नेपालको सहकारी अभियान देखिने गरी उत्पादनमुलक काममा जोडिन सकेको छैन् । सहकारी भन्ने बित्तिकै बचत तथा ऋण सहकारी संस्थाका बारेमा धेरै चर्चा हुन्छ । सहकारी संस्थामा रहेको पूँजीलाई जम्मा गरी एउटा विशिष्टिकृत सहकारी स्थापना गरिएको छ ।
गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्देश्यले लुम्बिनी विशिष्टिकृत सहकारी संस्था लिमिटेड स्थापना भएको हो । विशिष्टिकृत सहकारीले गर्ने काम र योजनाका बारेमा लुम्बिनी विशिष्टिकृत सहकारी संस्था लिमिटेड मणिग्रामका अध्यक्ष डा. खगराज शर्मासंग गरिएको कुराकानी
विशिष्टिकृत सहकारी कसरी गठन भएको हो ?
नेपालमा सहकारी क्षेत्रले ठूलो लगानी लगाएर काम गर्ने सन्दर्भमा ऐन कानूनहरू बाधक रहे । २०४८ को ऐनले सबै ठूलो लगानी गरेर जाने अपेक्षाकृत काम गर्न बाधा उत्पन्न भयो । त्यसैले अन्तर्राष्ट्रिय सहकारीले गर्ने कामलाई हेर्दा र सहकारी क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाले सहकारी ऐन २०७४ मा विशिष्टिकृत सहकारी स्थापना गर्ने व्यवस्था भयो । र सहकारी सहकारी ऐन २०७४ बमोजिम नै विभिन्न प्रकृतिका दुग्ध, कृषि, बहुउद्देश्यीय, बचत तथा ऋणलगायतका विभिन्न प्रकृतिका सहकारी संस्था मिलेर विशिष्टिकृत सहकारी बनाउने र विशिष्टिकृत सहकारीमार्फत ठूलो लगानी गर्ने प्रावधानका आधारमा नै लुम्बिनी प्रदेशका सहकारी अभियान्ताबाट पनि एउटा ठूलो कार्यक्रम ल्याउने तयारी गरेका हौं । करिब हामीले २०७५ सालदेखि नै यो चिन्तन सुरु गरेका थियौं त्यही बेला नै तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन २०७६ असोज ९ गते आयोजना ग¥यो । रूपन्देही बचत संघ र जिल्ला रूपन्देही संघलगायतका संस्था मिलेर २०७६ भदौ ३० गते भेला राखेर ११ सदस्यीय समिति गठन गरिएको हो । त्यती बेला लुम्बिनी प्रदेशमा ऐन बने पनि नियमावली बनेको थिएन, नियमावली बनाउन पनि हामीले सहयोग गरेका थियौं । २०७७ असार ५ गते लुम्बिनी प्रदेशअन्तर्गत पहिलो नेपाल भरि पनि दुई÷तीन स्थानमा पर्ने गरी यो संस्था दर्ता भएको हो ।
संस्थाको मुख्य उद्देश्य के छ ?
हामीले वास्तवमा यो सहकारी अभियानलाई अगाडि बढाएर जाने सन्दर्भमा हामीले दुग्ध प्रशोधन युएचटी अति उच्च तापमानयुक्त प्रविधि अहिलेसम्म नेपालमा छैन । त्यसमा १३८ डिग्रीदेखि १४२ डिग्रीसम्म तापक्रममा दूधलाई तताएर केही सेकेण्डमा नै चिसो बनाएर प्याकेजिङ्ग गरिन्छ । नेपालमा अहिले भारतलगायत विभिन्न तेस्रो मूलुकका प्याकिङ गरेका दूध नेपालका ठूला डिपार्ट मेन्ट तथा ठूला सपिङ कम्पलेक्सहरूमा देखिन्छ । त्योसंगै बहुआयमिक उत्पादन चिज, दही, आइसक्रिम, छुर्पी, विभिन्न मिठाईहरू बनाउने र किसानले उत्पादन गरेको दूधलाई पनि उचित मूल्य प्रदान गर्ने, बजारको सुनिश्चित गरिदिने, उत्पादनको बजारीकरण गर्ने र सबैसँग समन्वयन गरेर अगाडि बढ्ने, त्यस्तै ठूला ठूला पशुफर्म विकास गर्ने, पशुहरूको प्रजनन्को लागि आवश्यक पर्ने सिमेन उपलब्ध गराउने, त्यस्तै पशुहरू नै आवश्यक परे विदेशदेखि आयात गर्ने जस्ता काम पनि हामीले गर्नुपर्छ भनेका थियौं तर दर्ता प्रक्रियामा अहिले प्रारम्भमा सहकारीबाट उत्पादन गरेका दूध जम्मा गरी प्रशोधन र बजारीकरण गर्ने चरणमा छौं । अन्य विषय क्रमशः दोस्रो चरणमा सुरु गर्ने उद्देश्य राखेका छौं ।
यसमा कस्ता संस्था किन र कसरी आबद्ध हुने ?
