लालपूर्जा, सिफारिस नक्कली बनाएर गरियो हुँदै नभएको व्यक्तिको नाममा जग्गा पास
नरेश के.सी.
भैरहवा
रूपन्देहीको सियारीका दयानाथ गौंड परिवारको जग्गा अर्कैको नाममा पास भएको छ । जग्गाधनीले पत्तो समेत नपाई दुई विगाह जमिन अर्कैैको नाममा पास भएको हो ।
जग्गा अर्कैको नाममा पास भएपछि उनले अदालती गुहार थालेका छन् । मालपोतका कर्मचारी र तेस्रो व्यक्तिको मिलेमतोमा जग्गा नामसारी भएको उनले बताए । नक्कली पुर्जा बनाएर नामसारी गरिएको भन्दै उनले न्यायका लागि अदालतमा मुद्दा दायर गरेका छन् ।
‘म चौसठ्ठी वर्षको भए । सक्कली लालपुर्जा हामीसंगै छ । हामीले नै मालपोत तिरीरहेका छौं । हाम्रो पुख्र्यौली सम्पत्ति अरु कसैले कसरी किनबेच गर्न सक्छ ?, बेथरीमा ३८ वर्षदेखि गौंड मेडिकल सञ्चालन गर्दै आएका गौंडले भने । आफ्नो भाई बेलर कहारको नाममा रहेको जग्गा गएको भदौं १९ गते अर्कैको नाममा नामसारी भएको थाहा पाएपछि पुख्र्यौली सम्पत्तिको रक्षाकोलागि अड्डा अदालत धाईरहेका छन् ।
‘मेरा बाजे कुबेर गौंड कहारको पालादेखि भोगचलन गर्दै आएको उक्त सम्पत्ति ०२८ सालमा पनि हाम्रो नाममा लालफारम रहेको छ । मेरो माईलो बुबा साधुंको छोरा बेलर कहारको नाममा रहेको उक्त जमिन अहिले बेलरको भाइ बुद्धिराम कहारमार्फत किनबेच भएको देखिएको छ । साधु कहारको एक मात्र छोरा बेलर हुन् । बेलरको २०६६ सालमा मृत्यु भईसकेको छ । उनको भाइ नै छैन । नक्कली भाइ बनाएर अर्काको सम्पत्ति हडप्न पाईन्छ ।’– दयानाथले आक्रोसीत हुँदै भने ।
बेलरको श्रीमती सत्वदेवीको ०६५ सालमा देहवासन भईसकेको छ । उनीहरूबाट एकमात्र छोरी सञ्जु कहारको जन्म भएको थियो ।
‘मेरो बाजे साधुको एकमात्र छोरा बेलरको एक मात्र सन्तान मै हुँ । मेरो २०५५ सालमा विहे भई लुम्बिनीमा बस्दै आएकी छु । बुबा र आमा मेरो काका दयानाथ र दाई विश्वनाथप्रसाद कहारसंगै संगोलमा बस्दै आउनुभएको थियो । बुद्धिराम भन्ने हाम्रो परिवारमा कोही पनि छैन ।’– बेलरकी छोरी सञ्जु कहारले भनिन् ।
वडा कार्यालयले दिएको सिफारिसमा स्वर्गिय बेलरको भाइ बुद्धिराम कहार हुन भनि अंश नामसारीको लागि सिफारिस गरिएको छ । यसरी हँुदै नभएको व्यक्तिको नाममा सियारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामकिसन थारूले वडा कार्यालयको चलानी नम्बर १६४६ अनुसार मिति ०७६ असार १८ गते नाता प्रमाणीत गरेर दिएका छन् । उक्त नाता प्रमाणीतअनुसार भारतको गोपालपुर न्याय पञ्चायत गोरखपुरमा बस्दै आएका बुद्धिराम कहार बेलर कहारको भाइ भनि अध्यक्षले प्रमाणीत गरेको कागजलाई आधार मानिएको छ । सोही नाता प्रमाणीतको आधारमा उक्त मितिमा चारकिल्ला सिफारिस भएको र वडा कार्यालयले असार २२ गते चलानी नम्बर १६६९ अनुसार मालपोत कार्यालयलाई उक्त जग्गा बेचबिखन र नामसारी गर्दा कुनै समस्या नपर्ने व्योहोराको एक पेज लामो सिफारिस पत्र लेखेको देखिन्छ ।
वडा कार्यालयको उक्त सिफारिस पत्रको आधारमा मालपोतले ०७६ भदौं १९ गते हक हस्तान्तरणकोलागि आदेश दिएको छ । सोही १ बिघा १९ कठ्ठा ५ धुर ७ वटा कित्तामा रहेको सम्पूर्ण जग्गा ४ जनाको नाममा पास भएको २ महिना पछि थाहा पाएको स्व. बेलर कहारका नाति दिपेन्द्रकुमार गौँड(कहार)ले बताए ।
भारतको गोरखपुर जिल्लाको गोपालपुर ग्राममा बस्ने भनिएका बुद्धिराम कहार त्यहाँको बासिन्दा नभएको र उनले उक्त कार्यालयबाट ल्याएको सिफारिस समेत नक्कली भएको बुझिएको छ । गोपलापुर ग्राम प्रधान ज्ञानमति देवीले हस्त लिखितप्रमाण पत्रमा बुद्धिराम कहार कोही पनि नभएको र प्रमाण पत्र कसैलाई नदिएको बताइन । स्थानीय बासीन्दा कमलेश यादवले भने–‘यो गाउँमा कुनै पनि बुद्धिराम छैन । यो कागज सबै नक्कली हो ।’ बुद्धिरामको नामबाट सियारी गाउँपालिका वडा नं २ मा पेश भएको सन् २०१९ मे १५ तारिखको गोपालपुर ग्राम प्रधानको पत्र नै नक्कली भएको बुझिएको छ । सो सम्बन्धमा उक्त ग्रामसभाका प्रधान ज्ञानमतिले भनिन्–‘उक्त प्रमाणपत्र हामीले दिएको होइन । हाम्रो अफिसियल लेटरप्याड र बुद्धिराम कहारको नाममा बनाईएको लेटरको ढांचा नै मिल्दैन । अर्कोतिर यो गाउँमा कोही पनि बुद्धिराम भन्ने मान्छे नै छैन ।’
