माया गौतम
लोकतन्त्र र गणतन्त्रको आगमनसंगै सरकार चलाउनेहरूको राम्रो कामभन्दा पनि नराम्रो गतिविधि र क्रियाकलापहरू बढी देखिने गरेको छ । अहिले देशमा सार्वजनिक जग्गामाथि आँखा लाउनेहरूको बारेमा समाचार पत्रका पानाहरू भरिने गरेका छन् । सार्वजनिक जमिन व्यक्तिका नाममा सार्नेहरूको पर्दाफास भैराखेको छ । अहिले यस्तो स्थितिबाट मुलुक गुज्रेको छ कि सुरूङ भित्र छिर्दा लाइन गएको जस्तो अवस्थामा जनताहरू बाँचीरहेका छन् । लामो संघर्ष भनौ निष्ठाको राजनीति गर्ने नेताहरूले मुलुकका जनता सार्वभौम भै बाँच्न सकुन भनेर २००७ सालदेखि लड्दै आए । पटक–पटकको संघर्ष लडाईं, जेल र नेल गरेर ल्याएको लोकतन्त्रले जनता सार्वभौम होइन अरू कुण्ठीत र दाशी बन्ने भैरहेका छन् । प्रत्येक परिवारको एक न एक सदस्य पेट र परिवार पाल्न देश नै छोडेर विदेशीनेमा कुनै घर चोखो छैन । विदेशी खाडीको पसीनाको कमाइको रेमीटेन्सले मुलुक धानीएको छ ।
अहिले संसद तातेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललीता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्व बुधबार मुद्दा दायर गरेको छ । यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तलाई पनि प्रतिवादी बनाएको छ । यो विषयमा नेकपाका नेता विष्णु पौडेलका छोरालाई बचाउने काम भएको ठहर गरी कांग्रेस संसद र सडक आन्दोलनमा उत्रिएको छ । अहिले दुई तिहाइको सरकारको दम्भमा प्रतिशोध लिने काममा अख्यिारले सरकारलाई सहयोग गरेको र अख्तियारले सरकार चलाउने नभएर सरकारले अख्तियार चलाएको अनुमान धेरैले गरेको देखिएको छ ।
केही वर्षदेखि देशमा भएका सार्वजनिक जग्गामाथि आँखा गाढ्नेको गिरोहनै सकृय भएको थाहा पाउन सकिन्छ । खाली जग्गा देख्नै नसक्ने लोभी पापीका कारणले माथिको घटना भएको छ । सार्वजनिक, खाली जग्गामा आँखा गाढी लुट्नेको संख्या अनगिन्ती भैरहेको माथिको घटनाले देखाइरहेको छ । यो भनीरहंदा पहिले सबै ठिक थियो भन्न खोजिएको होइन । हामीले जान्दासम्म नै धेरै ठाउँहरू खाली थिए जुन सरकारी हो छुनु हुँदैन भन्ने मान्यता रहेको थियो । सरकारी स्कुल वरिपरि उत्ती जग्गा देखिन्थ्यो । विद्यार्थीहरू खली ठाउँमा मजाले खेल्न पाउँथे । यी ठाउँहरू बिस्तारै भरिंदै गएका छन । शहरका सामुदायिक विद्यालय सामुन्नेका जग्गामा सटर बनाइ भाडामा दिने चलन छ । स्कुललाई आयस्रोत जुटाउने नाममा सटर भाडामा दिँदा भवन नै कब्जा गरेका अर्थात नछोड्ने भएका घटना पनि देखिने गरेका छन् । विद्यालय वा अन्य खाली ठाउँका सरकारी जग्गा केही वर्षलाई भाडामा लिने र अवधि पुगेर पनि छोड्न नमानेका घटना उत्ती छन् । खाली जग्गाहरूलाई पेट्रोल पम्प राख्ने जस्ता प्रयोजनमा दिंदा पम्पसंगै भवन बनाउने र शो ठाउँमा जो बस्यो उसैले कब्जा गर्ने काम भएको देखिन्छ ।
