लुम्बिनी संवाददाता
बुटवल
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्षेत्रीय अधिवेशनअन्तर्गत साविकको लुम्बिनी अञ्चलका ६ वटा जिल्लाका आठ निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १४ वटा निर्वाचन क्षेत्रमध्ये कपिलवस्तुका तीन वटा निर्वाचन क्षेत्रमा मतदान स्थगित भएको छ भने रुपन्देहीको दुई र नवलपरासीको एक वटा निर्वाचन क्षेत्रमा मतगणना सकिएको छैन ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा तीन वटा निर्वाचन क्षेत्रमा मतगणना समापन भएको छ । क्षेत्र नं. २ मा मतगणनाको परिणाम यो समाचार तयार पार्दासम्म आएको छैन । क्षेत्र नम्बर ३ मा आजदेखि मतगणना सुरु हुने छ ।
जिल्लाको क्षेत्र नं. १ को सभापतिमा हिरा केसी निर्वाचित भएका छन् । देवदह नगरपालिकाका मेयर रहेका केसी सोमबार भएको क्षेत्रीय अधिवेशनबाट प्रतिद्वन्द्वी विश्वनाथ यादवलाई हराउँदै पुनः निर्वाचित भएका हुन् । केसीले ३ सय ९६ मत प्राप्त गर्दा यादवले २ सय १५ मत प्राप्त गरे ।
१ नं. क्षेत्रीय समितिको सचिवमा बैजनाथ शाहनी र विजय गुरुङ तथा सह–सचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सह–सचिवमा विजयी उम्मेद्वार पनि केसी समूहकै हुन् । महाधिवेशन प्रतिनिधिको भने अझै टुंगो लागेको छैन ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्।
क्षेत्र नम्बर ५ मा बसिउल्लाह मुसलमान निर्विरोध चयन भएका छन् । यो क्षेत्र प्रतिनिधि सभा सदस्य भरत शाहको निर्वाचन क्षेत्र हो । क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सह–सचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध चयन भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए । क्षेत्र नं. ४ र ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यस्तै पाल्पाको क्षेत्रीय समितिको अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा पाल्पामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हाबी भएको छ । मंगलबार प्राप्त नतिजाअनुसार दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा पौडेल पक्षकै बर्चश्व देखिएको हो । कांग्रेसको केन्द्रीय नेतृत्व चयन र नीति निर्माणका लागि संघीय महाधिवेशन प्रतिनिधि चयन सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
कुल ५२ जना प्रतिनिधिमध्ये दुई क्षेत्रीय सभापति पौडेल पक्षधर नै विजयी भए । महाधिवेशन प्रतिनिधिका ५० मध्ये २ जना मात्र देउवा पक्षधर नेता विजयी भएको पौडेल पक्षधर नेताहरूले दाबी गरेका छन् । देउवा पक्षधर प्यानलमा नपरे पनि क्षेत्र नं.१ मा दुई जनाले जित हात पारेका हुन् ।
वडा र प्रदेश क्षेत्र निर्वाचन सकिएको पाल्पामा मंगलबार दुई निर्वाचन क्षेत्रमा मतदान र मतगणना सकिएको हो । निर्वाचनबाट क्षेत्रीय समिति अध्यक्ष दुई र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५÷२५ जना छनोट भएका छन् ।
क्षेत्र नं. १ बाट क्षेत्रीय सभापति झमनबहादुर राजमगर र क्षेत्र नं.२ बाट मुक्तिराम जीसी सभापति निर्वाचित भए । राजमगरको प्रतिस्पर्धी विष्णु बोमरेल थिए भने जीसीको प्रतिस्पर्धी यादवसिंह कार्की थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ज्ञानबहादुर गाहा, रमणबहादुर थापा, देवराज ढकाल, सन्तोषकुमार थापा, कृष्णप्रसाद अधिकारी, दानबहादुर पछाई, कल्प पौडेल, शालिकराम पाण्डेय, खगेश्वर पाठक, दानबहादुर पछाई निर्वाचित भए । खस आर्यमा विजया भट्टराई निर्विरोध भइन् भने खिमबहादुर क्षेत्री निर्वाचित भए ।
खुला महिलातर्फ गंगा पंगेनी, दुर्गादेवी भण्डारी, पवित्रा ढकाल पौडेल, विष्णुमाया ढकाल निर्वाचित भए । जनजाति महिलातर्फ नरिसरा गाहा, मुना थापा, सीमादेवी थापा निर्विरोध निर्वाचित भए । जनजाति खुलातर्फ सन्दीप राना, विष्णुकुमार थापा, पूर्णबहादुर सोती र दिलबहादुर ढेंगा निर्वाचित भए । दलितबाट अर्जुन विक निर्वाचित भए भने समावेशी समूहमा हजुलदिन मियां निर्विरोध भए ।
