उमा अर्याल ढकाल
विगत करिब छ महिनादेखि विश्व नै आक्रान्त बनेको छ कोभिड–१९ तथा कोरोना भाइरस महामारीले । यस समयमा मानव जातिकै जीबन शैली र रहनसहन बदलिएको छ । संसारभर लाखौं संक्रमित छन् भने लाखौंले ज्यान गुमाइसकेका छन् ।
२०१९ को डिसेम्बरमा चिनको वुहानबाट यसको जन्म भइ विश्वका सबै देशमा धेरै थोरै प्रभाव जमाइरहेको छ । यस रोगबाट बच्न कतिपय देशमा बन्दाबन्दी तथा लकडाउन जारी छ भने कतिपय देशमा सामाजिक दुरी कायम गरी आफ्ना दैनिकीहरु चलाइएको पाइन्छ । महामारीको रूपमा फैलिएको यो भाइरस कतिपय देशमा सामान्य अवस्थामा आउन थालेको छ भने कतिपय देशमा उच्च जोखिमै रहेको पाउन सकिन्छ । हालको समयमा एसियामा सबैभन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत बनेको छ । नेपालको तिनतिर सिमाना जोडिएको भारतमा संक्रमित को संख्या उच्च दरमा वृद्धि भएको छ । लाखौं संक्रमित छन् भने करिव सात हजारले ज्यान गुमाइसकेका छन् । भारत कोरोना भाइरसबाट प्रभावित भएपछि रोजगारीको शिलशिलामा रहेका नेपाली श्रमिकहरु धमाधम आफ्नो जन्मथलो फर्किने क्रम बढ्दो छ । भारतबाट फर्किएका नेपालीको कारण हाल यो रोगबाट नेपालपनि उच्च जोखिममा परेको देखिन्छ ।
विश्वमा परेको यो भाइरसको प्रभावले विश्वका सबै जसो मठ मन्दिर चर्च गुम्बा बन्द अवस्थामा रहेका छन् । मन्दिरमा रहने भगवानको रुपमा सेतो वस्त्र धारण गरी विश्व भरीकै अस्पतालमा मानव रुपी भगवान कोही डाक्टर त कोही नर्सको रुपमा हाम्रा सामु उपस्थित हुनुभएको छ । उहाँहरूकै सहयोगले हामी सबैको जीवन रक्षा भएको पाउन सकिन्छ । अहिलेको विषम परिस्थितिमा पनि उहाँहरु अहोरात्र सेवामा समर्पित भएको पाइन्छ ।
केही समय अगाडि कोही बिरामी भएको अवस्थामा विशेष गरी नर्स तथा स्वास्थ्य कर्मीको सहायतामा जँचाउन लैजाने तथा सल्लाह लिने कामको साथै प्रेसर जाँच गर्ने अनि उहाँहरुलाई भगवान कै रुपमा हेरिन्थ्यो । आज यो विषम परिस्थितिमा उहाँहरुलाई काम गर्ने वातावरण प्रदान गर्नुको साटो अस्पताल आउँजाउँ गर्दा कोरोना सर्छ भनी कतिपय समाजमा बाटोघाटो कुरेर कुटपिट गर्ने त कतिपयलाई कोठा छोड्न बाध्य पारिएका घटनाहरु छरपष्ट रुपमा आउन थालेको छ । सरकारले कोरोना लागेको व्यक्तिलाई हेरचाह गर्ने स्वास्थ्यकर्मी तथा डाक्टर नर्सलाई छुट्टै व्यवस्था गरेको छ । यो संकटको समयमा हामी सबै मानव जगतलाई नै चुनौती दिएको कोरोनासँग डराएर घरभित्र बसिरहँदा ती नर्स तथा स्वास्थ्यप्रेमी जनहरु रोग सँग लडी बसेका नेपालीहरूको ज्यान बचाउन आफ्नै ज्यान बाजी राखी आफू र आफ्नो काखे बालक तथा घरपरिवारको समेत प्रवाह नगरी आफ्नो कर्तव्य पालनामा जुटेका छन् तर पनि हाम्रो समाजले उनीहरुलाई सम्मान गर्नुको साटो दुर्व्यबहार गरेको छ ।
के कोरोना नर्स तथा स्वास्थ्यप्रेमीलाई मात्र लाग्ला ? कि तपाईं हामी बसेको समाज र तपाईं हामीलाई पनि लाग्ला ? त्यो विचार गर्न जरुरी छ । आज तपाईँ जसलाई कुटपिट गर्नु भएको छ भोलि तपाईंलाई कोरोना लागिहाल्यो र अस्पतालमा जानुपर्ने अवस्था भयो भने उही तपाईंले कुट्ने व्यक्ति नै तपाईंलाई हेरचाह गर्ने र जीवन बचाउने व्यक्ति हुनेछ त्यसबेला उसको मनले तपाईंलाई कस्तो सम्मान देला त्यो पनि विचार गर्न जरुरी छ ।
हामी जे सुकै धर्म मान्ने भए पनि यो विषम परिस्थितिमा पूजा गर्ने भगवान भनेकै डाक्टर र नर्स हुन यिनीहरू अहिले जीवित भगवानको रुपमा सम्पूर्ण मानव जातिको रक्षार्थ मा खटिएका छन् । यदि हामीले यो कुरालाई बिर्सिएर उनीहरु प्रति दुव्र्यवहार गर्यौ भने विश्वमै मानव जातिको अन्त्य निश्चित छ । कोरोनासँग जति हामीलाई डर छ त्यति नै डाक्टर र नर्सलाई पनि डर हुन्छ त्यै पनि आफ्नो कर्तव्यलाई सेवा सम्झेर सुरक्षा विधिहरु अपनाउँदै उनीहरू दैनिक आफ्नो सेवामा समर्पित भएका हुन्छन् । आफूलाई पूर्ण रुपमा सुरक्षित राखेर जिम्मेवारी र कर्तव्य को पालना गर्नु नर्स तथा स्वास्थ्य कर्मीको पहिलो कर्तव्य हुनेछ भने आफूलाई जोखिममा राखेर सेवा गर्नुको कुनै अर्थ छैन । हरेक अस्पतालमा नर्सले पुर्याएको भूमिका र नर्सले बिरमीहरुलाई गर्ने व्यवहार ले आधा रोग निको भएको हुन्छ । हरेक कुराको ख्याल गरिएको हुन्छ । अस्पतालमा सेवामा समर्पित नर्स तथा स्वास्थ्य कर्मी भएकै कारण कोठा छोड्न बाध्य पारिने हो वा बाटोमा हिँड्दा पनि त्रास पूर्ण वातावरण हुने हो तथा छुद्र बोली व्यवहार गरिने हो भोलि देशका सम्पूर्ण नर्स तथा डाक्टरहरुले सेवा नदिने हो भने मानव जगतको के हालत होला त्यसैले भगवान् रुपी डाक्टर र नर्सलाई घृणा र हेला होइन माया सद्भाव र सम्मानले कामप्रति अझै हौसला बढोस् तपाईं हाम्रो जीवनको रक्षार्थका लागि खटिइरहने वातावरण सिर्जना होस् । तपाईं हामी मिलेर उहाँहरुलाई सम्मान र सलाम गर्दै मानव अस्तित्वलाई बचाउने वातावरण सिर्जना गरौं । ईश्वरको अवतारको रुपमा सम्पूर्ण स्वास्थ्य कर्मी हरेक अस्पतालमा सेवामा समर्पित छन् सम्मान गर्न सिकौं ।