माया गौतम
राष्ट्रिय भिटामिन ए दिवसको रूपमा आज र भोली ६ महिना पुगेका र पाँच वर्ष नपुगेका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । २०५२ साल देखि सुरु भएको यो अभियानले निरन्तरता पाइरहेको छ । सधै बैशाख ६–७ र कार्तिक २–३ गते हुुंदै आएको यस अभियानमा कोभिड भाइरसका कारण केही विचलनहरू आएका छन् । सोही कारण महिना र दिनमा फरक पर्न गएको छ । जे होस जस्तो जटील परिस्थिति श्रृजना भए पनि बालबालिका भिटामिन र जुकाको औषधि पाउनबाट बञ्चित भएका छैनन् । विश्व स्वास्थ्य संगठनले नेपाल जस्ता अविकसित देशका नीम्ति बाल मृत्युदर कम गर्न यस्तो अभियान ल्याउने गर्दछ । गरिब देश जहाँ बालबालिकाले पौष्टिक आहार पाउन सक्दैनन् र अभिभावकले पनि सरसफाइमा ध्यान पु¥याउन सक्दैनन् जसका कारण वर्षेनी हजारौैं बालबालिकाको अकालमा मृत्यु हुनेगर्छ, सोही कुरालाई ध्यान दिई यस्ता अभियानहरू चलाउने गरिएको छ ।
भिटामिन ए को बारेमा कुरा गर्दा वास्तवमा भिटामिन ए भनेको के हो, यसले बालबालिकालाई के फाइदा गर्छ, यो भिटामिन क्याप्सुलमा मात्र पाउन सकिन्छ कि अन्य दैनिक खाने खानाहरूमा पनि पाउन सकिन्छ जस्ता कुराहरू जान्न जरूरी छ । पहिलो कुरा बालबालिका होस् वा ठुलो मानिस कसैलाई पनि शरीर स्वस्थ राख्न खाना र स्वास्थ्यको सम्बन्ध रहन्छ । विभिन्न किसिमका भिटामिन पाउन सक्ने तत्व भएका खाना शरीरलाई आवश्यक हुन्छ नै । हामीले खाने खानामा धेरै खाले तत्व हुन जरूरी छ । त्यो खाना एकैखाले भएमा सम्भव रहँदैन तसर्थ खानामा धेरै कुराहरू मिलाएर खानुपर्छ । बच्चालाई पौष्टिक खानाले शरीरको वृद्वी गराउँछ र शरीरलाई शक्ति दिन्छ अनि शरीरलाई रोग लाग्नबाट बचाउँछ ।
‘हरेक बार खाना चार’ भन्ने थेगो स्वास्थ्य मन्त्रालयले बनाएको छ । हाम्रो खानामा भात वा रोटी, दाल, हरियो साग, चटनी वा अचार हुन जरूरी छ, त्यसका साथ साथै पंहेला फलफूल जस्तो पाकेको मेवा, पाकेको आँप, गाजर, केरा, पाकेको पंहेलो गुलियो फर्सी, हरियो सागपात आदिबाट हामीले भिटामिन ए पाउन सक्छौं । जन्मेदेखि कम्तीमा दुई वर्षको हु“दासम्म आमाले बच्चालाई स्तनपान गराउनुपर्छ । आमाको दूधबाट बच्चाले भिटामिन ए पाउन सक्छ । यसैले स्तनपान बच्चाका निम्ति अनिवार्य छ । पशुजन्य खाना जस्तो गाइभैंसीको घ्यू, मासुमा कलेजो, अण्डा, माछामा भुरा माछा जसको भुँडी नफालिएको होस यस्ता खानाबाट हामीले भिटामिन ए प्राप्त गर्न सक्छौ । सानो बच्चाका नीम्ति भिटामिन ए प्राप्त गर्न बच्चालाई पकाउने जाउलोमा हरियो साग पिसेर राख्नुपर्छ । मासु खान नसके पनि बच्चालाई कलेजोको रस दिन सकिन्छ । भिटामिन ए बालबालिकालाई मात्र नभएर ठुला मानिसका नीम्ति पनि उत्ती नै जरूरी छ । भिटामिन ए प्राप्त गर्नका साथसाथै कब्जियत नहोस भनेर पनि हरीयो साग सलादहरू खानाका रूपमा सधै खान जरूरी छ ।
