रामजी ज्ञवाली
कुनै पनि देशका शासकीय व्यवस्थाहरू देशले निर्माण गरेको संविधान वा मूल कानूनले निर्दिष्ट गरेका विधिविधान, ऐन, नीति, नियम र प्रणालीहरूद्वारा परिचालित हुन्छन् । हो, राजनीतिक व्यवस्थाको स्वरूप र शैलीमा केही अन्तर भए पनि हरेक देशको शासकीय व्यवस्था व्यक्तिवादी नभएर विधि र प्रणालीमा आधारित हुन्छ । र, सरकारी, गैरसरकारी, संघसंस्थान, सार्वजनिक क्षेत्र, कार्य क्षेत्र, व्यवसायी निजी हरेक क्षेत्रमा यिनै विधि र प्रणालीद्वारा पारदर्शी रूपले कार्य सम्पादन गरिने मान्यता र परम्परा रही आएको छ । यी देशका ऐन कानून, नीति नियम, न्यायदण्ड र आचारसंहिताहरू सबै विधिका परिपूरक सहयोगी र भित्र हुने भएकाले यिनैको मार्गदर्शनमा देशको सम्पूर्ण शासकीय व्यवस्था संचालित भएको हुन्छ । कुनै पनि देश वा सरकार निश्चित विधि र प्रणालीविना देशको शासकीययन्त्र एक पलभर पनि चल्न सक्दैन । जुन देशमा विधि र प्रणालीलाई भन्दा व्यक्ति विशेषलाई मान्यता दिइन्छ त्यस देशको सरकारको शासन व्यवस्था अत्यन्तै कमजोर र शक्तिहीन हुन्छ । सरकारको शक्ति कम हुनु भनेको देशको नेतृत्व गर्ने स्वयं प्रधानमन्त्रीको शक्ति र अधिकार कम हुनु हो । त्यस्तो अवस्थामा सरकारमा रहेका उच्च पदाधिकारीहरूले आफ्नै सरकारको विधि विधानलाई अवज्ञा गर्दै स्वेच्छाचारी रूपले काम गर्ने मनसाय राख्दछन् । किनकि, जब आफ्नै सर्वाधिकार सम्पन्न देशको प्रमुख नेतृत्वले नै विधि–विधानलाई पाला नगरेपछि अन्य सहयोगी पदाधिकारीहरूले त्यस्तै नीतिको अनुशरण गर्नु स्वाभाविकै हो । यसरी स्वयं सत्तापक्षबाट विधि–विधान निषेध भएपछि प्रमुख प्रतिपक्ष लगायत अन्य दलहरूले पनि त्यसैलाई अनुशरण गर्ने भए ।
कुनै पनि सरकारले आफ्नै विधि–विधान र प्रणालीलाई उपेक्षा गरेर व्यक्तिवादी स्वार्थ, आफन्तवाद, नातावादका आधारमा शासन चलाउन खोज्छ भने त्यस्तो सरकार क्रमशः निरंकुश हुँदै तानाशाही बन्न सक्छ । त्यस्तो निरंकुश सरकारले देशका सर्वसाधारण एवं विपन्न वर्गहरूको भन्दा उच्च र सम्भ्रान्त परिवार, धनाढ्य परिवार र आफ्ना आसेपासे र आफूलाई जय जयकार र प्रशंसा गर्नेहरूलाई बढी सहयोग र सहानुभूति गर्दछ । हो, जुनसुकै पाटी र सरकारले पनि आफ्नो स्वार्थलाई प्राथमिकता राखेकै हुन्छन् । राजनीतिक प्रणाली नै हाम्रो प्रमुख शासकीय व्यवस्था भएकाले निर्वाचनको माध्यमबाट निश्चित जनप्रतिनिधिहरूले संसदमा प्रतिनिधित्व गर्ने ठूलो अवसर पनि पाइने रहेका छन् । तर, दुर्भाग्यको कुरा त्यस्तो जनताको सेवा गर्ने विशिष्ट अवसर पाउँदा पनि जनप्रतिनिधिहरूले लक्षित वर्गका अपेक्षित आवश्यकताहरूलाई पहिचान गर्न सकिरहेका छैनन् । आजका क्रान्तिकारी भनाउँदा, लोकतन्त्रवादी भनाउँदा पार्टीहरूले आफूहरूलाई जतिसुकै सुधारवादी पाटी भने पनि, जनताका लागि लडेका हौं भने पनि, संघर्ष गरेका हौं भने पनि जे जस्ता चमत्कार जन्य सस्तो लोकप्रियता देखाए पनि आखिर सबै जनप्रतिनिधि र नेताहरूको अन्तिम अभिष्ट भनेको के कसरी हुन्छ कुर्सी, सत्ता, सुविधा र सम्पत्ति आर्जन गर्ने लक्ष्य र चिन्तन नै देखिन्छ । २००७ सालपछिको देशको जल्दोबल्दो इतिहासले पनि त्यही कुरालाई दर्शाइरहेको छ ।
