बुटवल मिलनचोकका टिकाराम अर्याललाई अपहरण गर्ने अमर टण्डन पक्राउ परेर पनि प्रहरीको कमजोरीले छुटेका छन् । अपहरण गर्ने अमर टण्डनलाई उन्मुक्ति दिने प्रहरी अधिकारीहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले प्रक्रिया अघि बढाएको छ ।
लुम्बिनी संवाददाता
बुटवल
शरीर बन्धक तथा अपहरण मुद्दाका अभियुक्त अमर टण्डन छुटेपछि प्रहरी अनुसन्धान र अभियोजन प्रक्रियामा गम्भीर प्रश्न उठेको छ ।
चौध वर्षअघि बुटवलका ६२ वर्षीय टिकाराम अर्याललाई टण्डन समूहले बुटवल मिलनचोकबाट अपहरण गरेको थियो । फिरौती बुझाएर अर्याल नौ दिनपछि अपहरणकारीबाट छुटेका थिए । छुट्टै मुद्दामा जेल सजाय भोगेका र छुट्ने बेला बुटवल प्रहरीलाई जेल प्रशासनले जानकारी गराएपछि पहिलेको फाइल खोलेर प्रक्रिया अघि बढाउँदा अपहरण मुद्दा अदालती प्रक्रियामा नपुगी ढिसमिस भएको पाइएको हो । शरीर बन्धक र अपहरण जस्तो संवेदनशील मुद्दालाई अदालती प्रक्रियामा अघि नबढाएर अभियुक्तलाई कानुनी कारबाहीबाट मुक्त गर्ने बाटो खोलिएको पाइएपछि प्रहरी नेतृत्व कानूनी कारबाहीबाट मुक्तिका लागि बाटो खोल्ने प्रहरी अधिकारीहरुलाई कारबाहीको प्रक्रियामा अघि बढेको छ ।
बुटवलबाट अपहरित भएकाले अर्यालले इलाका प्रहरी कार्यालय, बुटवलमा चैतमा जाहेरी दिएका थिए । तर टण्डनसहितका व्यक्ति भने जाहेरी दर्ता हुनुभन्दा पहिले नै पक्राउ परिसकेका थिए । २०६४ पुसमा काठमाडौंका पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकाको अपहरण गरेको आरोपमा प्रहरीले उनीसहित रामकुमार प्याकुरेल, विष्णु जिसी र उदय सेठीलाई पक्राउ गरेको थियो ।
मुरारका अपहरणको मुद्दामा दोषी ठहर भएका टण्डन २०७७ चैत १२ गते छुटेका थिए । प्रहरीले हद म्यादभित्र सरकारी वकिल कार्यालयमा मुद्दा नबुझाउँदा टण्डन छुट्न सफल भएको ढकाल नेतृत्वको छानवीन टोलीको निष्कर्ष रहेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लुम्बिनीलाई बताए ।
इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको र मुद्दा अदालती प्रक्रियामा लैजाने काम यही कार्यालयले हो । तर त्यस यताका कार्यालय प्रमुखले यो विषयलाई बेवास्ता गरे । टण्डन भने अर्को छुट्टै यस्तै घटनामा पक्राउ परे । र, जेल पुगे । २०६४ यता इलाका प्रहरी कार्यालयको नेतृत्व लिएका प्रहरी अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।
‘ती प्रहरी अधिकारीमध्ये कतिपय सेवा निवृत्त भइसकेका छन्, उनीहरुको हकमा कारबाही प्रक्रिया अघि बढाउन सकिदैंन्, वहाल प्रहरी अधिकृतलाई कसुरअनुसार कारबाही गर्न प्रहरी प्रधान कार्यालयको कानून शाखाले काम गरिरहेको छ ।’– नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने । २०६४ यता इलाका प्रहरी कार्यालय, बुटवलको नेतृत्व १५ जनाले गरेका छन्, तीमध्ये पाँच सेवा निवृत्त भइसकेका छन् ।
टण्डन छुटेपछि प्रहरी प्रधान कार्यालयले अर्याल अपहरणको मुद्दा अघि बढ्न नसक्नुको कारण र दोषी पहिचान गर्न एसएसपी भीमप्रसाद ढकालको नेतृत्वमा पाँच सदस्यीय छानवीन समिति बनाएको थियो । यो छानवीन समितिले प्रतिवेदन बुझाइसकेको छ ।
‘यही प्रतिवेदनलाई कार्यान्वयन गर्न कानून शाखाले काम अघि बढाइरहेको छ ।’– प्रवक्ता कुँवरले भने ।