पहिलेका एउटा राजाले सबै बिगारे भन्थे तर खाशै के बिगारेका थिएर तर अहिलेका अनगिन्ती राजाले मुलुकनै सखाप पारी सके । धेरै राजाका कारण खोलाका बगर सकिए । गाउँदेखि शहरसम्म चौर भन्ने ठाउँ त के त्यो शब्द नै लोप होला जस्तो छ । गाउँमा भैंसी पौडिने पोखरी पुरीए बुटवलको हकमा कुरा गर्दा चानबारी अहिले नाम बदलेर चन्द्रनगरमा पुलीसले फायरिङ गरेर टे«निङ गराउँथ्यो, ठुलो चौर थियो अहिले त्यो सबै जग्गा लोकतन्त्र पछिका धेरै राजाका आशेपासेले षड्यन्त्रकारी नापी गरेर नपाका कर्मकारीलाई बिलो बाँडेर सबै सके । हाम्रो हिन्दु राष्ट्र, मुलुकका विभिन्न ठाउँमा छरीएका मन्दिरहरूका गुठी जग्गामा लुटुवा गिरोहका कारण व्यक्तिका नाममा दर्ता भएका धेरै घटना बाहिर आइरहेका छन् । खाली जग्गा देख्नै नहुने गिरोहले शहर गाउँमा भएका जग्गा सर्वदलीय बैठक बसी पार्टी कार्यालय बनाउन संस्थाका भवन बनाउन भागबण्डा गरी हडप्ने गरेका पनि छन् । कोदाले, ऐलानी जस्ता नाममा जग्गा हडप्ने काम उत्ती भैरहेको छ । शहरका नजिकै रहेका जंगल छेउछाउका जग्गा हडप्ने उत्ती छन् । लाग्छ यो देशमा जस्को शक्ती र पहुँच छ उसैले यो गरीरहेको छ ।
स्थानीय तहदेखि केन्द्रीय तहसम्म सार्वजनिक जग्गा हात पार्न जग्गा लुटुवा गिरोहको समूहले कर्मचारीलाई पनि भाग बिलो लाउँछन् र हात लिन्छन् । कागजपत्र मिलाइ लुट्ने काम गरिरहेको थाहा लाग्छ । स्थानीय तहमा लामो समयसम्म जनप्रतिनिधि नभएका कारण पनि अरू सार्वजनिक जग्गा लुट्न सजिलो भएको देख्न सकिन्छ । भएका खाली जग्गा कर्मचारी पत्रकार सम्मलाई भागबण्डा गरी कारोबार गरेको देखिन्छ । को बोल्ने, खाली सार्वजनिक जग्गामा आँखा लाउनेमा कोही चोखो रहेन यसै कारण भएका चौर खोलाको बगर सबै भरिएका छन् ।
अहिले ललीता निवासको जग्गाको विषय उठीरहेको छ यो बालुवाटारको महंगो जग्गा भएका कारण चर्चा बटुलेको छ यसरी खोज्दै जाने हो भने अनगिन्ती ठाउँमा यस्ता जग्गा प्रकरण भेटिंदै जाने छन् । खरिदार मुखियाको जागीर खाने कर्मचारी जग्गाकै कारण खरबपती बनेका छन् । यती धेरै सार्वजनिक जग्गा कब्जा हुँदा यस्को संरक्षण गर्ने कोही देखिंदैन, जो संरक्षण गर्ने ठाउँमा बसेका छन् उनै लोभी पापी भएर काम गर्दा यो सबै भएको देखिन्छ । यहाँका टाउके नेता जस्ले नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने भाषण दिन्छन् उनले विश्वका सयौं देशको भ्रमण गरेका छन् उनीहरूले देख्नुपर्ने विकसित देशमा बाटो फराकिलो, पैदल यात्री, साइकल यात्री, गाडी, टे«नको आ–आफ्नो हुन्छ । प्रत्येक गल्लीमा बच्चा खेल्ने पार्क हुन्छ ।
कुराले विभिन्न देश जस्तो बनाउनेले सार्वजनिक जग्गा सबै व्यक्ति र पार्टीलाई भाग लगाएपछि कसरी यो देश सुन्दर बन्न सक्छ । यसैले अझैपनि दोषीलाई निष्पक्ष सजायको भागी बनाएर यसरी लुटिएका जग्गा फर्काउने काम र कहीं खाली जग्गा बचेको छ भने संरक्षण गर्ने कार्यतिर लाग्ने कि ?