हो, यदि पार्टी, नेताहरू देश र जनताका सच्चा आत्मीय मित्र हुन भने कुर्सी, सत्ता, सुविधा र प्रतिष्ठालाई समेत त्याग गरेर कुुर्सी र सत्ता बाहिर बसेर पनि सरकार र नेतृत्वलाई खबरदारी गरेर देश र जनताको सेवा गर्न सक्नेछन् । त्यस्तो लोकप्रिय बन्न व्यक्तिमा ठूलो त्याग चाहिन्छ । म नै सबैभन्दा विद्वान छु, म नै सबैभन्दा योग्य र दक्ष छु, म नै सबैको प्रिय छु, म नै नेता हुनुपर्छ, अध्यक्ष हुुनुपर्छ, म नै मन्त्री हुनुपर्छ, म नै प्रधानमन्त्री हुनुपर्छ । तर, म, हामीभन्दा तपाईंहरू नै बढी योग्य, अनुभवी र क्षमतावान हुनुहुन्छ भनेर कसैले पनि अरूलाई सम्मान गर्न र त्याग देखाउन सक्दैनन् । सायद दुषित संस्कारले होला आजका हामी धेरै जसो व्यक्तिहरूमा के कसरी हुन्छ ‘मै खाउँ, मै लाउँ, सुखसयल मै गरूँ’ भन्ने भावना विकसित भइरहेको छ । हरेक क्षेत्रमा म नै, मेरा मान्छे नै, मेरा आफन्तहरू नै हुनुपर्छ भन्ने चिन्तन हावी भइरहेको छ । यो त भयो हाम्रो राजनीतिक विशेषता ।
अब व्यक्तिभन्दा विधि, सर्वाेपरी होइन र ? भन्ने प्रसङ्ग र विवेचना । जुन तरंगित विषय भनेको राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गर्ने सभासदको प्रश्न । जसका चर्चित पात्र हुन नेकपाका वरिष्ठ नेता वामदेव गौतम । यसरी नेता वामदेव गौतमलाई के कसरी हुन्छ संविधान संशोधन गरेर वा अन्य कुनै प्रक्रियाबाट हुन्छ राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गर्ने प्रमुख योजना बनिरहेको छ । सोही योजना अनुसार प्रधानमन्त्री बाहेक सचिवालयका ९ जना सदस्यहरूले नेता वामदेव गौतमले विगतमा जनता र देशका निमित्त ठूलै योगदान दिइएकाले र एकपटक आफू देशको प्रधानमन्त्री बन्ने इच्छा समेत प्रकट गरेकाले कुनै हालतमा पनि नेता वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्नुपर्छ भनेर एकमत भएका छन् । यद्यपि पार्टीका दृष्टिले नेता गौतम प्रधानमन्त्रीको उम्मेदवार बन्न अत्यन्त योग्य र कुशल पनि छन् । तर, प्रधानमन्त्रीको पदमा पुग्ने गन्तव्य बाटो त्यति सहज नभएकाले यहाँ अनेकौं प्रश्नहरू उब्जिरहेका छन् । केही सत्तापक्षकै नेता, प्रतिपक्ष, आम संचारमाध्यम र बहुसंख्यक चेतनशील नागरिकहरू समेत अत्यन्त आक्रोशित भएका छन् । सरकारले विधि–विधान र आवश्यक प्रक्रियाहरू मिचेर एकव्यक्तिलाई राष्ट्रियसभाको सदस्य र प्रधानमन्त्रीसमेत बनाउने कसरत भइरहेको छ । अझ आश्चर्यको कुरा त एकातिर स्वयं प्रधानमन्त्रीले कुनै हालतमा पनि वामदेवलाई मनोनित गर्नु हुुँदैन भनिरहेका छन् भने, अर्काेतर्फ आफ्नै सचिवालयका सबै सदस्यहरूले वामदेवलाई मनोनित गर्नैपर्छ भनेर अडान राखिरहेका छन् । यसरी एक अधिकार सम्पन्न प्रधानमन्त्रीले उक्त प्रस्तावमा विधिवत समर्थन, स्वीकृति र हस्ताक्षर नगरेसम्म नेता वामदेवलाई मनोनित गर्ने कार्य रोकिएको छ ।
