सुमिना अभिलाषी

तिम्रो शरीरमा मगमगाउँछ
गुलाफ
मेरो शरीरमा पसिना
तिमी त्यसलाई फ्लेवर भन्छौ
म भन्छु गन्ध !

तिमी र म मा छ भाषागत भिन्नता
भिन्नता छ
हाम्रा अभिरुचिहरूमा पनि
मलाई प्रेम छ पसिनाको गन्धसँग
जसलाई तिमी घृणा गर्छौ
र भन्छौ दुर्गन्ध ।

तिम्रो सम्बन्ध छ
उच्च महत्त्वाकांक्षाहरूसँग
म भने बाध्य छु
भोको पेट र जिजीविषाका आदेशहरूसँग

मेरै श्रमको आँगनमा उभिएर
आफ्ना आदेशका औंलाहरू ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्ना पसिनाका धाराहरूबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास !

म तिम्रो उत्पीडनको पराकाष्ठा
एक ‘उत्पीडित’
तिम्रो शासन व्यवस्थाले लुटेको
एक ‘सर्वहारा’
अर्थात् एक ‘श्रमिक बर्ग’ !

मेरा सपनाहरूमा
वर्गीयताको अंकुश लगाउने
२१औं शताब्दीका
ए ! अत्याचारी मालिकहरू हो
सुख ! सयल ! आराम र विलासी जीवन
भोग गरिरहेका
ए ! सुकिला मान्छेहरू हो

अनुमान गर !
के हुन्छ
माटोले मुछिएका श्रमले चिथोरिएका
यी बलिष्ठ खस्रा हातहरूले
अब लस्करै उठाए भने मुठ्ठी ??