नवीन लोचनमगर
रोल्पा (थबाङ)
थबाङ तत्कालीन माओवादीको ‘आधार इलाका’ । जसको नेतृत्वमा चलेको दशवर्षे जनयुद्धमा जनसेना कमाण्डरका रुपमा थिए ‘कमरेड पासाङ’ । उनै पासाङ नन्दबहादुर पुनको रुपमा उपराष्ट्रपति भएपछि पहिलो पटक थबाङ पुगेका छन् । आइतबार मन्त्री तथा संसदहरुसहित थबाङ पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन निकै हर्षित मुद्रामा देखिन्थे । ‘थबाङीसँग भेट्दा उहाँ (उपराष्ट्रपति) निकै खुसी देखिनुहुन्थ्यो,’ थबाङका स्थानीय ऋषिकेशव बुढाले भने–‘थबाङ उहाँको कर्मथलो जस्तै हो, उपराष्ट्रपतिसम्म पुग्नुमा थबाङीको पनि योगदान छ ।’ हेलिकप्टरबाट यहाँ पुगेका पुनले आफ्ना पुराना सहकर्मीहरुसँग भलाकुसारी समेत गरे । ‘थबाङको विकास, बदलिँदो राजनीतिक परिवेशलगायतका विषयमा जिज्ञासा राख्नुभयो ।’– स्थानीय गिरीष पुनले भने ।
‘जनयुद्धकै कारण गणतन्त्र सम्भव’
सभा समारोहहरुमा निकै भद्ररुपमा प्रस्तुत हुने र राजनीतिक विषयमा निकै कम बोल्ने उपराष्ट्रपति पुनले थबाङ पुग्दा भने आफूलाई थाम्न सकेनन् । थबाङलाई विचारको केन्द्रको रुपमा प्रस्तुत गर्दै पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको दाबी गरे । जनयुद्धको सम्झना गर्दै उनले मुलुकका अन्य भेगमा गणतन्त्रको नारा शिथिल भइसकेका बेला थबाङ र रोल्पाले उक्त नारा सशक्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको बताए । सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थबाङले खेलेको भूमिका अन्तर्राष्ट्रियकरण भइसकेको उनको भनाई थियो । अब भने थबाङले राजनीतिक मूलप्रवाहमा आफूलाई समाहित गरेर समृद्धि र विकासको अभियानमा अगुवाई गर्नुपर्ने भन्दै पुनले भने –‘इतिहासमा थबाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो । जनयुद्धमार्फत् गणतन्त्रको झण्डा उठायो । जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ । नेपालबाट सामान्तवादको अन्त्य भएको छ । गणतन्त्र र संविधान हाम्रो बच्चा हो । बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ ।’
संविधानमा नागरिकलाई कुनै पनि अधिकारबाट बञ्चित नगराएको भन्दै उनले संविधानको स्वामित्व थबाङ र रोल्पाले लिनुपर्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेकपातिर इंगित गर्दै पुनले भने –‘सधैं एउटै बाटोमा मात्र हिडिरहँदा परिस्थितिले लात हान्न सक्छ, थुक्न सक्छ । पहिल्यैदेखि राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं । अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन । हामीले माग पूरा गर्नुपर्छ ।’ उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि चेतावनी दिए । विद्रोही हुँदा र हाल राजनीतिको मूलप्रवाहमा प्रवेश गरेपछिको रोल्पा र थबाङको अवस्थामा धेरै फरक आइसकेको भन्दै उनले केही पनि भएन भन्ने निरासा त्याग्न आग्रह गरे ।
आफूले पढेको विद्यालयलाई नमूना घोषणा
उपराष्ट्रपति नन्दबहादुर पुनले आफूले अध्ययन गरेको वीर बलभद्र माविलाई नमूना विद्यालयका रुपमा घोषणा गरेका छन् । ३४ वर्षअघि सोही विद्यालयबाट एसएलसी गरेका पुनले आइतबार नमूना विद्यालय भएको घोषणा गरे । घोषणासभामा बोल्दै उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताए ।
प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित दक्ष विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहेको चर्चा गरे । धनी र गरिब दुई वर्गले फरक–फरक शिक्षा अध्ययन गर्ने अवस्था कायम रहँदासम्म समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने पुनको तर्क थियो । थबाङमा रहेको वीर बलभद्र माविलाई नेपाल सरकारले नमूना विद्यालयको रुपमा स्वीकृत गरेको थियो ।
गरिबी साझा दुस्मन ः उर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गरिबीका विरुद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन् । नमूना विद्यालय घोषणा कार्यक्रममै पुगेका मन्त्री पुनले कृषि, व्यापार प्रवद्र्धन र पर्यटक भित्र्याएर जिल्लाको मुहार फेर्न सकिने चर्चा गरे । मन्त्री पुनले राजनीतिक रुपमा केही फरक भए पनि विकासका काममा सबै मिलेर अघि बढ्नुको विकल्प नहरेको बताए । ‘राजनीतिक रुपमा हामी फरक ठाउँमा हुन सक्छौं । थबाङमा पनि होला,’ मन्त्री पुनले भने–‘हामी सबैको साझा दुश्मन गरिबी, अविकास र पछौटेपन हो । त्यसविरुद्ध मिलेर जुधौं ।’ पुनले राजनीतिको केन्द्रमा रहेको रोल्पालाई अब विकास, समृद्धि, उद्यमशील र पर्या–पर्यटनको केन्द्र बनाउने उद्घोष गरे । उनले नमूना विद्यालय निर्माणमा आफूसहित पूर्वसभामुख ओनसरी घर्तीले दुई–दुई महिनाको तलब अक्षयकोषका लागि दिने घोषणा गरे ।
शिक्षामन्त्रीले गरे थबाङको चर्चा
उपराष्ट्रपतिसँगै थबाङ पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा राजनीतिक परिवर्तनमा थबाङको भूमिका अतुलनीय रहेको बताएका छन् । थबाङ सचेत र जागृत जनता बस्ने थलो भएको भन्दै मन्त्री पोखरेलले अब स्तरीय शिक्षाको थलो बनाउन सुझाव दिए । मन्त्री पोखरेलले विद्यार्थीलाई घोकाउँदै परीक्षा केन्द्रमा लैजाने र तीन घण्टा लेखेको आधारमा उसको सिकाई मापन गर्ने थोत्रो विधिले शिक्षामा गुणात्मक परिवर्तन नआउने भएकाले वर्तमान सरकार त्यसलाई फेर्न सक्रिय भएको जानकारी दिए ।
नेपालका बालबालिकालाई जीवनोपयोगी र प्रतिस्पर्धी शिक्षा दिने योजना सरकारले बनाएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीतिक दलको कमिटी नबसी निर्भिकतापूर्वक ड्युटीमा खटिए शैक्षिकस्तर धेरै माथि उठ्ने बताए । ‘मलाई भेटेको बेलामा म फलानो शिक्षक संगठनको नेता हुँ, ट्रेड युनियनको नेता हुँ भनेर परिचय नदिनुस्’, मन्त्री पोखरेलले भने–‘आफ्नो विद्यालयमा पढाइ राम्रो रहेको, विद्यार्थी राम्रा रहेको सुनाउनुहोला ।’ मन्त्री पोखरेलले हाल सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा कक्षा लिने क्रम बढेको भन्दै त्यसो गर्दा विद्यार्थीको नेपाली भाषा कमजोर हुने र अंग्रेजी भाषाको उपनिवेश हुने खतरा रहेकोतर्फ सचेत गराए ।