पशुपति पेन्ट्सका सञ्चालक मुरारका अपहरणको मुद्दामा दोषी ठहर भएका टण्डन २०७७ चैत १२ गते छुटेका थिए । मुरारका अपहरण मुद्दा किनारा लागेर थुनामुक्त हुने भएपछि केन्द्रीय कारागारबाट टण्डनलाई बुटवल ल्याइएको थियो । इलाका प्रहरी कार्यालयले जेलमा रहेका टण्डनको छुट्टै मुद्दा रहेको जानकारी पठाएको रेकर्ड केन्द्रीय कारागारमा रहेकाले कारागार प्रशासनले यहाँ पठाएको हो । १४ वर्ष पहिलेको मुद्दामा पुनः अनुसन्धान गर्दै प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो तर म्याद गुज्रिएको भन्दै टण्डनविरुद्धको मुद्दा दर्ता हुन सकेन् । यो जानकारी जिल्ला सरकारी वकिल कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई गराएपछि महान्यायाधीवक्ता कार्यालयले लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो ।
एसएसपी ढकाल नेतृत्वको छानवीन समितिले अपहरणको उजुरी दर्ता हुँदादेखि हालसम्म अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान गर्ने १५ प्रहरी अधिकारीमाथि प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।
प्रहरी नियमावलीअनुसार अनुसन्धानमा कमजोरी तथा प्रहरी आचरणविपरीत काम गर्ने अधिकारीलाई सामान्य सचेत गराउनेदेखि जागीरबाट बर्खास्त गर्न सक्ने उल्लेख गरिएको छ । टण्डनविरुद्ध रुपन्देहीमा २०६४ सालमा परेको अपहरण मुद्दामा इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी रहेका पूर्व आइजीपी ठाकुरप्रसाद ज्ञवालीसहित २१ जना प्रहरी अधिकृतको अनुसन्धान लापरबाहीपूर्ण भएको छानवीन समितिले देखाएको छ ।
पूर्व एआइजी बमबहादुर भण्डारीले प्रहरी संगठनमा यस्ता कमजोरी दोहोरिन नदिन दोषी प्रहरी अधिकारी कारबाहीको दायरामा आउनुपर्ने बताए । ‘यस्ता घटनालाई सामान्य रुपमा लिनु हुँदैन्, कमजोरी कहाँ कसले ग¥यो, अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’–उनले भने ।
प्रहरी अधिकारीहरुका अनुसार अनुसन्धानले अर्यालको अपहरणमा मुख्य योजनाकार टण्डनसहित रामकुमार प्याकुरेल, विष्णु जिसी, प्रह्लाद महत, उदय सेठ्ठी, कमल सिंह, अली भन्ने भारतीय नागरिकसमेत ९ जना संलग्न भएको र अपहरण गरी बन्धक बनाएको खुलाएको थियो ।
बुटवलमा २०६४ चैत ४ मा जाहेरी दर्ता हुँदा अपहरणकारीहरूमध्ये मुख्य अभियुक्त टण्डन, रामकुमार प्याकुरेल, विष्णु जिसी, उदय सेठ्ठी पक्राउ परिसकेका थिए ।
मुरारका अपहरण प्रकरणमा टण्डनसहित पक्राउपछि जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षको लागि सुन्धारा कारागार चलान ग¥यो । मुरारका अपहरण घटनाको अनुसन्धान अघि बढ्यो तर अर्याल अपहरणको अनुसन्धान अघि बढेन् । टण्डन पक्राउ परेपछि प्रहरी अधिकारीहरु मख्ख परे । त्यसबेला कारागारमा रहेका अभियुक्तलाई प्रहरीले अर्याल अपहरण अभियोगमा झिकाएर बयान गरी सरकारी वकिल कार्यालयमार्फत कानूनले तोकेको हद म्यादभित्रै अदालतमा पेश गर्नुपर्दथ्यो । प्रहरी अनुसन्धानको यो प्रक्रियालाई प्रहरीले बेवास्ता गर्दा अर्यालले न्याय पाउनबाट बञ्चित भए नै, प्रहरी अनुसन्धानमै प्रश्न उठेको छ ।
तत्कालीन मुलुकी ऐन, २०२० को अपहरण तथा शरीर बन्धक लिने महलको १३ अनुसार अपहरण गरिएको वा शरीर बन्धक बनाएको मितिले ६ महिना वा शरीर बन्धक छुटेको मितिले तीन महिनाभित्र अनुसन्धान गरेर मुद्दा अदालत पेश गर्नुपर्ने कानुनी व्यवस्था थियो । यो अवधिमा मुद्दा अदालत पेश गर्न नसके उजुरी स्वतः बदर भई पीडितले न्याय पाउने अवस्था समाप्त हुन्छ ।
टिकारामका भाइ हिरामणि अर्यालले अभियुक्तलाई उन्मुक्ति दिनु प्रहरीको लापरबाही भएको बताए । ‘दाइको निधन भइसकेको छ, अभियुक्तको उन्मुक्तिले हामीलाई पिरोलिरहेको छ,’ उनले भने–‘यस्तो जघन्य अपराधका अभियुक्त उम्कदा समाजमा अपराध बढ्ने भएकाले दोषी प्रहरीलाई कारबाही हनुपर्छ ।’

को हुन् अमर टण्डन ?
