विन बहादुर कुँवर
यही मंसिर ८ गतेको बिहानै एउटा अत्यन्त दुःखद समाचार आयोे । क. रामप्रसाद बञ्जाडे (टंकमणि) को सडक दुर्घटनामा निधन । पत्याउनै गाह्रो । तर यथार्थता नै थियो त्यो निधनको समाचार । थुप्रै साथीहरुले पटक–पटक फोनद्वारा उनको विगतलाई सम्झाउन भनिरहे । विगत खासगरी अनेरास्ववियू (छैठौंं)को विद्यार्थी काल अर्थात् २०४२÷०४३ सालदेखि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो । म उक्त संगठनको अध्यक्ष हुँदा लुम्बिनी अञ्चलबाट उनी उक्त संगठनको केन्द्रीय सदस्य भएका थिए । म हतार हतार बुटवल अञ्चल अस्पतालमा उनको मृत शरीरलाई हेर्न त्यहाँ पुगे । तर उनलाई त्यहाँबाट आफ्नो निवास स्थान जितगढी लगिसकिएको थियो । त्यसपछि तुरुन्त उनलाई माओवादी केन्द्रको पार्टी कार्यालय माझगाउँस्थित सहिद स्मृति भवनमा ल्याउन लागिएको जानकारी पाएँ । त्यस अनुरुप म लगायत थुप्रै साथीहरु त्यहाँ गयौं र उनको अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी त्यहाँबाट अन्तिम दाहसंस्कारको लागि घाट पु¥याउने काम भयो । यसरी एउटा जिउँदो जल्दोबल्दो, होनहार क्रान्तिकारी र जुझारु नेतालाई हामीले अल्पायुमै गुमाउनु पर्दा हामी सम्पूर्ण अत्यन्त दुःखित र मर्माहत भएका छौं । यो दुःखद घडीमा सर्वप्रथम उनीप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली र साथै उनको सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना दिन चाहान्छु ।
मान्छे हो, एक दिन जन्मिन्छ र मर्दछ यो प्रकृतिको नियम नै हो । मान्छे मात्रै होइन हरेक जीव, तारा, ग्रह साराकासारा यसैगरी जन्मिन्छन् र बिलाउँछन् । जन्मने र मर्ने जतिसुकै स्वाभाविक प्रक्रिया भए पनि हाम्रो मानवीय स्वभाव र चरित्र जन्मदा खुसी हुने र मर्दा दुःखित हुने हुन्छ । तर कतिपय व्यक्तिको मृत्यु अस्वाभाविक र अपत्यारिलो हुन्छ । त्यसले सबैलाई असह्य पीडा दिइरहन्छ । त्यस्तै पीडा हामी सबैलाई क. रामप्रसाद बञ्जाडेको निधनले पु¥याइरहेको छ । अझ मेरो उनीसितको सम्बन्ध एउटै घर परिवारको जस्तै नै थियो । मलाई सम्झना छ पटक–पटक उनका घरपरिवारका सम्पूर्ण सदस्यहरुले यो अलि मूर्ख छ अरु कसैले भनेको पनि मान्दैन, आफ्नै जिद्दीमा छ । यसलाई तपाईंंले सम्झाई बुझाई ठूलो मान्छे बनाउनु होला । जिम्मा तपाईंको छ । हुन पनि रामप्रसाद सानै उमेरदेखि मेरै संगतमा हुर्के बढे । अरु जो कुनैसित जिद्दी गरे पनि मसंग उनले कहिल्यै पनि त्यसो गरेनन् । जे भन्दा पनि एउटा बफादार र इमान्दार सिपाईकै जस्तै पार्टी र संगठन निर्माणमा लगातार खटिरहे । अहिले पछिल्लो यो अवस्थामा उनलाई पार्टीले एउटा महत्वपूर्ण पद रुपन्देही जिल्ला इञ्चार्ज बनाई पठाएको थियो । मैले बल्ल पार्टी केन्द्रले नेता चिनेछ र अब रुपन्देही जिल्ला केही वर्ष भित्र माओवादीकरण हुन्छ भनेको थिएँ । उनको नेतृत्वमा त्यसको थालनी पनि भइसकेको थियो । तर दुःखको कुरा बीचमै उनको निधन हुन पुग्यो । मेरो र उनको त्यो सपना सायद अपुरै पनि हुन सक्छ ।
