दीपक के.सी.
प्रदेश नम्बर पाँच गढी र किल्लाहरुको महत्वपूर्ण थलो हो । यो प्रदेशलाई वीरताको प्रतीकका रुपमा रहेका किल्लाहरुले पहिचान दिएका छन् । त्यसमध्येको महत्वपूर्ण गढी हो, सिउराज अर्थात् शिवराज गढी ।
कम चर्चा र खोजी भएको शिवगढी रुपन्देहीको बुटवलमा रहेको जितगढीभन्दा पनि महत्वपूर्ण मानिन्छ । कतिपय इतिहासकारहरुले लेखेका छन्– ‘अंग्रेज सेनाहरुलाई धपाइएको प्रमुख गढी भनेकै शिवगढी हो । शिवगढीबाट धपाइएका अंग्रेज सेनाले बुटवलको जितगढीमा आक्रमण गरेका थिए । तर, बुटवलको आक्रमणमा पनि उनीहरुले पराजित नै बेहोर्नुप¥यो ।
निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जितगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटवलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अंग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जितगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
अंग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अंग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अंग्रेज मारिए ।
कपिलवस्तु जिल्लाको पश्चिममा अवस्थित शिवराजगढीकै नाममा अहिले शिवराज नगरपालिका बनेको छ । यो नगरपालिका धार्मिक आस्था र पर्यटकीय गन्तव्यका लागि धनी छ । नगरपालिका क्षेत्रमा रहेका विभिन्न धार्मिक आस्थाका स्थानहरुलाई संरक्षण र प्रवद्र्धन गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने थ्रुपै ठाँउहरु रहेका छन् ।
पूर्व पश्चिम लोक मार्गमा पर्ने यस नगरपालिका छिमकी मुलुक भारतको बढनीबाट पनि करिब १२ किमीको दुरीमा रहेको यस नगरपालिका नाममा नै ऐतिहासिकता बोकेको छ । शिवराज राजाले राज्य गरेको र अंग्रेजसंग युद्ध गरेका थुप्रै युद्धका डोपहरु र किल्ला यहाँ देख्न सकिन्छ ।
जिल्लाकै धार्मिक तथा पर्यटकीय धरोहरका रुपमा रहेको शिवगढी मन्दिर यसै नगरपालिकाको वडा नं. ९ मा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको आस्थाका धरोहर आराध्यदेव महादेवको मन्दिर रहेको यस शिवगढी चुचुरोमा पुग्ने जो कोहीले पनि स्वार्गानुभूति प्राप्त गर्दछन् । शिवगढी मन्दिरमा वर्षै भरी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यहाँ विशेषगरी शिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने गर्दछ, हजारौंको संख्यामा दर्शनार्थी यहाँ आउने गर्दछन् । शिवरात्रिको समयमा यो मन्दिरमा ५ दिनसम्म मेला लाग्ने गर्दछ । सडक सञ्जाल नभएको पैदल यात्रा गरेरै भक्तजन र पर्यटक यस मन्दिरमा पुग्ने गर्दछन् । नाक छुने ठाडो उकालोबाटोमा घना जंगल छिचोल्दै मन्दिरमा पुग्न सकिन्छ ।