गुल्मी पुख्र्यौली घर भएका अमर टण्डन सियारी–६ अमुवाका स्थायी बासिन्दा हुन् ।
प्रहरीमा रहेको विवरण अनुसार, टण्डन २०६० सालदेखि २०६४ सम्म पाँच वर्षको अवधिमा डेढ दर्जन अपहरणको घटनामा संलग्न भएको पाइएको छ । त्यो बेला टण्डन समूहको त्रासले कतिपयले अपहरणपछि रकम बुझाएर पनि प्रहरीमा उजुरी दिएनन्, घटनालाई गुपचुप राखे ।
प्रहरीकसंग भएको तथ्याङ अनुसार, भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावलदेखि पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारका, निरज कक्षपति, व्यवसायीहरू पवन अग्रवाल, दिलिप अग्रवालसहित १९ व्यवसायी टण्डन समूहले निशानामा थिए ।
टण्डन समूहले अपहरण गरेर फिरौती रकम असुल्दासम्म अपहरणमा परेका व्यक्ति राख्नका लागि काठमाडौंदेखि रुपन्देहीको छपियासम्म घर नै भाडामा लिएका थिए । २ पुस २०६४ मा महेश मुरारकाको अपहरण मुद्दामा टण्डन फागुनमा पक्राउ परेका थिए । प्रहरीले त्यो बेला टण्डनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेर खोजी गरेको थियो ।
फागुनमा उनी भारतबाट पक्राउ परे । टण्डन पक्राउ परेपछि पनि उनका सहयोगी उदय सेट्टी बिष्णु जीसी, प्रह्लाद महतहरूले अपहरणको धन्दालाई निरन्तर अघि बढाए । २०६६ मा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अर्जुन भन्ने उदय सेट्ठी, प्रह्लाद महत, बिष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जना पक्राउ गरेपछि यो समूहको संगठित अपराध ध्वस्त भएको थियो ।

को हुन् टिकाराम ?
गुल्मी आँपचौरका टिकाराम अर्याल दुर्गाभवन मावि आँपचौरका प्रधानाध्यापक थिए । लामो शिक्षण जीवनपछि २०५९ सालमा रिटायर्ड भएका थिए । उनी मनकारी थिए । उनले २०६४ मंसिरमा गुल्मी मजुवामा क्याम्पस स्थापना गर्न भएको महायज्ञमा ५१ लाख रुपैयाँ सहयोग गरेका थिए । उनकै नामबाट मजुवाको क्याम्पसको नाम टिकाराम मानका क्याम्पस नामाकरण गरिएको छ । शिक्षण संस्था स्थापना गर्न सहयोग गरेपछि उनी अपराधीहरुको निगरानीमा परे । क्याम्पस बनाउन दिएको सहयोग नै उनका लागि घातक भयो, उनी अपहरणमा परे । अपहरणमुक्त भएको केही महिनापछि रोजगारीको शिलशिलामा क्यानडामा रहेका छोरालाई भेट्न गए । २०६६ मा उनको उतै निधन भएको थियो ।