हाम्रो संघीय कानूनअनुरूप नै प्रदेश कानून निर्माण भएको छ । प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ मा नै टेकेर हामीले संस्था दर्ता गरेका छौं । त्यसको आधारमा नै हामीले विनियम पनि बनाएका छौं । त्यसअन्तर्गत लुम्बिनी प्रदेशमा रहेका कुनै पनि सहकारी यसमा आबद्ध हुन सक्छन् ।
उत्पादनमुलक सहकारीको हकमा कम्तीमा एक लाख रुपैयाँ र अन्य प्रकृतिका सहकारीको हकमा कम्तीमा पाँच लाख रुपैयाँ शेयर राख्नुपर्ने हुन्छ । र पहाडी जिल्लाको सहकारीको हकमा सबै प्रकृतिका सहकारीले एक लाख रुपैयाँ राखेर शेयर सदस्यता लिन सक्ने व्यवस्था छ ।
संस्थाको वर्तमान अवस्था कस्तो छ ?
यसमा अहिलेसम्म लुम्बिनी प्रदेश भित्रको रूकुम, रोल्पा, प्यूठान र दाङ बाहेक सबै जिल्लाका १ सय १२ वटा सहकारी संस्था यसमा आबद्ध भएका छन् । लुम्बिनी प्रदेश भरी नै जाने हाम्रो अन्तिम तयारी समेत भैसकेको छ । कोभिडका कारण सदस्यता वृद्धिलाई असर ग¥यो तर सबैको साथ सहयोग रहेको छ । अझै पनि हामीले इच्छुक संस्थालाई हार्दिकताका साथ सदस्य बनाउने योजनामा राखेका छौं ।
यस संस्थामा आबद्ध भैसकेका सहकारीका सदस्यले पैसा डुब्ने त होइन भनेर चिन्ता गर्न थालेको पाइएको छ नि ?
अहिले लगानी गरेपछि आजको आजै ब्याज आउने सोंच र प्रक्रियाले अभ्यस्त भएको हाम्रो सहकारी अभियान छ । त्यसले गर्दा हामी सबैको मनस्थिति नै त्यही अनुरूपको छ तर उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेपछि धैर्य राख्नुपर्छ । पूर्वाधार निर्माण गर्न पनि समय लाग्ने, अन्य कानूनी कुरा मिलाउन डेढ वर्ष त्यसैमा लाग्यो र डीपीआर सम्पन्न भएको छ । अब टेन्डर आह्वान गरे एक वर्षभित्र निर्माण सकेर त्यसपछि ६ महिना ÷वर्ष दिनभित्र लाभांश वितरण गर्छौं ।
यो परियोजनामा लगानी गरेका सहकारीले आठ÷दश वर्षभित्रमै खुशी हुने परिस्थिति हामीले निर्माण गर्छाैं । हामीले केही सहकारी हेरेयांै । त्यहाँको उत्पादन सञ्चालन हेर्दा पनि यसमा विश्वस्त हुन सकिन्छ । दूध शिशु, वृद्ध सबैका लागि आवश्यक पर्ने कुरा हो । अहिले हामी बजारबाट जुन दूध उपभोग गरिरहेका छौं त्यो दूध स्वास्थ्य तथा कानूनी कुनै रूपबाट खान योग्य छैन । बिरामी पशुको दूधलाई प्रशोधन नगरी खाने हो भने हाम्रो शरीरलाई यसले धेरै रोगहरूबाट आक्रमण गर्छ र पूरानो पुस्ताले त त्यो दूध पचाउँदै गएको छ तर नयाँ पुस्ताले त्यो दूध पचाउन सक्दैनन्, भाइरसले आक्रमण गरेर बच्चाहरू दूध नै नखाने अवस्थामा पुग्छन् । युएचटी प्रविधिबाट प्रशोधन गरेको दूध वृद्ध, शिशु सबैका लागि उपयोगी हुन्छ । अहिले चिन्ता गर्ने साथीहरूले धैर्य गर्नुहोस् हामी काम गरेर देखाउँछौं ।
अहिलेसम्मको प्रगति के छ ?
