लुम्बिनी संवाददाता
बुटवल ।
पाल्पा रामपुरकी १८ वर्षीय पूजा परियार सोमै उपचारको खर्च तिर्न नसक्दा अस्पतालमै बस्नु परेको छ । अस्पतालले डिस्चार्ज गरे पनि उनी रुपन्देहीको क्रिमसन अस्पताल मै बसिरहेकी छन् । अस्पतामाल उपचारको करिव २ लाख तिर्न बाँकी छ ।
श्रीमान् भोमे सौमेको कुटपिटबाट पूजाको टाउको फुटे पछि उनी उपचारका लागि अस्पताल आएकी हुन् । उनको अहिले दायाँतर्फको हर चल्दैन । बोल्न र हाउभाउ समेत गर्न सक्दिनन् । असोज २९ गतेदेखि क्रिमसन अस्पतालमा पूजालाई भर्ना गरिएको हो । तीन साता अघि नै अस्पतालले घर गएर आराम गर्न भनेको छ ।
अस्पतालका न्यूरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको समेत शल्यक्रिया गरिसकेका छन् । चिकित्सकले डिस्चार्ज दिएको एक महिना भइसक्यो । तर, पूजाका परिवारले अस्पतालको पैसा तिर्न नसकेपछि अस्पताल छाड्न सकेका छैनन् । अस्पताल प्रशासनले बिरामीलाई घर लैजान पटक–पटक ताकेकता गरेको छ तर उपचारको पैसा तिर्न खल्ती रित्तो छ । अनि बिन्ति बिसाउँदै त्यहि अस्पतालमै बसिरहेका छन् । पैसा भएको भए एक महिनाअघि नै अस्पतालबाट बिरामीलाई घर लैजान भनिएको हो । पैसा खोज्छौं भनेर अस्पतालले पनि समय प्रशस्त नै दियो । तर अब भने पैसा भएन भनेर अस्पतालमा बिरामी राख्न नसक्ने बताएको छ । ‘बिरामीलाई घर लैजानुस्, खोई त पैसा तिरेको भनेर पटक–पटक प्रशासनबाट खबर आको छ, पैसा छैन् यहि बसेको छु ।’– पूजाका बुवा लालबहादुरले भने ।
क्रिमसनमा अपरेशन र बेडचार्ज गरि करिव २ लाख रुपैयाँ तिर्नुपर्ने छ । असोज ८ गते श्रीमान भोमे सौमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणसन्न हुने गरी कुटपिट गरेका थिए । महिला हिंसाको अभियोगमा भोमे सौमै हिरासतमा छन् । घरकाले पूजाको उपचारमा कुनै वास्ता गरेका छैनन् । माईती पक्षले चन्दा संकलन गरेर जसोतसो उपचार गराइरहेका छन् । तर, अब भने उपचारको रकम तिर्न नसकेर पूजाका बुवा लालबहादुर छटपटाईरहेका छन् । उनी भन्छन् –‘ पैसा नहुनेले बाँच्नु नै बेकार रहेछ ।’ पाल्पा निस्तीमा विद्यालयको जग्गामा खेतीपाती गरेर घरखर्च चलाउँदै आएको उनी बताउँछन् । ‘गाउँपालिका, छरछिमेकीबाट संकलन गरेको सहयोगले औषधि खर्च गर्दा ठिक्क भयो । अब कोसँग माग्ने, कसले दिन्छ ।’– गहभरि आँसु पार्दै लालबहादुर भने ।
छोरीसँगै भर्ना भएका बिरामीहरु सञ्चो हुँदै बाहिरिएका छन् । यो दृश्यले लालबहादुर जतिसक्दो चाँडो छोरीलाई घर लैजान पाए हुन्थ्यो भन्छन् । तर, पैसा नतिरी अस्पतालले बिरामी लैजान दिँदैन । पैसाको खोजीमा बिहानदेखि साँझसम्म क्रिमसन अस्पतालभित्र छटपटाइरहेका छन् लालबहादुर ।
छोरीको आडैमा बस्छन् । छोरीलाई हेर्छन्, बोलाउँछन् तर बोल्न सक्दिनन् । पूजाको मतिष्कमा ठूलो चोट पुगेकाले तत्तकाल बोल्न सक्ने अवस्था छैन । असोज ८ गते मरणसन्न हुने गरी श्रीमानले कुटेपछि अर्धचेत अवस्थामा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याइएको थियो । त्यहाँ असोज ९ देखि असोज २८ गतेसम्म उपचार भयो । निको नभएपछि असोज २९ देखि तिलोत्तमा स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । ढाई महिनादेखि छोरी बचाउनका लागि भन्दै लालबहादुर स्थानीय तहदेखि सरकारका विभिन्न निकाय धाए ।ा धेरै खर्च हुँदा परिवार पीडित भएका छन् । आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले गाउँमा पनि कसैले ऋण पत्याएनन् । ‘सम्पत्ति केही पनि छैन, विद्यालयको जग्गामा खेती गरेर बाँचेको छु ।’–लालबहादुरले गुनासो पोखे । सरकारले कोही पनि खाना नपाएर वा उपचार गर्न नपाएर मर्न पर्दैन भनेर नागरिक मर्न पर्दैन भनेर भने पनि यो परिवारले त्यसको अनुभूति नै गरेका छैनन् । उनले १५ वर्षीय छोरीले आफैले रोजेर विवाह गरेकाले केही पनि भनेन । ज्वाई भोमैलाई दुवई पनि पठाए । तर परपुरुषसँग लागेको निहुँमा कुटपिट गरेर पनि उपचार नगरेकोमा भने लालबहादुरले दुखेसो पोखे । ‘बरु छोरीलाई मारेको भए हुने, आज उपचार गर्न नसकेर छटपटाउनुपरेको छ ।’ –उनले भने ।
निस्ती गाउँपालिका ५ पाक्दिकी पूजाले ३ वर्षअघि रापुर ४ दर्छा विपिनडाँडाका भोमे सौमैसँग अन्तरजातीय विवाह गरेकी थिईन । नेतादेखि सांसदसम्म पनि कुरा उनीहरुले पु¥याएका छन् । तर ठोस रुपमा भने कसैले सहयोग नगरेको पूजाका दाजू सुबास परियारले बताए । उनले प्रदेश ५ का सांसद तथा अधिकारकर्मीमाझ महिला हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा गुनासो राख्दा सहयोग पाउने आशा पाएका थिए । तर, अस्पतालमा तिर्ने पैसा भने कहिबाट जोहो हुन सकेन । कतैबाट पनि सहयोग मिलेन । क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले आफूहरुले शतप्रतिशत सहुलियत गर्न नसक्ने बताउँदै पैसा जतिसक्दो चाँडो जम्मा गर्नुपर्ने बताउँछन् । उनले भने –‘हामीले पनि अस्पताल चलाउनुपर्छ, केही छुट दिन सकिएला तर सबैथोक गर्न सकिन्न ।’