व्यावसायिक किसान बढेको, साढे तीन लाखले रोजगारी पाएको दाबी
लुम्बिनी संवाददाता
बुटवल
किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयुविके) सकिएको छ । प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका सात जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको थियो । सन २०१९ डिसेम्बरबाट यो कार्यक्रम सकिएको हो ।
यो कार्यक्रम अन्तर्गत गुल्मी, अर्घाखाँची रोल्पा, प्यूठान पूर्वि रुकुम, सल्यान र पश्चिम रुकुममा बीउ बिजन, बाख्रा, दूध र मासुमा बजेट खर्च गरिएको थियो । ४ अर्ब ६८ करोड बजेटमध्येको ९० प्रतिशत काम सकिएको छ । केयुविकेले मंगलबार बुटवलमा समापन गोष्ठी आयोजना गरी स्थानीय र प्रदेश सरकारलाई नमूना आयोजनालाई निरन्तरता दिन आग्रह गरेको छ ।
सो अवसरमा बोल्दै प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ का किसानहरुको लागि सरकारले कृषि मिसन कार्यक्रम सञ्चालन गर्न लागेको बताएकी छन् ।
किसानका लागि उन्नत बिउ विजन कार्यक्रम व्यवस्थापन कार्यालय बुटवलको आयोजानमा मंगलबार बुटवलमा भएको आयोजना समापन गोष्ठी तथा उत्कृष्ठ अनुदानग्राहीहरु सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आयोजनाले निर्माण गरेको सर्कलको आधारमा प्रदेश ५ सरकारले पनि सोही मार्ग अपनाएर विकास गर्ने बताएका छन् ।
मन्त्री पौडेलले केयुविकेले जस्तै प्रदेश सरकारले पनि सोही मोडलमा नै प्याज लसुन, सुन्तला कागती, बंगुर बाख्रा, मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने–‘परियोजनाले निर्माण गरेको उत्पादकर्ता, उपभोक्ता, स्थानीय तह र किसानहरुको विचमा बनाएको चेनलाई नै फलो गरेर सोही अनुसारको कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता समेत जनाउँछौं ।’
कृषक पाठशाला सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको भन्दै मन्त्री पौडेलले जसको लागि परियोजनाबाट तयार भएका २ सय जना कृषक पाठशाला सहजकर्ताहरुलाई हरित स्वम सेवकको रुपमा पहिचालन गरिने समेत जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले परियोजना सकिएपनि सोही अनुसारको विकास र परियोजना निरन्तरता जस्तैगरी कार्य गर्नको लागि किसानहरुलाई आग्रह गरेका थिए । उनले परियोजना आएर किसानहरुको लाई एउटा मार्गनिर्देशन गर्ने जाने भन्दै यसलाई निरन्तरता दिनको लागि स्थानिय तह, किसानहरु नै लाग्नुपर्नेमा जोड दिए । उनले किसानले उत्पादन गरेको बीउको आधार मूल्य तोक्ने काम सरकारले गर्ने भन्दै यसमा आन्तरिक खपतमा भने किसानहरु नै लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘आन्तरिक खपतमा हामी के कती तयार भएका छौं, यसमा विशेष जोड गरी लाग्नुपर्ने हुन्छ ।’
कार्यक्रममा रोल्पा जिल्ला संमन्वय समितिका संयोजक राज बहादुर बुढा, गुल्मी जिल्ला संमन्वय समितिका संयोजक लक्ष्मण पराजुली, प्यूठान जिल्ला जिल्ला संमन्वय समितिका उप संयोजक पदम थापा, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदार मान कक्षपती, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेलगायतले आ आफ्नो भनाई राखेका थिए ।
किसानका लागि उन्नत विउ विजन कार्यक्रमका व्यवस्थापक कौशल कुमार पौडेलले सन् २०१२ मा सुरु भई सन् २०१९ मा समापन भएको परियोजानले गरेको उपलब्धिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यो कार्यक्रमले करिव साढे तीन लाख रोजगारी प्रदान गरेको बताए । ९० हजार किसानसंग आवद्ध भएर गरिएको कार्यक्रमले व्यवसायिक किसान निर्माण गरेको उनले बताए ।
बाख्रा प्रजनन् केन्द्र, बिक्री केन्द्र, साना सिँचाई योजना, बीउ भण्डारण, प्रशोधन, उत्पादनका क्षेत्रमा महत्वपूर्ण काम भएको पौडेलले जानकारी दिए । प्रदेश ५ लाई दक्ष कृषि जनशक्ति समेत यो कार्यक्रमले प्रदान गरेको उनले बताए । कार्यक्रम समापनका अवसरमा परियोजना अवधीभरका उत्कृष्ठ काम गर्ने किसान, कृषि समूह तथा सहकारीहरु १९ जनालाई नगदसहित सम्मान गरिएको थियो ।