यसरी सरकारभित्रको आन्तरिक जुहारी प्रकरणलाई हेर्दा अधिकार सम्पन्न भएर पनि प्रधानमन्त्री अल्पमतमा परेका र अन्य सहयोगी सांसदहरू बहुमतमा परेकाले आखिर जित सांसदहरूको नै देखिन्छ । हुनसक्छ प्रधानमन्त्री अल्पमतमा पर्ने भएकाले आखिर सचिवालयले एकमत भएर गरेको प्रस्तावलाई सहर्ष स्वीकृति प्रदान गरी नेता वामदेवलाई राष्ट्रियसभा ल्याउन सक्नेछन् । यदि यो अन्तिम मिलन विन्दु पनि सफल हुन सकेन भने प्रधानमन्त्रीलाई आफ्नै विश्वासप्रद सहयोगीद्वारा अझ बढी अविश्वास प्राप्त हुनेछ र प्रधानमन्त्रीलाई काम गर्न समेत अत्यन्त कठिन हुनेछ । साथसाथै यस शक्तिशाली सरकारको यस्तो विवादित प्रकरणले देश विदेशमा समेत कस्तो नकारात्मक सन्देश प्रवाह हुने हो ? त्यसतर्फ पनि सरकार गम्भीर हुनै पर्दछ । एकातर्फ स्वयं प्रधानमन्त्री मृर्गौला प्रत्यारोपणले गर्दा प्रधानमन्त्रीलाई आवश्यक स्वास्थ्यलाभ गर्नुपर्ने बाध्यता भएकोले मन्त्रिपरिषदको बैठक पनि बेलाबेलामा अवरूद्ध हुने गरेको छ, हो, निश्चिय पनि माथि उल्लेख गरिएजस्तै नेता वामदेव पनि अवसर पाए कुशलतापूर्वक देशको बागडोर सम्हाल्न सक्षम छन् यसमा कुनै पूर्वाग्रह छैन । तर, प्रश्न के उठिरहेको छ भने एक स्वाभिमान, नैतिकवान, सक्षम नेताले आफै प्रधानमन्त्री हुन चाहेको छ भनेर यसरी लामो समयसम्म मन्त्रिपरिषद विवादित भइरहनुमा बहुसंख्यक स्वाभिमानी र न्यायप्रेमी मतदाता तथा सार्वभौम नागरिकले कहिल्यै पनि स्वीकार्न सक्दैनन् । हुन त एक सक्षम व्यक्तिले प्रधानमन्त्रीको चाहना गर्नु र सपना देख्नु स्वाभाविकै हो । तर, त्यस्ता सक्षम व्यक्तिले आफ्नै नैतिकता र इमानलाई त्याग गरेर, सबैसँग हारगुुहार गरेर राष्ट्रियसभामा जाने बाटो खोज्नुभन्दा आफ्नो दृढ आत्मबल, मतदाताको अत्यधिक मन जितेर फेरि पनि पारदर्शी रूपले प्रक्रियागत विधिहरू पूरा गरेर ससम्मान गरिमामय प्रधानमन्त्रीको कुर्सीमा पुग्न सक्ने अधिकार सुरक्षित नै छ ।
सारमाः व्यक्ति विशेषले म, जनप्रतिनिधि, सांसद वा प्रधानमन्त्री नै बन्न चाहन्छु भन्ने इच्छा राख्नु स्वाभाविकै हो । र, यस निजी विचारमा कसैको पूर्वाग्रह हुँदैन । अनि कसैको व्यक्तिगत चरित्र हत्या गर्ने मनसाय पनि होइन । र, आफैमा व्यक्ति विशेषको मात्र दोष पनि होइन । दोष केवल ‘विधि र प्रणालीको हो ।’ त्यसकारण व्यक्तिभन्दा विधि र प्रणाली सर्वाेपरी हुने हुनाले हामी सबै देशबासीले देशको विधि र प्रणालीलाई इमान्दारीपूर्वक परिपालन गरेर सरकार तथा समग्र देशको शासकीय व्यवस्थालाई अझ बढी लोकप्रिय बनाउन सकिने छ । यस विचारको प्रवाहसँगै विश्वभरि प्राकृतिक विपद आइपरेको । केही महिनाअघिदेखि चीनको बुहान प्रान्तबाट उत्पन्न भएको नयाँ ‘कोरोना भाइरस’ संक्रमण रोग महामारीका रूपमा फैलिसकेको छ । र, यस रोगले विश्वका हजारौं व्यक्तिहरूको ज्यानै समेत लिइसकेको छ । यही दुःखद अवस्थालाई मध्यनजर गरेर सरकारले निर्देशन गरेका सुरक्षात्मक उपायहरूलाई इमान्दारीपूर्वक परिपालन गर्दै आफू, आफ्नो परिवारको सुरक्षा गर्दै हरेक पीडित वर्गहरूलाई पनि उत्तिकै सुरक्षा प्रदान गर्नु, म, तपाईं, हामी सबैको राष्ट्रिय कर्तव्य हुने कुरा सबैमा सादर ध्यानाकर्षण गराउन चाहन्छु ।
नागरिक जागरण अभियान, देवीनगर