प्रेम सुनार
गुल्मी
शिक्षकहरु महाधिवेशनमा हिंडेपछि गुल्मीका सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । सरकारी सेवामा रहेका शिक्षकहरु राजनीतिक दलकै सक्रिय राजनीतिमा लाग्दा समस्या उत्पन्न भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि चयनका लागि शिक्षकहरु खटिएका हुन भने कतिपय शिक्षकहरु उम्मेद्वार नै बनेका छन् । गुल्मीको रेसुंगा माविका प्राध्यानाध्यापक प्रेमनारायण भण्डारी महाधिवेशन केन्द्रीय प्रतिनिधिको उम्मेद्वार छन् । उनी विद्यालयभन्दा प्रतिनिधिको चुनावी मैदानमा होमिएका हुन् । प्राध्यानाध्यापक नै विद्यालय छाडेर हिंडेपछि शिक्षकहरु उनीहरुकै चुनावी प्रचारमा खटिएका छन् ।
सोमबार गुल्मी जिल्ला कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रिय अधिवेशन तम्घासको बालमन्दिर हलमा चलिरहँदा कैयौं सामुदायिक विद्यायलका शिक्षकहरु खटिएका थिए ।
मदाने गाउँपालिका वडा नम्बर –७ भनभनेस्थित श्री टिमुरखर्क अधारभूत विद्यालयका प्रधानध्यापक वीरेन्द्र केसी नेपाली कांग्रेस त्यस वडाको अधिवेशन चलेदेखि अहिलेसम्म विद्यालयमा नदेखिएको अभिभावकले गुनासो गरेका छन् । उनी त्यस वडामा कांग्रेस सभापति निर्वाचित भइसकेका छन् । सभापति बनेयता उनी विद्यालयमा पुगेका छैनन् ।
क्षेत्रिय अधिवेशनमा उनीमात्रै होइन, उनका विद्यालयका आधाभन्दा धेरै शिक्षक कांग्रेसको अधिवेशनमा हिंडेका छन् । सोमबार त्यस विद्यालयमा चार जना मात्र शिक्षक थिए । अरु पाँच जना शिक्षकहरुलाई बोकेर कांग्रेस वडा सभापति रहेका प्रधानध्यापक केसी क्षेत्रिय अधिवेशनका लागि तम्घास आएको स्थानीय अभिभावकले बताए ।
एक अभिभावकका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्यस वडाका वडाअध्यक्ष काँशीबहादुर बोहरा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएकोले शिक्षकहरु उनकै दबाबमा अधिवेशनमा खटिंदै आएका छन् ।
‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ आदर्श वाक्य मुखमा झुण्डाउने टिमुरखर्क आधारभूत विद्यालयका प्रायः सबै शिक्षकलाई विद्यार्थी पढाउनेभन्दा पनि राजनीति गर्ने थलो बनेको छ । वडाध्यक्ष बोहराकै घरै अगाडिको विद्यालयमा केही दिन यता विद्यार्थीहरु अलपत्र परेका छन् ।
‘यतिका दिनदेखि शिक्षकहरु कांग्रेसको राजनीतिमा दौडिंदा विद्यार्थीहरुको भविश्यमाथि खेलबाड भएको देखेर पनि त्यस गाउँपालिकाको शिक्षा शाखा र प्रमुख, उप–प्रमुखले के हेरेर बसेका छन् ?,’ एक जना अभिभावकले प्रश्न गर्दै भने –‘हाजिरी रजिष्टरमा हेर्नु होला दिनुहँ कांग्रेस अधिवेशनको प्रचार प्रसारमा त्यहाँका शिक्षकहरु ब्यस्त हाजिर भने गराएका हुन सक्छन् ।’ उनका अनुसार त्यस विद्यालयले खर्च आम्दानी सार्वजानिक नगरेको पनि धेरै वर्ष भइसकेको छ ।
मुसिकोट वडा नम्बर २ स्थित गन्धा आधारभूत विद्यालयका प्राध्यानाध्यापक कौरव खत्री वडा अधिवेशन सुरु भएपछि विद्यालय पुगेका छैनन् । उनी अहिले महाधिवेशन प्रतिनिधिको दौडमा छन् ।
मुसिकोट वडा नम्बर ८ को शारदा माविका शिक्षक भीमसेन केसी वडा सचिवका उम्मेद्वार भएदेखि चुनावी अभियानमा छन् । कांग्रेसको महाधिवेशन सुरु भएयता गुल्मीका अधिकांश कांग्रेसमा आस्था राख्ने शिक्षकहरु अधिवेशन प्रचारमा हिंडेका हुन् । उनीहरुले विद्यालयमा नपढाई नै तलब बुझेका छन् ।
कांग्रेस निकट शिक्षक मात्रै होइन, चुनावी दौडमा एमाले, माओवादी केन्द्रका शिक्षकहरु समेत छन् । मुसिकोट वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्राध्यानाध्यापक सुरेन्द्र नेपालीको सदरमुकाममा अड्डा छ । उनी माओवादी केन्द्रको राजनीतिमा सक्रिय छन् । अधिवेशनको माहोल सुरु भएपछि नगरको नेतृत्व हत्याउन उनी नेताहरुको घरदैलोमा कुदिरहेको अर्का एक शिक्षकले जानकारी दिए ।
शिक्षकहरु अधिवेशनमा हिंडेको र उम्मेद्वार नै भएको एउटा उदाहरण मात्रै छैन । कैयौ शिक्षक प्रत्यक्ष राजनीतिमा जोडिदा नियमनकारी निकाय भने मौन देखिएका छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले माध्यमिक विद्यालयसम्मको नियमन जिम्मा स्थानीय सरकारको भएकाले प्रशासनले विकृतिविरुद्ध केही गर्न नसक्ने बताए ।
गुल्मीका बरिष्ठ जनप्रतिनिधि डिल्लिराज भुसाल भन्छन् ‘म यस कुरामा हैरान छु । अरु पार्टीका शिक्षकहरुलाई मात्र तनाव दिन मैले मिल्दैन, मेरै पार्टीका शिक्षकहरुलाई कर्तव्य अनुसार काम गर्नु आग्रह गर्दा पनि कार्यान्वयन हुन सकेको छैन ।’

प्राध्यापक, शिक्षकविरुद्ध अदालतमा मुद्दा
रुपन्देहीमा सरकारी कर्मचारी निर्वाचनमा खटिएको भन्दै उच्च अदालत बुटवल इजलासमा उजुरी परेको छ । बुटवलका स्थानीय फखरुद्धिन मियाले रुपन्देहीका प्राध्यापक तथा शिक्षकहरुलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।
प्राध्यापक, शिक्षक हुँदा हुँदै कांग्रेसको महाधिवेशनमा निर्वाचन समितिमा बसेर काम गरेको, उम्मेद्वार बनी ऐन नियम मिचेको भन्दै उनले मुद्दा दायर गरेका थिए ।
प्राध्यापक डा. बुद्धबहादुर थापा, शान्ति नमूना माध्यमिक विद्यालयका प्राध्यानाध्यापक कुलप्रसाद लामिछाने, प्राध्यापक गोपाल पाण्डेलगायतलाई विपक्षी बनाई मुद्दा दायर भएको हो । मियाले करिव एक साताअघि दायर गरेको मुद्दा विपक्षीको दबाबमा फिर्ता लिएका छन् ।