प्रेम सुनार
गुल्मी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार हुन गइरहेको गुल्मी जिल्ला अधिवेशनमा सो पार्टीका वर्तमान जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले सभापति पदको उम्मेद्वारी घोषणा गरेका छन् ।
बिहीबार बिहान पन्थीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सभापति पदको उम्मेद्वारी घोषणा गरेका हुन् । ‘म पुरानो पुस्तालाई सम्मान गर्दै युवा पुस्तालाई पार्टी नेतृत्वमा जोडेर पार्टीलाई चुस्त दुरूस्त बनाउन र पछाडि परेको वर्ग समुदायलाई माथि उठाउन सभापति पदको उम्मेद्वारी घोषणा गरेको हुँ,’ पन्थीले भने– ‘कार्यकर्ताहरूले कर्ममुखी, गतिशिल र सशक्त नेतृत्व खोजिरहेकोले मेरो उम्मेद्वारी अहिलेको आवश्यकता हो भन्ने महशुस गरेको छु ।’
उनले नेपाली कांग्रेस गुल्मीबाट २००७ सालदेखि नेतृत्व गर्ने सबै अग्रजहरूको नाम नै किटेर स्मरण गर्दै सम्मान प्रकट गरे । विगतदेखि हालसम्म मृत्यु भएका सबै कांग्रेसजनको पनि नाम लिएर स्मरण गर्दै बैकुन्ठबासबाटै उनीहरूको युवा पुस्तालाई आशिर्वाद मिलोस् भनेर कामना गरे ।
‘जनतालाई विकास र समृद्धि चाहिएको छ,’ उनले भने –‘तम्घास सिमलटारी सडक खण्डमा पुल भई दिएको भए , मालिका गाउँपालिकाका एक जना कोरोना संक्रमितको ज्यान जाने थिएन, यस्ता थुप्रै पात्रहरूले अकालमा ज्यान गुमाएका छन् यसर्थ पनि नेपाली कांग्रेस गुल्मीले विकासको अभिभाकत्व लिन पनि एउटा सशक्त नेतृत्व खोजिरहेको छ , त्यसका लागि म आफू सक्षम छु भन्ने कार्यकर्ताहरूको बुझाई मैले पाएर उमेदवारी दिएको हुँ । ’
पन्थीको उम्मेद्वारी सर्वोत्कृष्ट : सेन
नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति त्रैलोक्यप्रताप सेन सभापतिका उम्मेद्वार खिलध्वज पन्थीका पक्षमा खुलेरै लागेका छन् । जिल्लाकै प्रभावशाली नेता सेनले भने–‘महिनौंसम्म कार्यकर्ताहरूको माझमा पुगें, ग्रासरूट पुरै खिलध्वजको पक्षमा लागेको पाएँ, कांग्रेस कार्यकर्ताहरू मात्र होइन, आम सर्वसाधरण जनताले समेत खिलध्वजलाई विकास प्रेमी नेताका रूपमा मान्दा रहेछन्, विकास र खिलध्वज पर्यावाची नाम भएको पाएपछि खिलध्वज जता म पनि उतै लागेको हुँ ।’
उनले थपे–‘हामीले भन्दाखेरी पुस्ता हस्तान्तरण भन्छौं तर पुरानो पुस्ताले नेतृत्व छाड्न नसक्दा नयाँ पुस्ता सधै पछाडि परेका छन् यसर्थ युवा पुस्तालाई नेतृत्वमा जोड्नका लागि पनि खिलध्वज पन्थीको उम्मेद्वारी जायज मात्र नभई सर्वोत्कृष्ट उम्मेद्वारी हो ।’
‘म आफैले बढाई चढाई गर्नै परेन, खिलध्वजको रफ्तार यसरी अगाडी बढ्यो कि उनको रफ्तारलाई कसैले रोक्ने अवस्थै रहेन्,’ उनले भने–‘यस्तो युवा पुस्ताले नेतृत्व पाउन भनेर मैले मात्र होइन्, नेपाली कांग्रेसका जन्मदाता महामानव बीपी कोइरालले समेत बैकुण्ठवासबाट आशिर्वाद देउन भन्ने कामना गर्दछु ।’
उनले त्यसो भनिरहँदा हालै निर्वाचित नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्रबहादुर महत सहितका नेता कार्यकर्ताहरूको तालीको गडगडाहट चलेको थियो । कार्यक्रममा अर्की पार्टी सचिव विष्णुकुमारी सापकोटा पनि थिईन् ।
उनले जनचाहनाअनुसार नै सहमतिबाट नेतृत्व चयन हुनु पर्नेमा जोड दिइन् । उनले महिलालाई नेतृत्वमा लैजान नचाहने पुरूष प्रधान मानसिकता कायमै रहेको दुखेसो गर्दै सहमति जुटे आफूले पनि नेतृत्वको दाबी गर्ने बताइन् । उनले घुमाउँरो पाराले सभापति पदका उम्मेद्वार पन्थीको समर्थन जनाइन् ।