मैले यस्तो किन भनेको भने २०४२ सालमा तत्कालीन नेकपा (मसाल) फुट्यो । मोटो ‘श’ मसाल र पातलो ‘स’ मसाल बने । हामी त्यतिबेला हामी पातलो ‘स’ मसालमा आबद्ध थियौं । म काठमाडौंबाट विद्यार्थी संगठनको पुनर्निर्माणको सन्दर्भमा बुटवल आई विद्यार्थीको एउटा भेला बोलाइयो । स्थान थियो हालको मसाल पार्टी कार्यालयको भवन र तत्कालीन गोविन्द सिंहको पुरानो घर । त्यहाँ ५० भन्दा बढी विद्यार्थीहरुको जमघट थियो । त्यसमा हाम्रो पक्षका विद्यार्थी भनेको केवल तीन जना एउटा यिनै रामप्रसाद भने अर्का कमल चुंदाली र बबुर खरेल मात्र । तर पछि यिनै रामप्रसादकै नेतृत्वमा यहाँ विद्यार्थी संगठन बन्यो र पछि २०४५÷०४६ सालपछि त जहाँ हेरौं मसाल अनि जहाँ हे¥यो अखिल छैठौं नै भयो ।
यसरी यो लुम्बिनी अञ्चलभरि नै मसाल पार्टी र अखिल (छैठौं) को निर्माण र विस्तारका लागि क. रामप्रसाद बञ्जाडेको ठूलो योगदान रहेको थियो । पार्टीका हरेक आन्दोलन र जुलुसमा उनकै बढी अग्रसरता र नेतृत्व नै हुने गथ्र्याे । यही क्रममा पटक–पटक उनी गिरफ्तारी भई जेल जीवन बिताउने गरेका थिए । कुटाई पिटाई त कति हो कति ? कहिले पुलिसले भने कहिले मण्डले, कांग्रेसी गुण्डाहरुले । एउटा आन्दोलनको क्रममा उनी गिरफ्तार भई भैरहवा जेल चलान गरियो तर त्यहाँ पनि कैदी बन्दीहरु माथिको अन्याय अत्याचार सहन नसकी त्यसको पक्षमा बोल्दा उनलाई जेलभित्रै हत्कडी लगाई बन्दी बनाइयो । त्यसले मात्र नपुगी उनलाई त्यहाँबाट जेल चलान गरी परासी जेलमा लगियो । तर त्यहाँ पनि त्यस्तै विद्रोही जेलभित्रै हत्कडी लगाई राख्ने काम भयो ।
पार्टी र विद्यार्थी संगठनमा मात्र नभई उनको महत्वपूर्ण योगदान र भूमिका साहित्य, कला र साँस्कृतिक क्षेत्रमा पनि रह्यो । एउटा कुशल कलाकार । नृत्य, गायन र अभिनयमा राम्रो दखल भएको यो क्षेत्रमा उनकै सक्रियतामा थुप्रै सांस्कृतिक कार्यक्रम भए । उनकै सक्रियतामा थुप्रै राष्ट्रिय कलाकारहरु नै निर्माण भए । धनकाजी गुरुङ, धु्रव ज्ञवाली, लक्ष्मी पुनः (जसको हालै निधन भयो) आदि जस्ता राष्ट्रियस्तरका होनहार साँस्कृतिक कलाकारहरुलाई सम्पर्क गरी पार्टीमा समावेश गराउनमा उनको पहिलो भूमिका रह्यो । यति मात्रै होइन उनको ठूलो भूमिका जीवन शर्माद्वारा रचित र गायन पहिलो र दोस्रो रक्तिम गीति क्यासेट यही बुटवलबाट निर्माण गरी प्रचारप्रसार भएको थियो । तर यतिबेला यो क्षेत्र राजनीति मसालमय र साँस्कृति रुपमा रक्तिममय भए पनि २०४८ सालपछि म, विकास के.सी. र रामप्रसादलगायत थुप्रै कमरेडहरु यो अभियानमा निरन्तर हुन सकेनौ । कारण वैचारिक र राजनीति अनि कार्यशैली र कार्यदिशाको थियो । त्यसपछि पनि यहाँ नेकपा (एकता केन्द्र)कै तर्फबाट उनकै नेतृत्वमा क्षितिज नयाँ साँस्कृतिक अभियान सुरु भयो । त्यसमा पुनः धनकाजी गुरुङ, धु्रव ज्ञवाली, चिरन बराल र चुन्नु गुरुङ आदि समावेश भएका थिए । दुःखको कुरा चिरन बराल बाहेक अरु तीन जना कलाकार हाम्रो सामु रहनु भएन । पहिले नै निधन भइसक्यो ।
