नवीन लोचनमगर
रोल्पा ।
वन तथा वातावरण मन्त्रालय पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले सिँचाई पोखरी निर्माण गरिदिएपछि रोल्पाको गजुलबासी दंग छन् । हिउँदको समयमा सिँचाई अभावका कारण सुख्खा रहने करिब दुई सय ४३ रोपनी जमिनमा सिँचाई हुने गरी आशा आयोजनाले पोखरी बनाइदिएपछि उनीहरू खुसी भएका हुन् ।
सिँचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नं. ६, गजुलकोट गाउँमा अब भने बाह्रै महिना सिँचार्ई हुने भएको छ । बढ्दो औद्योगिकरण, वन विनास, अव्यवस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिँचाई अभावमा जमिन बाझो रहने समस्या अब गजुलबासीले भोग्नुनपर्ने आयोजना कार्यान्वयन इकाई रोल्पाका दीपक केसीले बताए । स्थानीय कँुवापानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा निर्माण गरिएको तितेपोखरा सिँचाई पोखरी निर्माण आयोजनाले गजुलका ८१ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष चित्रजङ सेनले बताए । ‘ ‘सिँचाई पोखरी निर्माणले कृषकमा धेरै आशा जगाएको छ,’ सेनले भने –‘विशेषगरी सिँचाई पोखरीले हिउँदमा धेरै कृषकलाई लाभान्वित बनाउने अपेक्षा छ ।’
सिँचाई पोखरी निर्माणमा आशा परियोजनाले १३ लाख ७० हजार, वडा कार्यालयले दुई लाख र जनश्रमदानबाट तीन लाख ३६ हजार गरी १९ लाख ६ हजार खर्चिएको सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का अध्यक्ष नवराज सुवेदीले बताए । ‘आशा परियोजनासँग वडा कार्यालय र जनश्रमदान गरी स्थानीयले पनि सहकार्य गरेका छन्,’ वडाअध्यक्ष सुवेदीले भने–‘स्थानीय सरकार र स्थानीयबासीको समेत योगदान भएकाले यसको प्रयोग र संरक्षणमा पनि सबैको चासो उत्तिकै हुने विश्वास छ ।’ परियोजनाले सुख्खा याममा पानीको उचित प्रयोग गरी सिंचित गर्ने र खाद्य तथा नगदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिँचार्ई पोखरी निर्माण गरेको हो ।
सिँचार्ई पोखरी निर्माणपछि हिउँदे बाली तथा तरकारी उत्पादनमा आफूहरूलाई धेरै सहयोग पुग्ने स्थानीय रेश्मी सुवेदीले बताइन् । ‘पहिले पिउने पानीको समेत समस्या हुन्थ्यो, अहिले सिँचार्ई सुविधा पनि पाउने भएका छौं, खुसी छौं ।’– स्थानीय लालबहादुर सेनले भने ।
आशा परियोजनाले गजुलमै भनारे पोखरी सिँचाई पोखरी पनि निर्माण गरेको छ । पोखरी निर्माणले २५ घरधुरी लाभान्वित हुने स्थानीय हरिबहादुर थापाले बताए । बाह्रै महिना सिँचाई हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ ।
सडक, विद्युत् पुगेपनि पर्याप्त सिँचाईका लागि पानी नहुँदा तरकारी तथा अन्य बस्तु आयात गर्नुपरेको र अब त्यसका कमी आउने स्थानीय बताउँछन् ।