उता क्षेत्र नम्बर १ का नवनिर्वाचित क्षेत्रिय सभापति पारिश्वर ढकालले पनि युवा पुस्तालाई नेतृत्वमा जोड्न खिलध्वज पन्थीको उम्मेद्वारी अहिलेको आवश्यकता भएको धारणा राखे । क्षेत्र नम्बर १ कै नवनिर्वाचित महाधिवेशन प्रतिनिधि तथा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले पनि पार्टीलाई चुस्त दुरूस्त राख्न र विकास प्रति जनताको अपेक्षा पूरा गर्न पनि खिलध्वज पन्थीको उम्मेद्वारी आवश्यक रहेको धारणा राखे । क्षेत्र नम्बर १ का अर्का नेता तथा कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापामगरले भने आफै सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यस गाउँपालिका बाहेक क्षेत्र नम्बर १ मा पनि उम्मेद्वार पन्थीको माहौल राम्रो रहेको उनी निकट कार्यकर्ता बताउँछन् । यता क्षेत्र नम्बर २ का युवा नेता तथा सचिव पदका उम्मेद्वार भगतसिंह खड्का, सह–सचिवका उम्मेद्वार धर्मराज पाण्डे र अर्का सह–सचिव पदका उम्मेद्वार रेशम कुँवर खिलध्वज पन्थीका पक्षमा सिङ्गो क्षेत्र नम्बर २ रहेको दाबी गर्दछन् ।
सभापति पदका उम्मेद्वार पन्थी रेसुङ्गा नगरपालिका–६, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्याधिक मतले विजयी भई पार्टी संगठनलाई चुस्त पार्दै र विशेष गरि युवा पुस्ताको बढी मन जित्दै आएका छन् ।
उनले भने–‘आफूले सचिव पदको जिम्मेवारी लिँदा ८ हजार पार्टी सदस्य थिए, अहिले ह्वात्तै बढेर १४ हजार पार्टी सभापति बनेका छन् यत्तिले मात्रै चित्त बुझाउने अवस्था छैन, २०४८ सालको जस्तै कांग्रेस फर्काउनका लागि पनि मेरो उम्मेद्वारी आवश्यक छ ।’
वर्तमान पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने अहिलेसम्म सभापतिको उम्मेद्वारी घोषणा गरेका छैनन् । उनले भने सर्वसम्मत भए आफू सभापति पदमा दोहोरीने तर मतदान प्रकृयामा जानु परे खासै रूची छैन् ।’ श्रेष्ठ पक्षधरले केन्द्रीय सदस्य रहेका चन्द्र भण्डारीलाई खिलध्वज पन्थीलाई बोकेर हिंडेको आरोप लगाउँदै आएका छन् । केही दिन अघिको एक कार्यक्रममा सभापति श्रेष्ठले त्यही विषयलाई लक्षित गर्दै भनेका थिए –‘चन्द्र भण्डारी सबैका साझा नेता बन्नु पर्छ ।’

उप–सभापति पदको पहिलो दलित उम्मेद्वार
गुल्मी । गुल्मी जिल्ला कांग्रेसको इतिहासमा पहिलो पटक एक जना दलित समुदायका नेताले जिल्ला पार्टीको उप–सभापति पदको उम्मेद्वारी घोषणा गरेका छन् ।
यसअघि जिल्ला पार्टी सदस्य र दलित विभाग प्रमुख रहेका झबिन्द्र विश्वकर्माले अत्याधिक मत प्राप्त गरि महाधिवेशन प्रतिनिधिमा विजयी भए लगत्तै उप–सभापति पदको उम्मेद्वारी घोषणा गरेका हुन् ।
क्षेत्र नम्बर १ बाट ४ सय १४ मत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी भएका विश्वकर्माले भने–‘जिल्लामा हालसम्म सम्पन्न भएका पार्टीको संंरचनागत निर्वाचनमा दलित समुदायबाट पदाधिकारीमा शून्यता रहेकोले त्यसको असरलाई पूर्ति गर्न र पार्टीलाई समावेशी बनाउन मेरो उम्मेद्वारी रहेको हो ।’
रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित दुर्गम थलोबाट नेपाली कांग्रेसको नेतत्व गर्दै आएका विश्वकर्मा २०५४ सालदेखि कांग्रेसको राजनीति गरेको र २०६० सालदेखि नेतृत्वदायी भूमिका निभाउँदै आएको बताउँछन् । उनी दुई कार्यकाल नेपाल दलित सघको जिल्ला अध्यक्षको भूमिकामा रहेका थिए । नेपाल दलित संघको महाधिवेशनमा निर्वाचित भई केन्द्रीय महासमिति सदस्यसमेत भएका उनी पार्टीको जिल्ला कार्य समिति हुन् ।
उनी २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेद्वार रहेका थिए । पार्टीमा दलितहरूको सहभागिता बढाउन र दलित मैत्री पार्टी निर्माणका लागि पनि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।