शोभा जिसी
नवलपुर । पूर्वी नवलपरासीमा खोकी लागेका एक जना विरामीलाई चितवनका दुई वटा अस्पतालले भर्ना नगरी घर फर्काइदिएका छन् ।
कोरोना भाइरस संक्रमितहरुलाई उपचारको लागि अस्पतालहरुमा पर्याप्त उपकरणहरु नरहेको जनाउँदै स्वास्थ्यकर्मीहरुले उपचारमा आनाकानी गर्ने गरेकाले बिरामीहरुको उपचारमै समस्या देखिने गरेको छ । यसअघि पनि पश्चिम नवलपरासीका एक जना विरामी कोरोना लागेको आशंकामा अस्पतालले भर्ना नलिदा तीन दिनसम्म भौतारिएका थिए । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ती बिरामीमा कोरोना संक्रमण पाइएको थिएन ।
कावासोती ३ अठ्ठाइस विगाहा निवासी ४३ बर्षीय दुर्गाबहादुर विकले केही समयदेखि ग्याष्ट्रिक र खोकीको औषधि सेवन गरिराखेको र पछिल्लो समय १०÷१२ दिनदेखि खोकी लागेका कारण मंगलबार चितवनको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा गएको भए पनि दुवै अस्पतालले फिर्ता गरिदिएको विकले बताए ।
विकका अनुसार पुरानो मेडिकल कलेजले उपकरण विग्रिएको छ भनेर फिर्ता गरिदिएको र भरतपुर अस्पतालले केही औषधि दिएर सन्चो हुन्छ भन्दै पठाइदिएको हो ।
उनलाई कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले उनको स्वास्थ्य चेकजाँचका लागि कालीगण्डकी अस्पताल पठाउने तयारी गरे पनि एम्बुलेन्स समेत आउन नमानेको उनले वडाध्यक्ष श्रेष्ठले बताए ।
सरकारले विभिन्न अस्पतालहरुमा कोरोना भाइरस संक्रमितहरुको उपचारको व्यवस्था मिलाएको बताइरहँदा अस्पतालहरुले उपकरणको अभाव जनाउँदै बिरामी फर्काउने गरेकाले पर्याप्त उपकरणको व्यवस्था जरुरी देखिएको छ ।