कोरोना भाइरस संक्रमणको जोेखिम यथावत् छ । पछिल्लो समय संक्रमण दरमा कमी आए पनि जोखिम हटेको छैन । दैनिक संक्रमित फेला पर्ने गरेका छन् र मृत्यु दर पनि शून्य भएको छैन । बजारको अवस्था हेर्दा कोरोना भाइरस छैन जस्तै छ । सर्वसाधारण अधिकांशले मास्क लगाउन छाडेका छन् । सामाजिक दुरीको त कुरै छाडौ । यस्तो अवस्थामा संक्रमण दर फेरि उकालो लाग्न सक्छ । जनस्वास्थ्यका मापदण्ड पालनामा हुने हेलचेक्र्याई महँगो पर्न सक्छ ।
हुन त सरकारले आगामी चैत मसान्तसम्म सबै लक्षित समूहलाई खोप लगाइसक्ने तयारी गरेको छ । दुई तिहाई लक्षित जनसंख्यालाई पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य छ । अहिलेसम्म खोप नलगाएका र लगाउन छुटेकालाई सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोबास गर्ने स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ । खोप लगाउन कोही पनि नछुटुन भन्ने मनसाय सरकारको रहेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कूल जनसंख्याको ६९.९ प्रतिशत जनसंख्या अझै खोपको पहुँच बाहिर रहेको छ । हालसम्म देशभर कूल जनसंख्याको २६.२ प्रतिशतले खोपको पूर्ण मात्रा र ३०.१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । सोमबारसम्म देशभर एक करोड ७० लाख ९७ हजार आठ सय ६६ डोज खोप प्रयोगमा आइसकेको छ । हाल १२ वर्षमाथिका बालबालिकामा समेत फाइजर खोप प्रयोगमा आइरहेको छ ।
यसरी हेर्दा खोप लगाउनेको संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको सुरुवाती चरणमा मानसिक तनावमा रहेका नागरिकले खोप लगाउन थालेपछि भने ठूलो राहत महसुस गरेका छन् । तर खोप लगाइसकेका भन्दा नलगाउनेको संख्या ठूलो रहेकाले कोरोनाको जोखिमलाई कम आक्न हुँदैन । त्यसैले खोप लगाउन छुटेकाहरुले खोप लगाउन जाने र नलगाएकाहरुले पनि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउनु पर्दछ । कोरोना भाइरस केही होइन भन्ने मानसिकता सर्वसाधारणमा देखिन्छ । यो राम्रो पक्ष होइन ।
कोरोनाविरुद्धको खोप यतिबेला महामारी नियन्त्रणको महत्वपूर्ण साधन बनेको छ । खोप जसले लगाउँछ उसलाई गम्भीर प्रकृतिको बिरामी हुन दिन्न र त्यो व्यक्तिबाट सर्नबाट अरुलाई पनि जोगाउँछ । खोप लिएपछि केही व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्ने भए पनि गम्भीर अवस्थामा पु¥याउँदैन । त्यसैले खोप लिएपछि पनि भीडभाडमा सकभर नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र बेला–बेलामा साबुन पानीले हात धुने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिनै पर्दछ ।
खोप स्थायी सुरक्षाको साधन होइन । मुख्य कुरा भनेको स्वास्थ्य मापदण्डको पालना नै हो । आनीबानीमा सुधार गर्न सकियो भने कोरोना संक्रमित हुनबाट जोगिन्छ । लापरबाही गरियो भने संक्रमित हुन सकिन्छ । आफ्ना कारणले घरपरिवार संक्रमित नहोउन भन्ने कुरामा प्रत्येक व्यक्तिले ख्याल गर्ने हो भने कोरोनाबाट बच्न गाह्रो छैन ।