मसाल पार्टीबाट विद्रोह गरी नेकपा (एकता केन्द्र) मा समावेश भएपछि यो अञ्चलभरि यसको प्रभाव एकदमै न्यून थियो । यो अञ्चल इञ्चार्जको हैसियतले मैले पार्टी पुनर्निर्माणका लागि क. रामप्रसाद बञ्जाडेलाई साथमा लिई प्रत्येक जिल्लामा पार्टी समर्थक र कार्यकर्ता निर्माणका लागि ठूलो प्रयत्न ग¥यौं । त्यसपछि यहाँ पनि एकता केन्द्रको राम्रैै आधार बनिसकेको थियो । तर पार्टीको एकता महाधिवेशनपछि पार्टीभित्र रहेको एउटा घोर दक्षिणपन्थी अवसरवादी पक्षको प्रभावका कारण पार्टी नेतृत्व पनि अलमलमा परेको स्थिति देखियो । मुखले जनयुद्ध र सशस्त्र संघर्षका कुरा गर्ने तर व्यवहारमा संसदीय कार्यशैली नै अपनाइरहने स्थितिका कारण हामी यस क्षेत्रका केही नेता कार्यकर्ताहरुले यसको विकल्पका लागि लामो छलफलमा जुट्यो । सानै भए पनि माओवादी जनयुद्धको थालनी र तैयारीका लागि जन आधार तयार गर्ने, भूमिगत कार्यशैली अपनाउने माओकै सिद्धान्त अनुरुप वर्ग संघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगलाई केन्द्रमा राखेर भूमिगत संगठन विस्तार गर्ने प्रयत्न भयो । उत्पादनका लागि रुपन्देही र कपिलवस्तु जिल्लाका थुप्रै ठाउँहरुमा श्रम शिविरका साथसाथै शारीरिक प्रशिक्षण समेत दिने काम भयो । त्यसका लागि नयाँ माओवादी पार्टी पुनर्निर्माणका लागि भारतीय माओवादी कम्युनिष्ट पार्टी एमसीसीसँग सम्पर्क गरी माओवादी कम्युनिष्ट केन्द्र नेपालको समेत गठन भयो । त्यसमा म, विकास के.सी., राम कार्की, मेघराज ज्ञवाली, हरि शर्मा, प्रेम नेपाली, डि. आर. न्यौपाने र रामप्रसाद बञ्जाडे आदिको सहभागिता थियो । तर पछि २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको थालनी गरेपछि हाम्रो त्यो संगठनले त्यसलाई समर्थन गरी त्यसमा जाने कमरेडहरुलाई त्यसैमा आबद्ध हुने निर्णयअनुसार रामप्रसाद बञ्जाडेलगायत थुप्रै साथीहरु त्यसैमा समावेश भए । केहीपछि राम कार्की अनि मेघराज ज्ञवालीलगायत म, विकाससमेत त्यसैमा समावेश भयौं ।
माओवादी भएपछि त्यसमा पनि रामप्रसादको भूमिका महत्वपूर्ण नै रह्यो । पूर्व एकता केन्द्रको जगमा माओवादी पार्टी पुनर्निर्माण र संघर्षकै कारण यो क्षेत्रमा पनि माओवादी पार्टीको राम्रै आधार बन्यो । तत्कालीन रुपन्देही माओवादी पार्टीका सेक्रेटरी ठाकुर चापागाईं र कार्यालय सचिव रामप्रसाद नै भई यो जिल्लामा भूमिगत माओवादी पार्टीको आधार तयार भएको हो । माओवादी पार्टीमा रहँदा यो जिल्ला मात्रै नभई आवश्यकताअनुसार देशका विभिन्न जिल्लामा उनको सक्रियता रह्यो । यतिसम्मकि गण्डकीको एउटा पार्टी प्रशिक्षणमा सेनाले हवाई हमला गर्दा उनको कानको जाली नै फुट्यो । संजोक