रामजी ज्ञवाली
प्रिय पाठकवर्ग, यस शीर्षकलाई हेर्दा र पढ्दा म, हामी तपार्इंहरू केही दुःखी हुनु स्वाभाविकै हो । अझ त्यसमा पनि देशको राजकीय एवं शासकीय व्यवस्था पनि यही गुटगत राजनीतिक स्वार्थद्वारा परिचालित हुनु । अझ त्यसमा पनि देश बनाउने हाम्रा देशभक्त मान्य प्रमुख नेताहरू नै यस्तो दुषित गुटगत राजनीतिमा लागेपछि देशको विकास र समृद्धि कसरी सम्भव छ ? यो अत्यन्तै गम्भीर प्रश्न हो । यस्तो विकसित भइरहेको स्वार्थमूलक गुटगत राजनीतिले मुहान र स्रोत कहाँ छ भन्ने कुरा छर्लङ्गै छ । नभए प्रधानमन्त्रीकोे कार्यालय तथा प्रधानमन्त्री निवास बालुवाटारबाट प्रत्यक्ष देख्न र सुन्न सकिनेछ । व्यक्तिको मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोलीलाई कसैले रोक्न र लुकाउन सकिन्न यो प्राकृतिक नियम नै हो ।
स्मरण रहोस्, प्रायः हामी अधिकांशले आफ्नो रूचि अनुसार विभिन्न संचार माध्यमहरू रेडियो, पत्रिका, टी.भी. आदिद्वारा प्रसारित हुने दृश्य, श्रव्य समाचारहरू सुन्ने, देख्ने गर्दछौं । आजभोलि मन्त्रिपरिषद् कार्यालय तथा बालुटारको बैठकबाट के के कुरा निर्णय भयो वा सहमति भयो वा हुन सकेन भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ । त्यस्तै बैठकको औपचारिक निर्णय र नेताहरूका बीचमा हुने अनौपचारिक विचार आदानप्रदानका क्रममा नेताहरूका केही व्यक्तिगत गुनासा र अभिव्यक्तिहरू पनि प्रकट हुने गर्दछन् । त्यस्तै नेताहरूका व्यक्तिगत स्वार्थ र गुनासाले समग्र देशलाई चिन्तित बनाइरहेको छ । हाम्रा सत्तासीन सरकारका प्रमुखद्वय नेताहरू प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच भएका गुनासा रूपी अभिव्यक्तिहरू बाहिर देखाइमा एमाले र माओवादी पार्टी एकीकरण भएको जस्तो देखिए पनि सारमा अझै पनि पार्टीपूर्ण रूपले एकीकरण र सफल हुन सकिरहेको देखिन्न । अर्काे कुरा यतिबेला दुवै नेताहरू आफै सरकारमा हुनुहुन्छ । आफैले नीति निर्माण गर्नुहुन्छ ।
आफै बैठकमा बस्नुहुन्छ र निर्णय पनि आफैले गर्नुहुन्छ । अनि अर्काेतर्फ दुवै प्रमुख नेताहरूले आफ्नै पार्टी र सरकारले राम्रो काम गर्न सकेन भनेर गुनासो र आलोचना सार्वजनिक गरिनै रहनुहुन्छ । अर्काेतर्फ दुवै नेताहरका व्यक्तिगत गुनासाहरू पनि छुट्टै छन् । उता प्रधानमन्त्री गुनासो गर्नुहुन्छ–प्रधानमन्त्री र सरकारलाई बदनाम र असफल बनाउन आफ्नै पार्टीका केही नेता, सहकर्मी र कार्यकर्ताहरू लागि परिरहेका छन् भन्नुहुन्छ । बहुमतीय पार्टीगत गुट सिर्जना गरी प्रधानमन्त्री र सरकारले गरेका राम्रा कामहरूको समेत विरोध गर्न लगाइन्छ । अनि त्यसैगरी अर्का प्रभावशाली पार्टी अध्यक्ष प्रचण्डको आफ्नै गुनासो छ । उहाँ भन्नुहुन्छ– मैले पार्टी एकीकरणका निमित्त धेरै काम गरे, तर, पार्टी र सरकारलाई चलाउने विशेष भूमिका पाउन सकिन्न । पार्टी