धुलो दूधको उत्पादन बढाउँदै दुग्ध विकास संस्थान
लुम्बिनी संवाददाता
बुटवल
दुग्ध विकास संस्थान (डीडीसी)ले प्रदेश ५ को बुटवल र नेपालगञ्जमा दूध प्रशोधन प्लान्ट निर्माणको तयारी थालेको छ । धुलो दूध उत्पादन गर्ने योजनासहित नेपाल सरकारको लगानीमार्फत संस्थानले दुई वटा ठूला प्लान्ट बनाउन लागेको हो ।
दुग्ध विकास संस्थानको बुटवलमा शनिबारदेखि भइरहेको दुई दिने समिक्षा गोष्ठीमा महाप्रबन्धक बैकुण्ठ अधिकारीले प्रदेश ५ का दुई स्थानमा प्लान्ट निर्माणका लागि डीपिआर बनिरहेको जानकारी दिए । डीडीसीले बजार विस्तारका लागि प्रदेश ५ सहित अन्य क्षेत्रमा पूर्वाधार विकास र क्षमता विस्तारका काम थालेको छ ।
बुटवलमा नेपाल सरकारबाट प्रतिघण्टा ५ हजार लिटर क्षमताको युएचटि प्लान्टका लागि डीपिआर बनाइदैछ । नेपालगञ्जमा दैनिक १ लाख लिटर क्षमताको धुलो दूध कारखानाको पनि डीपिआर बनिरहेको अधिकारीले बताए ।
डीडीसीले दूध संकलनको बजार विस्तारसंगै धुलो दूध बनाउने योजनालाई प्राथमिकताका साथ अघि बढाएको छ । अहिले बिराटनगरमा मात्रै धुलो दूध बनाउने कारखाना सञ्चालनमा रहेको छ । सो कारखानालाई दैनिक ३ मेक्ट्रिक्टनबाट ६ मेक्ट्रिक्टनमा क्षमता विस्तार गरिएको छ ।
समिक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले डीडीसीलाई नाफामा लैजाने गरी काम गर्नुपर्ने बताइन । किसानले दूध बिक्री गर्ने सुनिश्चितताका लागि डीडीसी नै उपयुक्त विकल्प भएको भन्दै त्यसका लागि बजार विस्तारको योजना बनाउन उनले आग्रह गरिन् । मन्त्री पौडेलले डीडीसीलाई प्रदेश मातहतमा राखेर काम गर्न आफूहरुले चाहेको बताइन । ‘डीडीसीलाई प्रदेश मातहत रहोस् भन्ने हाम्रो चाहाना छ,’ उनले भनिन्–‘त्यसो हुन सक्यो भने दूधमा प्रदेश आत्मनिर्भरताको अभियान सुरु हुन्छ ।’ उपभोक्ताको स्वास्थ्यका लागि खुला दूध बिक्री गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै जसका लागि सचेतना जगाउन आवश्यक रहेको बताइन । उपभोक्तामा सिधै बिक्री हुने करिव ८० प्रतिशत दूधलाई प्रशोधन गरेरै मात्रै बिक्री गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रदेश ५ को पशुपंक्षी विकास महाशाखाका प्रमुख डा. प्रदीप शर्मा पौडेलले प्रदेश ५ दूध उत्पादनमा अग्रणी रहेको बताए । उनले दूध उत्पादनलाई वृद्धि गर्नका लागि प्रदेश सरकारले अनुदान दिइरहेको समेत जानकारी दिए । गत आर्थिक वर्षमा १० वटा मिल्क ट्रयाक्टरसहित करिव ३२ वटा सवारीसाधन कृषि उपज तथा दूध ढुवानीका लागि अनुदान दिइएको उनले बताए । डीडीसीलाई ९ हजार लिटरका दुई वटा ट्यांकर समेत दिइएको उनले बताए । दूध उत्पादनको लागत घटाउँदै जानुपर्ने उनले बताए । किसानले बिक्री गर्ने दूधको मुल्य र उपभोक्ताले खरिद गर्ने मूल्यको अन्तर घटाउन आवश्यक रहेको उनले बताए ।
प्रदेश ५ को पशुपंक्षी, तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले प्रशोधित दूध नखाने प्रवृत्ति अन्त्य गरेमात्रै डीडीसीले बजार पाउने बताए । त्यसका लागि खुला दूध बिक्री गर्न कडाई गर्नुपर्ने र उपभोक्तालाई प्रशोधित दूधको विषयमा सचेतना दिनुपर्ने उनले बताए । नेपाली प्रशोधन दूधलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउँदै आयातलाई घटाउने रणनीति बनाउनुपर्ने उनले बताए ।
समिक्षामा डीडीसीका महाप्रबन्धक अधिकरीले वस्तुस्थिति सार्वजनिक गरेका छन् । डीडीसीले गत वर्ष ३ करोड ९ लाख नाफा आर्जन गरेको उनले बताए । तर चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भने करिव साढे तीन करोड नोक्सानमा रहेको उनले बताए । कर्मचारीको तलब वृद्धि, चाडवाड खर्च र कच्चा दूधको संकलनमा कमी आउँदा नाफा नभएको उनले बताए । सो अवसरमा बोल्दै डीडीसी सञ्चालक समिति अध्यक्ष वसन्त गिरीले बजार विस्तार गर्ने योजना अघि बढाइएको बताए । प्रर्याप्त दूध उत्पादन हुने प्रदेश नम्बर ५ कै पहाडी जिल्लामा संस्थान पुग्न नसकेको भन्दै ती क्षेत्रसहित अन्य क्षेत्रमा बजार विस्तार गरिने उनले बताए ।
समिक्षा कार्यक्रममा संस्थानका विभिन्न प्रशोधन केन्द्रका प्रमुखहरुले प्रतिवेदन पेश गर्दैछन् । समिक्षा आइतबार समापन हुने छ ।