अहिले महिलासहित १५ सदस्यीय सञ्चालक समिति रहेका छौं । त्यस्तै ११ सदस्य परामर्श समिति बनाएका छौं । ५ सदस्यीय सल्लाहकार समिति बनाएका छौं । अर्को हामी हाम्रो विभिन्न सहयोगी निकाय सहकारी संस्था जसले पशुपालन गर्छन् र त्यसका सदस्य अर्थात किसानका पशु बिरामी पर्न सक्छन्, उचित दानाको आवश्यकता पर्दछ, वित्तिय सहयोग, बजारको व्यवस्था गर्न विभिन्न ऐजेन्सीसंग सम्झौतामा सहयोग गर्ने साेंच समेत गरेका छौं ।
तिलोत्तमा नगरपालिकाले दुई बिगाहा जग्गा लिजमा दिएको छ, हामीले ९ कठ्ठा जग्गा आफैले किनेका पनि छौं । ३ विघा बढी जग्गा अहिले हाम्रो छ । तिलोत्तमा नगरपालिकाले २० लाख रुपैयाँ बराबरको तारबारमा सहयोग गरेको थियो । तीन तहकै सरकारले हामीलाई सहयोग गरेको अवस्था छ । यो वर्ष पनि तिलोत्तमा नगरपालिकाले २० लाख रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकारले पनि २ करोड रुपैयाँ बजेट छुट्टाएको छ । संघीय सरकारले पनि ९० लाख रुपैयाँ तिलोत्तमा नगरपालिकामार्फत काम गर्ने गरी छुट्टाएको छ । सहकारी अभियान भनेर जिल्ला, प्रदेश र संघले तथा राष्ट्रिय सहकारी लि. सबैले हामीलाई सहयोग गरेको अवस्था रहेको छ । नेपालमा यति ठूलो लगानीमा सञ्चालन गर्न लागेको यो परियोजना पहिलो हो ।
प्रत्यक्ष रूपमा यो सहकारीमार्फत कति व्यक्तिले रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहला ?
हाम्रो फ्याक्ट्री र बजारसम्म करिब प्रत्यक्ष रूपमा ३ सय व्यक्ति जोडिनु हुन्छ । अप्रत्यक्ष रूपमा त १०औं हजार व्यक्ति जोडिन सक्छन् । पशुपालन, पशु दाना, घाँस उत्पादन हरेक विषयलाई हेर्दा रहर लाग्दो सञ्जाल बन्छ ।
चुनौति कस्ता छन् ?
हामीले देखेको सपना सुन्दर छ तर चुनौति पनि छन् । हाम्रो देशमा कृषि, पशुपालन लक्षित कार्यक्रम गर्न विभिन्न योजना बनाएको छ । तर बजारीकरणको सन्दर्भमा तटस्थ छ । कानूनी अड्चन छन् । राजनीतिक कर्मचारीतन्त्रले नीतिगत कानूनी झन्झट बेर्होनु परेको छ । त्यस्तै अहिले सहकारीले पैसा किन्ने, पैसा राख्ने र पैसा बेच्ने जुन यस्तो खालको संस्कृति बसेको छ, यो एकदमै गलत छ यो पूँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गर्नुपर्ने बानीको विकास होस् भन्ने देख्छु । अभियानभन्दा अलि बाहिर जाँदा केही धैर्य गर्नुपर्छ ।
प्रस्तुति
प्रतिमा गौतम