एकीकरण गर्दा प्रधानमन्त्री केपी ओली र मेरो बीचमा जे सम्झौता र समझदारी भएको थियो । आधाआधा वर्ष प्रधानमन्त्री बन्ने शर्त थियो त्यो पनि पूरा हुन सकेन, त्यसमा पनि भूल गरिएछ । प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफै एक्लैले चलाउनु भएन । या त अध्यक्ष पद छाड्नुप¥यो, या त प्रधानमन्त्रीय पद छाडनुप¥यो भनेर द्वय नेताहरू एक अर्कालाई गम्भीर आरोप लगाइरहेका छन् ।
मर्यादा क्रमानुसार बैठकमा एउटै आसनमा सँगसँगै जोडिएर बसे पनि संयोगवश यदाकदाद्वय नेताहरूको मुख विपरित दिशातर्फ फर्केको देखिन्छ । यसको अर्थ के बुझिन्छ भने प्रचण्डले बाहिर सरकारको नराम्रो सन्देश जाला भनेर प्रधानमन्त्रीको कार्यशैलीप्रति चित्त नबुझ्दा बुझ्दै पनि बाध्यतावश प्रधानमन्त्रीलाई यथा मौन सहयोग र समर्थन गरिरहेका छन् । तर, भित्री रूपमा भने द्वय नेताकाबीचमा चिसोपना र अविश्वास बढ्दै गएको देखिन्छ । आखिर सचिवालयमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायत अन्य धेरै अनुभवी र परिपक्क नेताहरू पनि हुनुहुन्छ । त्यसैगरी पार्टी, सरकार र स्वयं प्रधानमन्त्रीलाई सुव्यवस्थित रूपले सरकार चलाउन निजी र सरकारीस्तरमै राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रहरूका साथै प्रेस र परराष्ट्र सम्बन्धी विषयहरूमा तार्किक राय, सुझाव र सल्लाह दिनका लागि आवश्यक विज्ञ र अनुभवी निजी र सरकारका सचिवहरूको सहयोग निरन्तर जारी नै छ ।
यति मात्र नभएर प्रधानमन्त्री र उहाँको सरकारलाई सहयोग पु¥याउन सिंगो मन्त्रिपरिषद लगायत संघीय सरकार अन्तर्गतका तीनै तहका सरकारका शासकीय सहकर्मी र संयन्त्र हुँदाहुँदै पनि, भारी जनमतबाट विजयी भई अत्यन्त शक्तिशाली सरकारको प्रधानमन्त्री भएर पनि स्वयं प्रधानमन्त्रीले मलाई कसैले सहयोग गरेनन् । मेरो विचारलाई कसैले सुनेनन् । मैले गरेका र गर्न खोजेका राम्रा कामहरूको प्रशंसा गरेनन् । उल्टै मलाई विस्तारित गर्न चारैतिरबाट षडयन्त्र र विरोध गरिरहेका छन् भनेर बराबर सार्वजनिक रूपमै गुनासो पोख्नु, जनता र देशका निमित्त अत्यन्तै लज्जा मात्र होइन, ठूलो चिन्ताको विषय पनि हो । अझ प्रधानमन्त्रीजीको पछिल्लो अभिव्यक्तिले त देशबासीलाई अझबढी चिन्ता थपिएको छ । वहाँभन्नुहुन्छ– मैले देशको नयाँ नक्सा जारी गर्दादेखि नै मप्रति धेरै चलखेल भइरहेको छ । केही आफ्नै स्वदेशी नेता र दिल्लीका नेताहरूले समेत मलाई पदबाट विस्थापित गर्न अनेकौं षड्यन्त्र गरिरहेका छन् भन्ने गुनासो पोख्नुहुन्छ ।
