हुलाकी सडकअन्तर्गतको कल्भर्ट निर्माण भइरहेको जमिन भारतले आफ्नो रहेको दाबी गरेको छ । तर यो जमिनमा नेपालीले नै यसअघि कल्भर्ट बनाएका थिए ।
केशव पराजुली
नवलपरासी
तराईको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक निर्माणमा भारतीय एस.एस.बी फोर्सले अवरोध गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको नेपाल– भारत दशगजा क्षेत्र हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट निर्माणलाई भारत उत्तर प्रदेशक महाराजगञ्ज जिल्लाको झुलनीपुरमा रहेको अर्धसैनिक बल एस.एस.बी.ले अवरोध गरेको हो ।
कन्टेक प्रा.लि. काठमाडौंले २२ करोडमा कडहवा बेलाटरी साढे ९ किलो मिटर हुलाकी सडक कालो पत्रे र ७ वटा कल्भर्ट निर्माण कार्यको ठेक्का लिएको प्रा.लि.का प्रतिनिधि दिपक थापाले बताए । एक हप्तादेखि सुरु गरेको निर्माण कार्य सोमबार बिहान भारतीय अर्धसैनिक बल एस.एस.निर्माण स्थलमा आएर फोटो खिच्ने गरेको र दिउँसोदेखि काममा रोक लगाएको उनले बताए ।
प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ कठवामा बनाउन लागेको कल्भर्ट बन्नुभन्दा पहिले भारतीय अर्धसैनिक बल एस.एस.बी. नेपालका सुरक्षा निकाय र निर्माण कम्पनीका प्रतिनिधिहरू बीच छलफल भएर उक्त स्थानमा कल्भर्ट निर्माण गर्न लागेको हुलाकी राजमार्ग कपिलवस्तुका सुपरभाईजर किरणकुमार श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार कल्भर्ट निर्माण गर्ने सहमति गर्दा भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्लाको झुलनीपुरमा रहेको भारतीय अर्ध सैनिक बल एस.एस.बी सरूवा भएर नयाँ टोली आएको दुई दिनपछि सोमबार काममा रोक लगाएको बताए ।
भारतले नेपालको दशगजा क्षेत्रमा आफ्नो साढे ६ मिटर जग्गा मिचेको आरोप लगाएको छ । कल्भर्ट निर्माण भैरहेको स्थान नेपालको कठहवा र भारतको बहुवार बजार जाने हुलाकी सडक पर्दछ ।
उक्त स्थानमा २०२७÷०२८ सालमा गुठीपसौनी गाउँ पञ्चायतका प्रधानपञ्च तिर्थराज मिश्रले कल्भर्ट निर्माण गरेको स्थानीयले बताएका छन् । भारतीय अर्ध सैनिक बल एस.एस.बी.ले कल्भर्ट निर्माणमा रोक लगाएपछि मंगलबार नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र सुरक्षा निकायको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेका छन् । प्रजिअ पाठकले भारतीय पक्षले एउटा निश्चित बिन्दुबाट नापेर गएको दशगजा क्षेत्रमा परेको भनेका कारण तत्कालका लागि काम बन्द भएको र हामीले पनि नापी कार्यालयका जिम्मेवार पदाधिकारीलाई ल्याएर नापी गरि एकिन गरेर कामलाई अगाडि बढाउने बताए ।

यो एस.एस.बी.को दादागिरी हो : कलवार
प्रतापपुर गाउँपालिका ६ कठहवाको हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट नेपालतर्फ रहेको संविधानसभा सदस्य देवकरण कलवार सन्तुले बताएका छन् । आफु २०४९ देखि ०५४ सालसम्म गुठीपर्सौनी गाउँ विकास समितिको अध्यक्ष हुनुभन्दा पहिले २०२७÷०२८ सालमा गुठीपसौनी गाउँ पञ्चायतका प्रधानपञ्च तिर्थराज मिश्रले कल्भर्ट निर्माण गरेको र नेपाल भारतका स्थानीय सोही हुलाकी सडकको कल्भर्ट भएर आवतजावत गर्ने गरेको बताउँदै नेपालको भू–भागमा निर्माण भैरहेको कल्भर्ट भारतीय अर्ध सैनिक बल एस.एस.बी.ले रोक लगाउनु भारतीय सैनिक बल एस.एस.बी.को दादागिरी भएको बताए ।