खिमानन्द भुसाल
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा समग्र विकास खानेपानी, उद्यमशिलता, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा के काम भईरहेको छ । चुनौती र सम्भावनाहरू के–कस्ता रहेका छन् भन्ने विषयमा लुम्बिनीकर्मी गणेश खनालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालसंग गरिएको सम्पादित अंश ।
छत्रदेव गाउँपालिकालाई संक्षिप्तमा कसरी चिन्न सकिन्छ ?
छत्रदेव गाउँपालिका ५ नं प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय सरकारहरू मध्ये एक हो । यसको क्षेत्रफल ८७.६२ वर्ग कि.मि. रहेको छ भने २०६८ को जनगणनाअनुसार जनसंख्या २५,३३६ रहेको छ । अर्घाखाँचीको पूर्वि भागमा रहेको यस गा.पा.को सिमाना गुल्मी जिल्लासंग जोडिएको छ । यसको मूकाम साविकको छत्रगञ्ज गा.वि.स.को केन्द्र रहेको छत्रगञ्जमा रहेको छ । यस गा.पा.को नाम छत्रदेवालय मन्दिरको नामबाट धार्मिक आधारमा रहेको देखिन्छ ।
कामको दौरानमा कस्ता खालका चुनौतीको सामना गर्नुपरेको छ ?
काम गर्ने क्रममा चुनौतीहरू त आई नै रहन्छन् । मेरो मान्यता चुनौतीसंग डराउने होईन सामना गर्ने हो । नियत असल हुनु पर्दछ, जसले चुनौतीहरूको सामना गर्दछ, उसैले नै परिणाम निकाल्ने हो । अर्को पक्ष भनेको स्थानीय तहको संरचना नयाँ छ, कतिपय व्यवस्थापकीय पक्षमा नयाँ काम गरेर देखाउनु पर्ने छ, सो कारणले नयाँ–नयाँ चुनौतीहरू त आई नै रहन्छन् ।
यस वर्ष विकासमा मुख्य प्राथमिकता केमा रहेको छ ?
चालु आ.व. २०७६÷०७७ का विकासका मूख्य प्राथमिकता भनेको पहिलो कुरो त यो क्षेत्र खानेपानीको हिसाबले सुख्खा क्षेत्र भएकोले खानेपानी योजनाहरू कार्यान्वयनको लागि प्रमुख प्राथमिकता दिईएको छ । त्यस्तै जनतामा आय आर्जनको लागि उद्यमशिलता विकास, तुलनात्मक लाभका वस्तुहरू पहिचान र उत्पादनमा जोड, भौतिक पूर्वाधारहरूको विकास, शिक्षा, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशिकरण र सुशासनको पक्षहरूमा प्रमुख जोड दिईएको छ । समग्रमा भन्नुपर्दा छत्रदेवको विकासको प्राथमिकता भनेको विकासका सबै आयामहरूले समेटिएको विकास हो ।
नमूना योग्य कामहरू यहाँहरूको नजरमा के रहेका छन् ?
यस गा.पा.का नमूना योग्य कामहरू धेरै छन् । यसको पुष्ट्याई उच्च वित्तीय र भौतिक प्रगतीले पनि देखाउँदछ । खानेपानीका आयोजनाहरू कतिपय सम्पन्न भएका र कतिपय सम्पन्नको चरणमा रहेका छन् । छत्रदेवालयमा सिंढी र रेलिङ निर्माण, आफ्नै कार्यालय भवन निर्माण र सेवा प्रवाह, रातापोखरा खेलकुद निर्माण, कभर्डहल र जिमहाउस निर्माण, फलामे विद्युत्का पोल, दलितघर उज्यालो कार्यक्रम आदि छत्रदेवका नमूना योग्य कामहरू हुन् ।
जिल्लाका अन्य नगरपालिकाले पनि अनुशरण गर्ने विशेष काम के भईरहेको छ ?
माथि उल्लेखित कामहरूबाट प्रसस्त अरू स्थानीय तहहरूले अनुसरण गर्ने कामहरू छन् । त्यसका अलवा छत्रदेव गाउँपालिकाको सुशासनको पक्ष र सेवा प्रवाहको पक्षहरू अनुकरणीय छन् जस्तो मलाई लाग्दछ ।
उपभोक्ता समिति गठन प्रक्रियामा राजनीतिक खटपट बढी हुन्छ भनिन्छ नि ?
त्यस्तो त मलाई लाग्दैन बरू हालका दिनहरूमा उपभोक्ता समितिमा रहने मान्छेको कमि छ ।
जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध कस्तो छ ?
सकारात्मक र देखिने परिणामहरू निकाल्न जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सुमधुर नभई संभव नै छैन । नीति निर्माण गर्ने जनप्रतिनिधि र कार्यान्वयन गर्ने कर्मचारी बीचको सम्बन्ध सुमधुर हुन आवश्यक छ । छत्रदेवको हकमा जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्धमा कुनै बैमनश्यता मैले महशुस गरेको छैन ।
तपाईंको नजरमा आन्नद महशुस भएको योजना कुन हो ?
धेरै छन् । छोटकरीमा भन्नुपर्दा आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह, बहुउद्देस्यीय सभाहल सम्पन्न, छत्रदेवालयमा सिंढी र रेलिङ निर्माण छत्रदेवका गौरव हुन जस्तो मलाई लाग्छ ।
जनताको भनाई कस्तो पाउनुभएको छ ?
सकारात्मक भन्ने भनाई छ । जनताका मन छुने र आय आर्जन हुने योजनाहरू कार्यान्वयनमा रहेकाले जनताको धारणा सकारात्मक छ जस्तो महशुस भएको छ ।
आगामी वर्ष गाउँपालिकाको मुख्य लक्ष्य के रहेको छ ?
खानेपानी, उद्यमशिलता विकास, भौतिक पूर्वाधार र मानव विकास सूचाकांकमा सुधार गर्ने खालका योजनाहरू कार्यान्वयन गर्ने छत्रदेवका प्राथमिकताका विषयहरू हुन् ।
प्रचार बढी काम कम गर्छन् छत्रदेवमा भन्छन नि ?
त्यसो त मैले सुनेको छैन । बरू भए गरेका कामहरूको जनताहरूलाई जानकारी कम भयो भनि जनप्रतिनिधिहरूबाट व्यक्त गरेको सुनेको छु ।