गोरखपुर जिल्ला ग्राम सभा गोपलापुरका स्थानीयहरूले बुद्धिराम कहार भन्ने व्यक्ति कहीँ कतै नरहेको बताएका छन् । स्थानीयबासीहरूले फोटो पनि स्थानीयरूपमा पहिचान गर्न नसकिने बताए । गोपालपुरका छिमेकी हरपुरका प्रधान बिपिन सिंहले बुद्धिराम कहार कहीँ कतै नभेटिएको बताए । बिपिन सिंह बुद्धिराम भन्ने व्यक्ति खोज्दा समेत भेटाउन नसकिएको बताउँछन् ।
यसरी भारतीय सरकारी कागजात तथा छाप नक्कल गरी साधु कहार बनेर आएका बुद्धिरामले पेश गरेको भारतीय आधार कार्ड समेत नक्कली भएको देखिएको छ । उनले पेश गरेको आधार कार्डको नम्बर २२४८१४१०२६५७ समेत नक्कली भएको देखिएको छ । उक्त कार्ड नम्बरअनुसार नौतनवा निवासी सुवहान अल्लाह देखिन्छन् ।
यसरी भारतीय ग्राम सभाको नामबाट नक्कली प्रमाण मात्रै नभएर आधार कार्ड समेत नक्कली बनाएर साधु कहारको छोरा बेलरको भाई बनेका बुद्धिराम कहाँका नागरिक हुन् भन्ने समेत कसैलाई थाहा छैन । स्रोतका अनुसार उनी ठूलो गिरोहको गोटी बनेको बुझिएको छ ।
यसरी भयो जग्गा किनबेच
साधु कहारका दुई भाई छोरा मध्ये एक बेलर र अर्को बुद्धिराम रहेको भनि सियारीकै पुरन चमार, अनिलकुमार बानियाँ, सभापति यादव, रामचन्द पाल, दीपक पथरकट्ट, शिवप्रसाद भर र अनिलप्रसाद भरको सर्जमिन मुचुल्काको आधारमा वडा कार्यालयले सिफारिस दिएको देखिएको छ । उक्त सर्जमिन ०६६ असार १६ गते भएको हो । सर्जमिनको रोहबरमा निवेदक बुद्धिराम कहार र वडा सदस्य बृजनारायण यादव रहेका छन् ।
यसरी हँुदै नभएको व्यक्तिलाई छोरा बनाईदिएर सरकारलाई समेत झुक्काएको देखिएको छ । सोही सर्जमिनको आधारमा वडा कार्यालयले सिफारिस दिएको र उक्त सिफारिसलाई आधार मानेर उक्त जग्गा नामसारी भएको देखिन्छ । पछि भदौ २७ गते उक्त जग्गा चार जनाको नाममा किनबेच भएको छ । भैरहवा मालपोत कार्यालय अगाडि काम गर्ने लेखनदास गोबिन्द मल्लाह की श्रीमती कुमारी मल्लाहको नाममा जग्गा बिक्री गरिएको पाइएको छ । ४ क कित्ता नम्बर ४० को ५ कठ्ठा १४ धुर जग्गा साविक सिपवा हाल कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा बस्ने वर्ष ५० की कुमारी मल्लाहले १० लाख पाँच हजारमा खरिद गरेको पाइएको छ ।
यसैगरी कित्ता नम्बर ४५ कोे ५ कठ्ठा १७ धुर र कित्ता नम्बर ९२९ रहेको ११ कठ्ठा १६ धुर गरी कुल १७ कठ्ठा १३ धुर जग्गा वर्ष ३१ का शैलेन्द्र यादवका नाममा आएको देखिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ ठेगाना भएका उनी हाल भैरहवामा बस्दै आएका छन् । यसैगरी कित्ता नम्बर ९१७ को ७ कठ्ठा २ धुर जग्गा मायादेवी गाउँपालिका वडा नम्बर ४ मा बस्ने वर्ष ५९ का लल्लु पाण्डेले ४२ लाख ९६ हजारमा खरिद गरेका छन् । त्यस्तै ५ कठ्ठा ११ धुर, १६ धुर, २ कठ्ठा ९ धुर गरी कुल ८ कठ्ठा १६ धुर ओमसतिया वडा नम्बर २ मा बस्ने वर्ष ३४ का सन्तोष यादवले खरिद गरेका छन् ।
आफुले सर्जमिन मुचुल्काबाट बुझ्दा र भारतीय कागजात हेर्दा बेलरको भाई देखिन आएकोले नामसारीकोलागी सिफारिस र नाता प्रमाणीत गरिदिएको वडा अध्यक्ष थारूले बताए ।
यता मालपोत कार्यालय भैरहवाले वडाको सिफारिसको आधारमा जग्गा नामसारी भएको र त्यसपछि किनबेच भएको बताएको छ । कार्यालय प्रमुख कुमार आचार्यले मुलुकी देवानी संहिता ऐन २०७४ बमोजिम अस्थाई पुर्जा बन्ने व्यवस्था बमोजिम आवश्यक कागजात वडाको किटानी सिफारिस सर्जमिन मुचुल्काका आधारमा नामसारी भएको बताए ।