भिमलाल अर्याल
‘मेरो शहर
आकाश भरि सपना फलाउँछ
बाटाभरि जिजिविसा उमार्छ
घरैपिच्छेका निद्रा चोर्छ
अनि झलमल्ल नियोन बालेर
कुम्भकर्ण जस्तै लमतन्न सुत्छ ।

बिचरा मान्छे
सपना बिछाउँछ
जिजिविसा ओड्छ
मनोकान्छा र आवेक सुस्केरा हाल्दै
यता फर्किन्छ
उता फर्किन्छ
अध्याँरो आकाशका नौलाख तारा गन्छ
फ्युज भएका आशाहरु जोड्ने जमर्को गर्दै कोल्टे फेर्छ ।

एकपटक जुरुक्क उठ्छ
फेरि बस्छ
फेरि उठ्छ
अनि बस्छ
शहरको सपनाले क्षत विक्षत पारेका
सबन्धका घाउहरु सुम्सुम्याउँदै गर्दा
छर्लंग उज्यालो हुन्छ
अनि अनिदो रहेका आशाहरु
झोलाभरि बोकेर
सडक भरि पोखिन्छ ।

यो शहर
बक्यौतामा मान्छेलाई सबै दिन्छ
अनि एकमुठी सास छोडेर
उबाट सबै लुट्छ ।

के बेच्दैन शहर ?
सबै बेचेर मान्छे सर्वांग हुन्छ
र पनि शहर हेरेर फिस्स हाँस्छ
आशै आशामा झुण्डिदै अन्तमा ब्रह्मनाल पुग्छ
अनि शहरसँग घुप्लुक्क निदाउँछ ।

(हालः क्यानडा)