शिवगढीको यात्रामा नतमस्तक बनेर बसेका चुरे श्रृंखलाका डाँडा चराचुरुङ्गीको चिरवीर आवाजमा रम्दै यात्रा गर्नुको मज्जै बेग्लै हुन्छ । यात्रा गर्दा जङ्गलमा विभिन्न अनौठा कीरा फट्याङग्रा, चरालगायतको आवाजले मनलाई झनै उत्साह बनाउँछ । कपिलवस्तुको धानखोलाबाट ७ किमीको दुरी पर्दछ । शिवगढी जान कपिलवस्तु तथा भारतीय नागरिकहरूले भने रमुवादहको बाटो प्रयोग गर्ने गर्दछन् । सुरुमा साना खरले छाएका घरहरू छन् ति घरमै पानी भरेर झोलामा राख्नुपर्ने हुन्छ ।
धानखोलाको दक्षिण पश्चिम पछिको चुरे पहाडको चुचुरोमा शिवगढी मन्दिर अवस्थित रहेको छ । शिवगढी जानको लागि धानखोलाबाट १३ सय मिटर तेर्पिलो गोरेटो बाटोको यात्रापछि उकालो यात्राको सुरुवात हुन्छ । यात्रामा केही खोलाहरू छन्, तिखा ढुंगा अनि रुखका जराहरू छरपष्ट देखिन्छन् त्यतिमात्र होइन विभिन्न आकारका ढुंगाले पक्कै ऐतिहासिक क्षेत्र रहेको पुष्टि गर्दछ । नागबेली आकारको बाटो जतिमाथि चढ्दै गयो उतिनै शीतलताको अनुभूति गर्दै करिव तीन घण्टाको यात्रामा शिवगढीको चुचुरोमा पुग्न सकिन्छ ।
शिवगढी पहाडको टुप्पो, वरपर पाखापखेरा अनि त्यहींबाट अवलोकन गर्न सकिने मनोरम दृश्यहरु अझ दुश्मनलाई परास्त गर्न तयार पारिएका संरचना, यसले शिवगढी पुग्ने जो कोहीको पनि मन रोमाञ्चित गर्दछ । बुटवल क्षेत्रबाट अंग्रेज फौज पश्चिम नेपालतर्फ अघि बढेपछि रक्षार्थ शिवगढीलाई किल्लाको रुपमा प्रयोग गरिएको थियो । नेपाल अंग्रेज युद्धको समयमा अंग्रेजले शिवराज राज्य दखल गर्न खोजेको थियो । त्यो समयमा शिवगढीका किल्ला खडा गरी मातृभूमिको रक्षा गरेको इतिहासका यहाँ देख्न पाइन्छ । शिवगढी मन्दिर परिसरमा ऐतिहासिक ढुंगाको पर्खाल छ । अंग्रेजसँग लड्नका लागि ढुंगा थुपारेको हुनसक्ने बताइन्छ । ढुंगाको पर्खालको प्वालले लड्न आउने अंग्रेजहरूलाई धनुकाँड र गुलेलीले हान्न बनाइएको खोजकर्ताहरुको भनाई रहेको छ । यसका साथै राजाले पूजा गर्ने ठाउँ, पानी पँधेरोले शिवगढी पुग्नेको लागि अध्ययनको विषय बन्छ । अंग्रेजसँगको युद्धमा नेपालीहरूले विभिन्न स्थानमा किल्लाहरू बनाई अंग्रेजहरूलाई प्रवेशमा रोकेका थिए । त्यो प्रमाण भनेकै एउटा शिवगढीलाई लिन सकिन्छ । शिवगढीले हाम्रो पहिचान आजसम्म बचाएको छ । शत्रुलाई परास्त गर्न बनाएको स्थान जसलाई युद्धको भाषामा किल्ला अथवा गढी भनिन्छ । त्यो नै शिवगढी हो । त्यहाँ अहिले एउटा अवजरवेशन (देखभाल) पोष्ट र एउटा सुटिङ्ग (फायर गर्ने) पोइण्ट रहेको छ । अहिले पनि शिवगढी पुग्नेले ती सुटिङ्ग प्वाइन्ट र तीन वटा अवजरवेशन पोष्ट भएको स्थान देख्न सक्दछन् ।
शिवगढीमा त्यसबेला युद्धको मोर्चामा खटिएका सैनिक जवानलाई बन्दोबस्तीको लागि निर्माण गरिएको घरको अवशेष पुराना टायल र ईट्टाका टुक्राहरू देखिन्छ । ढुङ्गाबाट बनाइएको बञ्चरो पनि भेटिएको छ । युद्धका लागि निर्माण गरिएका गढी, किल्ला र कोटहरू संरक्षणविहीन भएका छन् । तर ‘गढी किल्ला’ ऐतिहासिक छ ।