कस्तो खानामा भिटामिन ए पाउन सकिन्छ भन्ने कुराहरू त हामीले थाहा पायौं अब हामीले भिटामिन ए को कमीका कारण हुने असर के के हुन सक्छन् भन्ने कुराहरू जान्न जरूरी छ । भिटामिन ए को कमीका कारण बच्चा रतन्धो (रातिमा आँखा नदेख्ने) बन्न सक्छ । अर्को भिटामिन ए कमीका कारण बच्चामा रोगहरूसित लड्ने क्षमता कम भएर झाडा पखाला, दादुरा र कुपोषण रोगहरू झन चर्को भएर जान्छ त्यसैलै भिटामिन ए विशेष गरी गर्भवती महिला, ६ महिनादेखि पाँच वर्षसम्मका बच्चा र दूध खुवाउने आमालाई बढी चाहिन्छ तर भिटामिन ए सबै उमेरका मानिसका निम्ति नै जरूरी छ । भिटामिन ए भएका खानेकुरा खुवाउँदा बच्चा ह्ष्टपुष्ट हुन्छ अनि निरोगी, फुर्तिलो र चलाख हुन्छ ।
हामीले दाताहरूको सहयोगमा वर्षमा दुई पटक खुवाउँदै आएको भिटामिन ए क्याप्सुल क्षणिक पनि हुनसक्छ, भन्नाले पछि नपाउन पनि सकिन्छ । भिटामिन ए हामीले माथि उल्लेखित खानाहरूबाट पनि पाउन सक्छौं तर हामीले ध्यान दिंदैनौ । अहिले पनि हाम्रो समाजमा साग खाए चिसो लाग्छ, अनि रातिमा खानु हुँदैन भन्ने चलन छ । पाकेको फर्सी गुलियो हुन्छ के खाने भन्नेजस्ता कुरामा अल्झिन्छौं । अन्य कारणले हामी बिमार भए एउटा खानेचीजलाई दोष दिने हाम्रो चलन नै बनेको छ । अब हाम्रो सोचमा परीवर्तन हुन जरूरी छ । कुन कुन खाना खाए के के तत्व प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हेक्का राख्न जरूरी छ । विचार पु¥याएर खानाहरू खाने गर्याै भने धेरै रोगहरूबाट बँच्न सकिन्छ । हामीले पायौं त खायौं गर्छौं, फेला परे एकै पटक धेरै मात्रामा खाना खान्छौं जसका कारण जुन खानाले पनि हामीलाई असर गर्छ । खाना खाँदा थोरै मात्रा र प्रकार मिलाएर खायौँ भनेमात्र फाइदा पुग्छ ।
आज र भोली भिटामिन ए खुवाउन मुलुकभरका खोप केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरू खटिएका छन् ती केन्द्रहरूमा निःशुल्क भिटामिन ए र जुकाको औषधि खुवाइन्छ । यदि आफ्नो छरछिमेकमा कसैले थाहा नपाइ बसेको भए हल्ला गरी खोप केन्द्रमा पठाउने दायित्व नागरिक समाजको पनि रहन्छ, त्यसैले सबैले आफ्नो कर्तव्य पूरा गर्नुहोला । पहिलो दिन छुटेपनि दोस्रो दिन सम्झेर आ–आफ्ना बालबालिकालाई औषधि खुवाउन लैजानुहोला । माथि उल्लेखित कुराहरूमा ध्यान पु¥याएर व्यवहारमा लागु गर्नुहोला । कोभिडको महामारीमा आफुहरू सुरक्षित रहन र बालबालिकालाई सुरक्षित राख्नेतिर विशेष ध्यान दिनुहोला । आफ्नो सानो खाली ठाउँमा भए पनि फर्सिको मुण्टा रोपेर, लहरे साग रोपेर भिटामिन ए को तत्व बनाउनेतिर सबैको ध्यान पुगोस् ।