एकातिर देशको अवस्था अत्यन्त जर्जर र नाजुक बनिरहेको छ । कोरोना भाइरस मात्र होइन, देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत अनेकौं प्राकृतिक विपदहरूबाट गुज्रिरहेको छ । दशौं अर्ब खर्च गरेर पनि कोरोना भाइरस व्यवस्थित हुन सकिरहेको छैन । अधिकांश स्वास्थ्य परीक्षण विधिहरू सफल हुन सकिरहेका छैनन् । आवश्यक महत्वपूर्ण स्वास्थ्य परीक्षण यन्त्र र सामग्रीहरू नै गुणस्तरहीन भएपछि कसरी स्वास्थ्य परीक्षण विधिहरू सफल हुन सक्छन् ? संक्रमित व्यक्तिहरूका प्रयोगशालाहरूबाट परीक्षण गरिएका नमूनाहरूको नतिजा महिनौं दिनसम्म नआउँदा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरू मानसिक तनावले गर्दा उल्टै विरामी र निराश भएका छन् । उनीहरू विना कसुर जेलमा परे जस्तो हताश भएका छन् । सरकारको यस्तो अपरिपक्क झारा टार्ने किसिमको व्यवस्था देखेर आम नागरिक अत्यन्तै दुःख छन् । यही भाइरसका कारण, पारिवारिक कारण र अन्य विविध मानसिकताका कारण वाक्कदिक्क भएर सयौं व्यक्तिहरूले अब बाँच्नुको कुनै सार छैन भन्ने विचारले आत्महत्या गरिसकेका छन् भने अझै गर्दैछन् ।
यस लकडाउनका कारण रोजगारका लागि गृह जिल्लाबाट गई आफ्नै कुनै एकअर्का प्रदेश, गाउँ, शहर बजारहरूमा भाडामा बसी दैनिकी ज्यालादारी त्यसैबाट जीवन निर्वाह गर्ने श्रमशील परिवारहरूले आज पसिना बगाउन नपाएर भोक भोकै बस्न बाध्य छन् । उनीहरूले सरकार तथा दाताहरूसँग बाँच्नका लागि बराबर गुहार मागिरहेका छन् । अझ पीडामाथि पीडा भने जस्तै कतिपय ती विपन्न श्रमिक परिवारहरू विभिन्न किसिमका सशक्त रोग लागेर उपचारका लागि याचना गरिरहेका छन् । त्यसैगरी रोजगारका लागि विभिन्न देशहरूमा गएका नेपाली दाजुभाइहरूले यथाशीघ्र सुविधा र सुरक्षापूर्वक नेपाल फर्किन सहयोग गरोस भनेर संचार माध्यम तथा सरकारसँग हारगुहार गरिरहेका छन् । देशमा प्रतिदिन महंगी, कालोबजारी र भ्रष्टाचार बढ्दैछ । सुशासनको त कुरै नगरौं आज सरकारले प्रस्ताव गरेका अधिकांश विधेयकहरू विवादित बनिरहेका छन् । अझ एमसीसी प्रकरणमा सरकारले वर्षौवर्षसम्म मूल्यवान समयलाई व्यर्थैमा बिताइरहेको छ । अझ कोरोना भाइरस भन्दा पनि देशको राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रताप्रति दीर्घकालीन सुरक्षा प्रदान गर्न सकिरहेको छैन । हाम्रो जारी नयाँ नक्साप्रति मित्र भारतले मान्यता दिन चाइरहेको छैन र वार्ता समेत मानिरहेको छैन ।
देश यसरी आफ्नै अस्थिर राजनीति, पार्टी, सरकार र नेताहरूबीचमा गुटगत राजनीति, बाह्य हस्तक्षेप, महामारीजन्य कोरोना भाइरसबाट कसरी जनता र देशलाई बचाउने ? के कस्ता सुरक्षात्मक उपाय अपनाउने ? के कसरी बिग्रिएको अर्थतन्त्रलाई पुनर्जागृत गराउन सकिन्छ ? के कस्ता योजना बनाउँदा विदेशबाट आएका युवा शक्तिहरूलाई स्वदेशमै रोजगार दिलाउन सकिन्छ भन्ने आदि अनेकौं ज्वलन्त प्रश्नहरूमा आवश्यक आत्मचिन्तन, अनुसन्धान र पर्याप्त गृहकार्य र बहस गर्र्नुपर्ने समयमा देशका सर्वाेच्च नेताहरूमा बारबर आपसी गुटबन्दीको राजनीति भइरहनु । योभन्दा बढी अभिषाप र चिन्ता जनता र देशका लागि अरू के हुन सक्छ ?
नागरिक जागरण अभियान, देवीनगर