कृष्ण पोखरेल
पाल्पा
तानसेन नगरलाई लागुऔषध सेवन मुक्त, बालश्रम मुक्त र मानव बेचबिखन मुक्त नगर बनाउन तानसेन नगरपालिका र जिल्ला प्रहरी कार्यालय पाल्पाले संयुक्त रुपमा अभियान सुरु गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा भावी सन्ततीको भविष्य उज्वल बनाउन संयुक्त रुपमा यो अभियान सुरु गरिएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।
अभिभावकको व्यस्तताको कारण बालबालिकाहरु सानै उमेरदेखि रक्सी चुरोट तथा गुटखा हँुदै लागुपदार्थ सेवनको कुलतमा लागेको अवस्थालाई मध्यनजर गरी लागुऔषधमुक्त नगर बनाउन यो अभियान संचालन गरिएको नगर प्रमुख शाहीले बताए । विद्यालय वरिपरि रक्सी चुरोट बिक्री गर्न नपाईने र बजारको अन्य स्थानमा पनि गुटखा, सूर्ति, भोला जस्ता बस्तु देखाएर बिक्री नपाईने, मदिराजन्य पदार्थ समेत देखाएर सजाएर राख्न नपाईने गरी बिक्री गर्नुपर्ने तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरभित्र बालश्रमिकको रुपमा कामदार राख्न नपाईने, राखेको पाईएमा कारबाही गर्ने, कुनै व्यक्ति बाध्यतावश बालश्रमिकको रुपमा रही नियमित पढेको छ भने त्यस्तो व्यक्तिलाई तानसेन नगरपालिकाले कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने नगर प्रमुख शाहीले बताए ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले तानसेनलाई बालश्रममुक्त, लागुऔषध सेवन मुक्त र मानव बेचबिखन मुक्त नगर बनाउन प्रहरीसंगै नगरका सबै संघ संस्था परिचालन गरिने बताईन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले यो अभियानमा प्रहरीले एक्लै विगतदेखि काम गर्दै आएको भए पनि नगरपालिकाको सहयोगले सफलता पाउने बताए । पाल्पामा बालबालिकादेखि रक्सी, गाजा सेवनकर्ता रहेको भए पनि अहिलेसम्म कडा खालको लागुऔषध सेवनकर्ता नभेटिएको प्रहरी उपरीक्षक जिसीले बताए ।
कार्यक्रममा प्रहरी निरीक्षक सुरज श्रेष्ठले यो अभियान विद्यालय, बालक्लब, युवा क्लब, आमा समूह, महिला समूह टोल विकास संस्था, उद्योगी व्यापारी, होटल व्यवसायी, कानुन व्यवसायी, शिक्षक विद्यार्थीहरुसंगको सहकार्यमा गरिने बताए । नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।