गौरीशंकर जयसवाल
परासी
सुस्ता गाउँपालिकाको वाड नं. ५ स्थित नारायणी नदीमा बनाउन लागिएको झोलुङ्गे पुल सात वर्षसम्म पनि अधुरै रहेको छ ।
ठेकेदार कम्पनीको चरम लापर्बाहीले गर्दा सात वर्ष पुग्दा समेत सुस्ता जोड्ने नारायणी नदीमा झोलुङ्गे पुल बन्न नसकेको हो । झोलुङ्गे पुल निर्माणका लागि आ.व.२०७० ÷०७१ मा पहिलो सम्झौता गरेको त्रिशुली एण्ड आश्रय जेभी कम्पनीले २०७४ सालसम्म कुनै काम नगरी सम्पर्कविहीन बनेपछि सात भैसक्दा पनि झोलुङ्गे पुल निर्माण अलपत्र परेको हो ।
पटक–पटक भारतीय पक्षबाट अतिक्रमणको चपेटामा पर्दै आएका सुस्ताबासी सात वर्षसम्म झोलुङ्गे पुल नबन्दा सुस्ताको नारायणी नदीमा वषौंदेखि डुंगाको कष्टपूर्ण यात्रा गर्न बाध्य बनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताए ।
सरकार र ठेकेदारको लापार्बाहीले गर्दा सुस्ता पुग्न नारायणीमा डुंगाबाट कष्ठपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै निर्माण कम्पनिलाई ताकेता गरी म्याद थप गरेर आ.व.२०७५÷०७६ बाट पुलको निर्माण कार्य सुरु गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।
अहिलेसम्म दुई सय २० पाईलीङ्गमध्ये एक सय ९५ वटा पाईलीङ्गको काम सम्पन्न भैसकेको अध्यक्ष पाण्डेले बताए । ठेकेदारको लापर्बाही, बाढी र कोभिड–१९ का कारण निर्माण कार्य रोकिएको भए पनि अबको केही दिनमै काम सुरु हुने र १८ महिनामा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण हुने अध्यक्ष पाण्डेले बताए ।
सुरुमा २० करोड ९० लाखको लागतमा एक हजार पाँच सय ७१ मिटर लामो र १.६ मिटर फराकिलो रहने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गर्न सम्झौता भएको थियो ।
तर समयमा निर्माण कार्य सुरु नहँुदा त्यसको लागत बढ्न गई म्याद थप गर्दा करिव २४ करोड पुग्न गएको अध्यक्ष पाण्डेले बताए । ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म बन्न नसकेको सुस्ताको झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि सुस्ताबस्तीका दुई सय ६५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने सुस्ताबस्तीका युवा समाजसेवी मुन्सी कुमार हरिजनले बताए । आफ्नै नेपाली भू–भागमा जानका लागि नारायणी नदीमा डुङ्गाको कष्टपूर्ण यात्रा गरेरमात्र जान सकिने सुस्तावस्तीमा अहिले करिव ३ हजार एक सय ३३ जनसंख्या रहेको छ ।