क्षेत्र नं.२ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ वीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, कृष्णप्रसाद बस्याल, यमलाल तिमिल्सेना, मेजरसिंह केसी, विद्यानप्रसाद श्रेष्ठ, झपेन्द्र गैरे, शंकर रायमाझी, महेन्द्रप्रसाद पाण्डेय, रामेश्वर पन्थी निर्वाचित भए । महिलातर्फ धनकला गाहा, सुनिता अधिकारी, शान्ता बोहोरा, लालकुमारी राना निर्वाचित भए ।
खस आर्यतर्फ राम कार्की र शिवचन्द्र खनाल, जनजाति खुलातर्फ कृष्णबहादुर राना, नलबहादुर राना मगर र राजेन्द्र गोपाल सिंह निर्वाचित भए । दलिततर्फ लक्ष्मण हिताङ र अल्पसंख्यममा जमिला मियां निर्वाचित भए । खस आर्य महिलामा कान्ता अधिकारी र बसन्ती घिमिरे, जनजाति महिलातर्फ शान्ति झेडी र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् । उता गुल्मीमा पनि नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले प्रतिस्पर्धी मुक्ति कंडेललाई ३ सय ६२ मतले पराजित गरेका हुन् । निर्वाचनमा कुल खसेको ९ सय ३२ मतमा ढकालले ६ सय २७ मत प्राप्त गर्दा कंडेलले जम्मा २ सय ६५ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उक्त निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सचिवमा माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी निर्वाचित भएका छन् । त्यस्तै सह–सचिव पदमा मधुसुदन ज्ञवाली र डिल्लीराज पाण्डे चयन भएका छन् ।
यस्तै जिल्लाको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति र सह–सचिव सर्वसम्मतिमा चयन भएका छन् । सभापतिमा चन्द्रबहादुर महत चयन भएका हुन् । प्रतिद्वन्द्वीमा शिव केसीको उम्मेद्वारी परे पनि सर्वसम्मतिबाट महत चयन भएका हुन् । त्यस्तै क्षेत्रीय सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भने सह–सचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
यता नवलपरासी पश्चिमका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा मुकुल आचार्य निर्वाचित भएका छन् । सभापतिमा देउवा पक्षधर कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल गुटले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि अशोकजंग राणालाई अगाडि सारेको छ भने संविधान सभा सदस्यद्धय विक्रम खनाल र देवकरण कलवार सन्तु पक्षले मुकुल आचार्यलाई उम्मेद्वार बनाएको थियो । क्षेत्र नं. २ मा मतगणना जारी रहेको छ । यो क्षेत्रमा देउवा पक्षबाट माधव पाण्डे र देउवाईतर पक्षले वर्तमान क्षेत्रीय सभापति नरेन्द्र गुप्तालाई पुनः सभापतिको लागि उम्मेद्वार बनाएको छ । गुप्ता रामग्राम नगरपालिकाका मेयर समेत हुन् । नवलपरासी पश्चिममा मंसिर ३ गते भएको प्रदेशसभा क्षेत्रको मतपरिणामअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भने दुवै गुटले १÷१ वटा क्षेत्र जित्न सकिने सम्भावना देखिएको छ ।
त्यस्तै अर्घाखाँचीको क्षेत्रीय निर्वाचन मंगलबार सकिएको भए पनि मतगणना सकिएको छैन । जिल्लामा क्षेत्रीय सभापतिका लागि तीन जना आकांक्षी रहेका छन् । केशव श्रेष्ठ, यादव घिमिरे र इन्द्रमणी पौडेलले सभापति पदमा उम्मेद्वारी दिएका छन् । मतगणना बुधबार सकिने बताइएको छ ।
कपिलवस्तुमा मतदान स्थगित
विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।
जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेद्वारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवेशन स्थगित गरिएको स्पष्ट पारे ।
क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेद्वारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।