बजारमा बजार गरियो । तलै तलाका विशालकाय मल, व्यापार केन्द्रहरुमा रेडीमेट पोशाकको बजार गर्ने काम गरियो । बजार महंगो पाइयो । अलि कति मोलमोलाइको चलन पनि रहेछ । साथीहरुले राम्रै बजार गर्नु भयो । म खड्जुरोको विरामी । अहिलेको बुझ्ने भाषामा युरिक एसिड । खुट्टाले साथ दिएन । साथीहरुको सामान कुरेर बस्ने काम गरें । बजारलाई हेर्दा चीनले आफ्नो बजारलाई थरिथरिका रंगीविरंगी फेन्सी सामानको आपूर्ति दिएको रहेछ । माओका पाला एउटै रंगका जीनका कपडा लाएर विकासको जग खन्ने चिनियाँहरु तेङ सिआओ पिङ् हुँदै सि जिङ् पिङ् सम्म आइपुग्दा फेन्सी कपडा लाउने भएछन् । मसिना कपडा लगाएर सुन्दर मात्र भएनछन् । सन्तुलित आहार पुगेर हृष्टपुष्ट पनि भएछन् । सन् १९४९ मा मेहनतकश जनताको देश बनेको चीन २०२० मा आइपुग्दा जम्मा ७१ वर्षको अवधिमा जादू नै भएछ । काया पलट भएछ ।
किनमेलपछि एउटा भेजेटेरियन गार्डेनमा टेबुलमा जडित बिजुलीका चुल्हामा आआफै पकाएर शाहाकारी भोजन गरियो । दिन सकियो ।
आठौं दिनः छेन्दुकै विमान स्थलबाट जाँदाखेरिकै चाइना एयर विमानबाट काठमाण्डौं फक्र्यौ । यसरी २०४६ पुस ४ गतेदेखि पुस ११ सम्म तदनुसार २०१९ डिसेम्बर २० देखि २७ तारिख सम्मको चीन यात्रा सम्पन्न भयो ।
निहाओ निहाओ
भन्दै गइयो ।
से से से से
भन्दै फर्कियो ।
गइयो । फलानो फलानो ठाउँ हेरियो । घुमियो । रमाइयो, आइयो । यस्तो कुरा सामान्य कुरा हो । ती ती ठाउँ हेर्दा, घुम्दा, त्यहाँ जाँदा त्यसमा कस्तो अनुभव भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । छेन्दु सिटी, मंजुश्रीको मोनेस्ट्री, छेन्दुको म्युजियम, पाण्डा गाउँ, जुड्याङको नहर, चेङ्सिङको आर्थिक केन्द्र, थापुको वाङ्लोङ् तथा ग्लोबल सेन्टरले नेपाल र नेपालीलाई हामीसित केही सन्देश पठाएका छन् । कस्ता शब्दमा, के कस्ता बाणीमा, के कस्ता मुद्रामा, के कस्ता अभिनयमा, के कस्ता सन्देश पठाएका छन् भन्ने कुरा महत्वपूर्ण छ । म पत्रकारिताको एउटा विद्यार्थी हुँ । विद्यार्थीको धर्म पालन गर्ने क्रममा यी कुराहरुलाई लिपिबद्ध गर्दै छापा, अनलाइन तथा रेडियोबाट थाहा गर्नु मेरो धर्म हो । त्यसै अन्तर्गत यो सुरुवात हो । पछि भिन्न भिन्न शीर्षकमा यो धर्म पालन गर्ने प्रतिबद्धता गर्दै अहिलेलाई यत्ति ।