बुटवल । कोरोनाका कारण सरकारबाट लगाइएको लकडाउनमा उपभोक्ताहरुलाई तरकारी र दुघको अभाव हुन नदिने उद्देश्यसहित रुपन्देही जिल्ला सहकारी संघको पहलमा बुटवलमा घरघरमा हरियो तरकारी तथा दुधको विक्रि व्यवस्था मिलाइएको छ ।

बन्दाबन्दीका कारण एकातर्फ किसानको तरकारी र दुध बिक्री गर्न कठिनाई भैरहेको र अर्का तर्फ बजारमा बस्ने उपभोक्ताले ताजा तरकारी तथा दुध नपाउने पाएपनि बिचौलियाबाट चर्काे मुल्यमा खरिद गर्नु पर्नेृ अवस्था रहेकोमा त्यसलाई अन्त्य गर्दै विक्रिको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

राष्ट्रिय सहकारी महासंघका संचालक एवं रुपन्देही जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन, लुम्विनी बिशिष्टिकृत सहकारी संघ प्रदेश नं. ५ वुटवल रुपन्देहीका अध्यक्ष डा.खगराज शर्माको विशेष सक्रियतामा प्रदेश नं.५ भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रि मा.आरती पौडेलको समन्वयमा वुटवल वजारमा बुधवारबाट अभियान थालिएको हो । राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचनले दुधको पोका र भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज व.थापाले तरकारीको झोला उपभोक्तालाई हस्तान्तरण गरी अभियानको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा मन्त्रालयका कर्मचारी, सहकारीका अभियन्ता एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पहिलो दिन लुम्विनी बिकास मंच रुपन्देहीका अध्यक्ष एवं गैडहवा गा.पा.सुर्यपुराका अगुवा कृषक संदिप गुप्ताले त्यस क्षेत्रका कृषकहरु समेतको करिव ६०० केजी तरकारीको विक्री व्यवस्था मिलाएका थिए भने अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था लि. वुटवल १४ का किसानहरुको करिव ४०० लिटर दूध विक्री गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचनले किसानको आवस्यकता र उपभोक्ताको मागका आधारमा यो सेवा लकडाउन अवधि भर संचालन गरिने बताउनु भयो । तुलाचनले विक्री नभएर अप्ठ्यारोमा परेका किसानले आफ्ना उत्पादनका बारेमा जानकारी गराउन अनुरोध गर्नु भयो । संघले उपभोक्तालाई एक लिटरको ६० रुपैयामा दुध उपलब्ध गराएको छ । पहिलो दिन अस्पताललाइन र चन्द्रनगरमा सो सामाग्री विक्रि व्यवस्था मिलाइएको थियो ।