शिवगढीमा एउटा यस्तो स्तम्भ पनि छ जो माटोले पुरिएको छ । शिवगढी परिसरमा रहेको ढुङ्गाको पर्खाल पुरिंदै जान थालेका छन् । गढीसँगै इतिहास माटोमा मिल्दै छ । यसको थप अनुसन्धान गर्न आवश्यक देखिन्छ । सरकारले संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने शिवगढी अवशेषमा सीमित हुन थालेका छन् । कपिलवस्तु र दाङ जिल्लाको सिमानामा रहेको शिवगढी धार्मिक एवं सांस्कृतिक स्थल हो । शिवगढी अध्ययन अनुसन्धानदेखि मनोरञ्जनको समेत राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले पनि धेरै ग्रामीण पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । अंग्रेज फौजबाट नेपाल जोगाउनको लागि नेपाली फौजले गरेका क्रियाकलाप ऐतिहासिक रहेको र त्यो नयाँ पुस्ताको लागि समेत अध्ययनको स्रोत बन्न सक्ने यहाँ पुगेर फर्कनेहरू बताउँछन् ।
मन्दिर पुग्नुभन्दा करिव १० मिनेट अघि समथर भू–भाग आउँछ जसले मन्दिर पुगियो भन्ने लाग्छ । तर, ठाडो उकालो भने बाँकी नै हुन्छ । किल्लाभन्दा केही तल बाट ७५ वटा सिंढी बनाइएको छ । सिंढी दुवै साईटमा भएकाले मन्दिर पुग्न पश्चिमको सिढी प्रयोग गरिन्छ भने फर्कँदा पूर्वको टुप्पोमा रहेको मन्दिरको ढोका दुवै तर्फ छ । सिंढीकै बीचमा केही पानीका टंकी तथा टावरहरु राखिएको छ । पानीको अभाव हुने भएकोले आकाशको पानी त्यही टंकीमा संकलन गर्ने गरिन्छ । सिंढी सकिएपछि शिव मन्दिर छ जहाँ महाशिवरात्रि पर्वमा विशेष पूजा गरिन्छ । मन्दिरको छेउमा ठूलो पर्खाल छ जसलाई किल्ला भन्ने गरिन्छ ।
प्रकृतिसंग विचरण गर्न चाहाने जो कोहीलाई पनि शिवगढीको यात्रा रमणीय हुन्छ । अध्ययन अनुसन्धान गर्ने पर्यटकहरूका लागि झनै उपलब्धिमूलक हुनेछ । पहाडको चुचुरोमा पुगेर हेर्दा शिवगढीले पहाडलाई बोकेर तराईको मैदानी भागलाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । इतिहासमा रुचि राख्ने खोज अनुसन्धान गर्नेहरुका लागि खुल्ला किताब हो शिवगढी । शिवगढीमा देखिने पुरातात्विक महत्वका वस्तुले अध्ययनको विषय बनाउँछ ।
शिवगढी पहाडको चुचुरोमा रहेको हुँदा त्यहाँबाट टाढाटाढासम्म देख्न सकिन्छ । शिवगढीलाई शक्तिपीठको रुपमा पनि मान्ने गरिन्छ । शिवगढीमा सतीदेवीको जिव्रो पतन भएको जनविश्वास छ । शिवगढीको चुरे श्रृंखलाको पहाड प्राचीन सभ्यताको धरोहर भूमिको चिनिन्छ । शिवगढीमा प्रत्येक शिवरात्रिमा ठूलो मेला लाग्छ, महाशिवरात्रि पर्व देशका विभिन्न स्थान र छिमेकी मुलुक भारतबाट पनि हजारौं संख्यामा मन्दिर दर्शन गर्न भक्तजन आउने गर्दछन् । विषेश शिवरात्रि पर्वमा शिवगढीको चुचुरोमा पुगी भगवान शिवको पूजा आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।