आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । महिलामाथि भएका भेदभाव र दमनलाई कम गर्न विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको हो । सन् १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस विश्वमै पहिलो पटक मनाइएको थियो । पछि त्यसलाई सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । यस दिवसलाई नेपालमा पनि १६ दिने अभियानका रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ ।
एक शताब्दी लामो संघर्षपछि पनि महिला हिंसा भइरहेको छ । लैंगिकलगायत विभिन्न भेदभाव फरक–फरक रूप र प्रकृतिका संसारभर कायम छ । नेपालमा भने १६ दिने महिला हिंसाविरुद्धको अभियानलाई सशक्त रूपमा मनाउने गरिन्छ । वि.सं. १९९७ देखि अहिलेसम्म महिलामाथि हुने हिंसा र भेदभावकाविरुद्ध व्यापक आवाज उठेका छन् ।
नेपाली महिलाहरू अहिले पनि हिंसा, असमानता, अन्याय, अत्याचारको जालोबाट बाहिर निस्कन संघर्षरत छन् । नेपाली समाज अहिले पनि रूढीवादी र कुसंस्कारको शिकार भइरहेको छ । निर्दाे नारीलाई बोक्सी आरोप लगाई यातना दिने गरेका घटना सार्वजनिक भइरहेका छन् । विकसित र शिक्षित देशहरूमा नारी पुरूषबीच सामान सहभागिता छ । विश्व मानचित्रमा महिलाहरू पुरूष सरह नै शक्तिशाली भएका छन् ।
तर नेपाली समाजमा अहिले पनि महिलाहरू चुलो चौकोमा सीमित छ । दुर्गम क्षेत्रमा अवस्था खराब नै छ । पितृसत्तात्मक समाजमा अनेक नाममा सामाजिक, शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायतका क्षेत्रमा अनेक प्रकारको हिंसाका घटना हुने गरेका छन् । बोक्सी, दाइजो, यौन शोषण, बेचबिखन आदिका कारण महिलामाथि हुने हिंसा अमानवीय अत्याचार र पराकाष्ठको चरम रूप हो । घरपरिवारका सदस्य वा शुभचिन्तकहरूबाट बढी मात्रामा विश्वासघात गरेर घरेलु हिंसाका घटना घट्ने गरेका छन् ।
भनिन्छ जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवान पनि खुसी हुन्छन् । यसको अर्थ नारीको सम्मान गर्न सके घरपरिवार र समाज सुखी र खुसी हुन्छ । नारी नभएको घर हुँदैन । जनसंख्याको आधा हिस्सा ओगटेको नारीको उन्नति विना देशको प्रगति सम्भव छैन । त्यसैले हरेक क्षेत्रमा नारीको सहभागिता अनिवार्य हुनु पर्दछ । नारीलाई घरभित्र सीमित गरेर उनीहरूको विकास सम्भव छैन ।
नेपाली महिलाहरूका लागि हिंसाविरुद्धको कानूनी उपचार काकाकूललाई पानी बराबर भएको छ । समाजमा व्याप्त रूढीवाद र अशिक्षाको कारण नेपाली महिलाहरूको ठूलो हिस्सा कानूनको पहुँचभन्दा बाहिर छ । हिंसाविरुद्धको कानूनी उपचारलाई प्रभावकारी बनाउन सके हिंसामा कमी आउने छ । पुरूषप्रति बदलाको भाव राखेर वा महिलालाई हेपेर समानता सम्भव छैन भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।