उनी मृत्युको ठूलो मुखबाट बच्न सफल भए । यस अर्थमा उनी एउटा जीवित सहिद पनि थिए । माओवादी जनयुद्धको क्रममा भएका थुप्रै फौजी एक्सनमा उनको प्रत्यक्ष सहभागिता नै थियो । यही बुटवलको सैनिक ब्यारेक र इलाका प्रहरी कार्यालय माथिको माओवादी फौजी हमला स्वयं मेरै घर छतबाट कमरेड वीरजंग र उनकै कमाण्डमा भएको थियो । तर दुःखको कुरा पञ्चायती काल रात्रि, अनि राजतन्त्रात्मक बहुदलीय र १० वर्षे माओवादी जनयुद्धकाल भरी दैनिक संघर्ष गरी दुश्मनहरुसँग बच्न र जित्न सफल भएका यी हाम्रा क्रान्तिकारी योद्धा कमरेड यो प्राकृतिक मृत्युबाट बच्न सकेनन् । एउटा सडक दुर्घटनाका कारण उनको निधन भयो । उनको बारेमा लेख्न र भन्न अरु धेरै बाँकी छ । अहिले यहाँ त्यो सम्भव भएन ।
मैले आफ्नै परिवारको भाई जस्तैको नाताले उनलाई तिमी भनी सम्बोधन गरी यो लेख लेखे । तर वास्तवमा अब उनी मेरा पनि एउटा सम्मानित व्यक्ति एक प्रकारले आदरणीय सहिद नै भएका छन् । सरल जीवन र उच्च विचार, त्याग, तपस्या र बलिदानका धरोहर पद, प्रतिष्ठा र कुर्सीको लागि कुनै पनि लोभलालच रुची नै नभएका एउटा विद्रोही र जुझारु नेताको रुपमा कुरा गर्दा पहिलो संविधानसभाको निर्वाचनमा पार्टीले अर्घाखाँची जिल्लाबाट टोपबहादुर रायमाझी र उनलाई सभासदको उम्मेद्वार बनाई उठायो । तर उनले आफ्नो पदको लागि भन्दा बढी टोपबहादुरको लागि समय, आर्थिक खर्च र अरु बन्दोबस्त सबै जुटाई उनलाई जित्याई नै छाडे । तर अलि कति थोरै समय खर्च र तयारी मात्र उनले आफ्नै चुनावी क्षेत्रमा दिएको भए उनी निश्चित रुपमा सभासद नै भइसक्थे । एकदमै थोरै मतको आधारमा त्यतिबेला उनी त्यो निर्वाचनबाट पराजित भएका थिए । निजी सम्पत्ति र निजी परिवारप्रति उनीको बढी मोह कहिले पनि भएन । अर्घाखाँची भूमिकास्थान नगरपालिका अबोल–धारा पानी र नुवाकोटका बासिन्दाहरु उनको यो निधनबाट बढी शोकाकूल र दुःखित भएका छन् । उनकै एक छिमेकी दाजु पर्ने रामसिंह खत्रीले आफ्नो घरपरिवारका लागि भन्दा आफ्ना छिमेकीहरुका लागि उनले धेरै गरे ।
कसैको समस्या पर्दा उनले सबैलाई साथ दिए । मेरी छोरी सीमाको उपचारार्थ बुटवल लैजाँदा डा. भट्टलाई निःशुल्क उपचार गराउन लगाई सञ्चो भयो । त्यस्तै आफ्नो बुबाले महिनाबारी ब्याज लगाई पैसा असुलेको चित्त नबुझाई त्यसको विरोध गर्दै उल्टै हाम्रो अगाडि ती सबैका रुपैयाँहरु फिर्ता गराइदिएको उनले बताए । आफ्नो लागि भन्दा बढी अर्काको लागि खट्ने उनको बानीका कारण उनको पारिवारिक सम्बन्ध त्यति सुमधुर रहेन । देश र जनता अनि पार्टीकै लागि लड्दालड्दै एकाएक उनको यो निधनले उनको आफ्नो परिवार अनि हाम्रो मात्रै नभई सिंगो देश, जनता र पार्टी पंक्ति सबैलाई ठूलो क्षति पुगेको छ । अन्त्यमा पुनः उनीप्रति क्रान्तिकारी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लाल सलाम–अल विदा क. रामप्रसाद बञ्जाडे (टंकमणि) ।