महाधिवेशनको तयारी तीब्र हुँदै गर्दा नेपाली राजनीति गर्मागर्मी बढेको छ । एमाले, कांग्रेस र माओवादी केन्द्र तीन प्रमुख दल महाधिवेशनमा होमिएका छन् । यस्तो महाधिवेशनमा शिक्षक र पत्रकार पनि उम्मेद्वार बनेका समाचार आइरहेका छन् । मूलतः नेपाली कांग्रेसका तल्लो तहका महाधिवेशनमा शिक्षक र पत्रकार चुनावी प्रतिस्पर्धा गरेको पाइन्छ । शिक्षक र पत्रकार सक्रिय राजनीतिमा लाग्दा त्यसले शैक्षिक र पत्रकारिताको क्षेत्रमा भने असहजता पैदा गरेको छ ।
शिक्षक राजनीतिमा लाग्न हुँदैन भन्ने होइन । अवकाशपछि राजनीति गर्न सकिन्छ । तर कम्तीमा शिक्षक रहुञ्जेल सक्रिय राजनीति नगरेको राम्रो हुन्छ । किनकि विद्यालय र विद्यार्थीका लागि शिक्षक भनेको साझा हुन्छ । उसले दिने शिक्षा दीक्षाले विद्यार्थीको भविष्य निर्धारण हुने गर्दछ । समाजमा शिक्षकलाई महत्वपूर्ण द्रष्टाका रुपमा हेरिन्छ । शिक्षक विचारविहीन हुन्छन् भन्ने होइन तर त्यस्तो विचार गोप्य मतदानबाट व्यक्त गर्न सकिन्छ ।
पत्रकार कुनै दलको सक्रिय कार्यकर्ता हुँदा उसप्रति पनि समाजले प्रश्न उठाएको छ । पत्रकारिताको निष्ठा र निष्पक्षतामाथि सवालहरु उठेका छन् । पत्रकारिताको व्यवसायिक इमान्दारितामाथि प्रश्न उठेका छन् । पत्रकारले पनि राजनीति गर्न हुँदैन भन्ने होइन, तर व्यवसायिक पत्रकार कुनै अमुक दलमा सक्रिय राजनीति गर्दा त्यसले निष्पक्षतामाथि स्वाभाविक रुपमा प्रश्न उठ्ने गर्दछ ।
कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा विश्वव्यापी मान्यता छ । सक्रिय राजनीतिमा लागेकाहरुले पत्रकारिता गर्दा दर्शक, स्रोता वा पाठकले विश्वास समेत गर्न सक्दैनन् । यसले सिंगो पत्रकारिता माथिको विश्वासनीयतामाथि गम्भीर क्षति पु¥याउँदछ । त्यसैले पत्रकारले दुई डुंगामा खुट्टा राख्नु हुँदैन । राजनीति गर्ने हो भने पत्रकारिता नगरेको राम्रो हुन्छ ।
पत्रकारिता र शैक्षिक क्षेत्र दुवैले समाजको विश्वासनीयता कायम राख्नै पर्दछ । शिक्षक र पत्रकार पनि सामाजिक प्राणी भएकोमा दुई मत छैन । यी विचारविहीन हुन सक्दैनन् । तर पेशा गर्दा गर्दै सक्रिय राजनीतिमा होमिदा समाजमा प्रश्न उठ्ने गर्दछ । शिक्षक ऐन र पत्रकार आचार संहिताले पनि सक्रिय राजनीतिलाई निरुत्साहित गरेको छ । गुणस्तरीय शिक्षा र गुणस्तरीय पत्रकारिताका लागि सक्रिय राजनीति बाधक बन्दछ । त्यसैले पेशाको गरिमा जोगाउन सक्रिय राजनीतिबाट टाढा रहनु आजको आवश्यकता हो ।